मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाकाे वडा नम्बर १० स्थित बसपार्कमा रहेको एक होटलमा एक युवती मृत फेला परेकी छिन्। मृत अवस्थामा फेला पर्नेमा हेटौँडा १ की २३/२४ वर्षीय एलिसा न्यौपाने रहेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
उक्त महिला एक पुरुषसँग आइतबार हेटौडा १० स्थित रत्न होटलमा बसेका थिए । बिहान अबेरसम्म काेठा नखुलेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली र हाेटल संचालन,जनप्रतिनिधिले ढाेका खाेलेर हेर्दा युवती मृत पाइएकाे थियाे ।
युवती ओछ्यानमा मृत अवस्थामा रहेकाे पाइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
कोठा भित्रबाट लक गरिएको अवस्थामा रहेको पाइएकाेले सँगै आएका युवकले न्यौपानेको हत्या गरेर झ्यालबाट बाहिर निक्सिएकाे प्रहरीले आशंका गरेकाे छ । ‘युवतीसंगै हाेटल गएका पुरुष आइतबार रातिनै निस्किएको देखिन्छ’ भण्डारीले भने ‘उनको खोजी कार्य भइरहेकाे छ।’
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ भने मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

