मकवानपुर । साहित्य संगम मकवानपुरले ३४६ औं नियमित साहित्य सन्ध्या तुल्सी थापा विशेष गरेकाे छ । नेपाल मै पहिलाे पटक दाना कविताकाे सुरुवात गर्नुहुने थापाकाे वार्षीकीमा संगमले विशेष कार्यक्रम गरेकाे हाे ।
शनिबार सङ्गमको ३४६औँ नियमित साहित्य सन्ध्या एवम् तुल्सी थापा स्मृति विशेष, सम्मान तथा रचना वाचन कार्यक्रममा थापाको व्यक्तित्व र साहित्यिक तथा शैक्षिक योगदानकाे सम्झना गरिएको छ । अग्रज साहित्यकार तुलसी घिमिरेले थापा सरलाई सम्झनेक्रममा जीवितै हुँदा सुनाइएको कविता “मीतज्यू” सुनाउँदै भने- ‘दुवैले एकअर्कालाई मीतज्यू भन्ने गरेका थियौं । एकअर्काप्रति प्रेमभाव थियो, आआफ्ना लेखनका बारेमा चर्चा गर्ने गरेका थियौ ।’
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले तुल्सी थापाको व्यक्तित्व, शिक्षा क्षेत्र र चेपाङ समुदायमा पुर्याउनु भएको योगदानसँगै साहित्यिक जीवनको बारेमा जानकारी दिए । नाटक, कथा, कविता र अनुवादको क्षेत्रमा थापाकाे योगदानकाे चर्चा गर्दै उनले भने ‘तुल्सी थापाले दाना कवितालाई साहित्याकाशमा नयाँ विधाको रुपमा स्थापित गरेका हुन् ।’ थापाले अनुवादको क्षेत्रमा पुर्याएकाे योगदानको कमै चर्चा हुने गरेको उनले बताए । थोरै तर गुणात्मक र मौलिक लेखनबाट तुल्सी सर चिनिनु भएकाे उनले जानकारी दिए । ‘तुल्सी थापाका दाना कवितालाई विकास र विस्तार गर्न सके उहाँप्रति सच्चा सम्मान हुनेछ’ उनले भने ।
‘थापा मकवानपुरमा मात्र नभएर अन्य क्षेत्रमा पनि सम्मानपूर्वक लिइने साहित्यकार हुन्’ उनले भने ‘अमरसिंहको खोजीमा अमरसिंह’ नाटक उज्ज्वल शर्मा भण्डारीको निर्देशनमा मञ्चन भइ उत्कृष्टताको रूपमा चर्चा भएकाे छ । चेपाङ भाषाको पहिलो पत्रिका ‘चिन्होजान्हो’ प्रकाशनमा समेत उनकाे योगदान रहेकाे छ । जातजातिमध्ये पनि विशेषतः चेपाङलाई मूलधारमा ल्याउने नेतृत्वकर्ताकाे रुपमा समेत थापालाई लिइन्छ । मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षाकाे विकासमा थापा बिर्सन नहुने नाम हाे ।
कार्यक्रममा तुल्सी थापाकी बहिनी बेली थापाको पनि उपस्थिति रहेको थियो । थापाले शालिन र शान्त स्वभावका दाजुको योगदान तथा सम्झनामा कविता समेत वाचन गरिन् । ‘दिल लगाएर लगनशील भएर साहित्यिक क्षेत्रमा लागिपरेका सबै साहित्यिक योद्धाहरूका साथै सामाजिक यात्रा, साहित्यिक यात्रा र शैक्षिक यात्राको विषयमा मकवानपुरे साहित्य समाजले नै थापालाई सम्झिरहेको अवस्थामा हाम्रै वरिपरी रहिरहेको आभास हुन्छ’ उनले भनिन् ।

श्यामकुमार बानियाँ, र आरसी रिजालले तुल्सी थापाको स्मृति दिवस र उनका बारेमा आआफ्ना अनुभव सुनाए । बानियाँले आफ्ना गुरूका रूपमा सम्झिरहने थापा सरसँगका बाल्यकालदेखिका सम्बन्धलाई सम्झिएकाे कार्यक्रममा आरसी रिजालले थापा सरका कारण मकवानपुरले देशमैं इज्जत कमाएको बताए । उनले भने ‘दाना कवितालाई अभियानका क्रममा हामीले लेखन, वाचन र विमर्श सुरू गर्नुपर्दछ ।’
रचना वाचनमा आँचल साहित्य कला पुञ्जकी सचिव सविता तिमल्सिनाले नेपालमै पहिलो पटक थापा सरद्वारा सुरू गरिएको दाना कविता लेखनबाट प्रेरित भएर दाना कविता सुनाइन् । अहिलेका पुस्ताका आरूशी काफ्ले, आश्रीका न्यौपाने, आश्रीका कार्की रचना वाचन गरेका थिए । सुबास सजलले थापाकै दाना कविता सुनाएकाे कार्यक्रममा किशन पौडेलले हाइकु वाचन गरे ।
कार्यक्रममा राजुराम राउत, माधव पोखरेल, यश लामा, मसान उपासक, देवराज तिवारी, सुवास खनाल लगायतले थापा सरका व्यक्तित्व र व्यक्तिगत अनुभवका साथसाथै आआफ्ना रचनाहरू वाचन गरे ।
नियमित सन्ध्याकै अवसरमा संगमले स्थापना गरेको अक्षयकोषमा पाँच हजार रुपैयाँ भन्दा बढी रकम सहयोग गर्ने २८ जनालाई सम्मान गरिएको थियो । संगमले स्थापना गरेको अक्षयकोषमा हालसम्म ६ लाख ५० हजार रुपैयाँ संकलन भएको अध्यक्ष बर्तौलाले जानकारी दिए । नियमित सन्ध्यामा रचना वाचन गर्नेहरुले तुल्सी थापाप्रति नै समर्पण गरेका थिए ।
८ भाद्र २०८० तुल्सी थापाकाे निधन भएकाे थियाे । थापाका दाना कविता सङ्ग्रह ‘एक निमेष अनन्तको’,नाटक ‘अमर सिंहको खोजीमा अमर सिंह’ र कथासंग्रह ‘फरक आकाश’लगायत साहित्यिक सिर्जना प्रकाशित छन्।गोरखा दक्षिण बाहु चौथो, नारायणी वाङ्मय पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेका थापा भीम विराग सङ्गीत, साहित्य,कला प्रतिष्ठानका पूर्वअध्यक्षसमेत हुन् ।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता र सल्लाहकार तुलसी घिमिरेको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गरेका थिए ।

