मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारले संविधानको व्यवस्था अनुसार सबै नागरिकको भाषा सम्बन्धी अधिकारलाई सुनिश्चित गरेको छ बताएका छन् ।
भाषा आयोगले हेटौंडामा आयोजना गरेको सरकारी कामकाजमा मातृभाषाः वार्षिक शिक्षाको नमूना विकास सम्बन्धी सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् । संघीयताको आलोचना भइरहेको समयमा नागरिकको अपनत्व हुनेगरी प्रदेश सरकारले सरकारी कामकाजी भाषा सम्बन्धी ऐन जारी गरेको उनले बताए ।
‘प्रदेशमा बोलिने भाषा तथा संस्कृतिको संरक्षणमा सरकार गम्भीर रहेको छ । प्रदेशमा बोलिने सबै भाषाहरूलाई सन्तुलित रूपमा विकास र सम्वर्द्धन गर्नुपर्छ’ उनले भने । ‘सरकारले संविधानको व्यवस्था अनुसार सबै नागरिकको भाषा सम्बन्धी अधिकारलाई सुनिश्चित गरेको छ’ उनले भने ‘प्रदेश सरकारले बहुसंख्यक नागरिकले बोल्ने तामाङ्ग र नेवार भाषालाई सरकारी कामकाजमा लागू गरेको छ ।’
प्रदेश सरकारले भाषा ऐन कार्यान्वयनका लागि पहिलो चरणमा प्रदेशसभामा २ वटा दरबन्दी सृजना गरी अनुवादक नियुक्त गर्ने र भाषा अनुवाद यन्त्र खरिद तथा एप्लीकेशन निर्माणको तयारीमा रहेको उनले बताए ।
कार्यक्रममा प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले प्रक्रियागत रूपमा प्रदेश सरकारले भाषा सम्बन्धी ऐनका व्यवस्थाहरूलाई कार्यान्वयनमा अघि बढ्ने उनको भनाई छ । संघीयताको सबल पक्षको रूपमा रहेको भाषा सम्बन्धी अधिकार आम नागरिकमा पुर्याउन प्रदेश सरकारले भूमिका खेल्ने उनले बताए ।
मकवानपुर । बागमती प्रदेशसभाको बैठक ६ असोज आइतबारकाे लागि आह्वान गरिएको छ । १६ साउनदेखि स्थगित भएको प्रदेशसभा बैठक डेढ महिनापछि बस्न लागेको हो ।
विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसँगै १६ साउनमा स्थगित गरिएकाे प्रदेशसभा बैठक ६ असोज आइतबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा संसदीय समितिहरूबाट पारित भएका विधेयकका प्रतिवेदनहरू प्रस्तुत हुने कार्यसूची रहकाे बताइएकाे छ । बैठकको कार्यसूची तय गर्न ५ असोज शनिबार कार्यसम्पादन समितिको बैठक समेत आह्वान गरिएको छ । शनिवार दिउँसो ३ बजे बस्ने बैठकले सभाकाे कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
गुप्ताका अनुसार ६ असोजमा बस्ने प्रदेशसभा बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट पारित भएको दुई वटा र उद्योग पर्यटन तथा वातावरण समितिबाट पारित भएको एउटा प्रतिवेदन संसदमा प्रस्तुत हुनेछन् । बागमती प्रदेश सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयकको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन रहेका छन् ।
समितिहरूबाट दफावार छलफल गरी संशोधनसहित पारित भएका विधेयकका प्रतिवेदनहरू प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको र तीनै विधेयकका प्रतिवेदनहरूमाथि सदनमा छलफल हुने सचिवालयले जनाएको छ ।
चितवन । चितवनकाे भरतपुरस्थित औद्योगिक प्रदर्शनीमा बडादशैँ स्वदेशी जुत्ता चप्पल व्यापार मेला मंगलवारदेखि सुरु भएको छ । असोज २४ गतेसम्म सञ्चालन हुने मेलाको बागमती प्रदेशको उद्योग वाणिज्य, भूमि व्यवस्था तथा प्रशासनमन्त्री सुकमाया तामाङले उद्घाटन गरिन् ।
मेलाको उद्घाटन गर्दै मन्त्री तामाङले नेपाल धेरै वस्तुको उत्पादनमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको बताइन् । ‘स्थानीय स्रोत साधन उपयोग हामी सबै लाग्नु पर्छ’ मन्त्री तामाङले भनिन् ‘मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिन जरुरी छ ।’
चितवन उद्योग संघले स्वदेशी उत्पादनलाई प्रवर्दन गर्ने उदेश्यले मेला २०८१ अन्तर्गत स्वदेशी जुत्ताचप्पल व्यापार मेला आयोजना गरेको हो । फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसनका अध्यक्ष रुद्र न्यौपानेले जुत्ता चप्पलको चोरी पैठारी रोकिने हो भने नेपाल १८ महिनामा आत्मनिर्भर बन्न सक्ने बताए । ‘सिंहदरबारभित्र पनि नेपाली जुत्ता चप्पलको प्रयोग गर्नु पर्छ’ उनले भने । उत्पादकले पनि इमानदारपूर्वक गुणस्तरमा ध्यान दिएर काम गर्नु पर्ने उनले बताए ।
चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले संघले बिगत २०४७ सालदेखि उद्यमशिलता विकास र राज्यलाई मजबुत बनाउने उद्धेश्यले विभिन्न कामहरु गर्दै आएको बताए। राज्यले लिएको औद्योगिक अभियानलाई संघले सँधै साथ दिइरहेको उनले जनाकारी दिए ।
मेला दैनिक बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने मेलाको सहआयोजक संस्था वेश ग्लोबल प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । मेलामा आठ कम्पनीका तीन हजार भन्दा बढी मोडलका जुत्ता, चप्पल एकै ठाँउमा पाउन सकिन्छ । मेलामा ४० वटा स्टल छन् । नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरु महिला, पुरुष, बच्चा सबैलाई समेटिनेगरी आकर्षक छुटमा खरिद गर्न सकिने उपाध्यायले बताए ।
मेलामा ३५ हजार जोर जुत्ताचप्पलको बिक्री हुने र दुई करोड रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेकाे छ । त्यस्तै मेलाको करिब एक लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको गरिएकाे छ । प्रत्येक दिन जुत्ताचप्पल खरिद गर्ने ग्राहकहरुलाई कुपनको व्यवस्था गरिनेछ । जुत्ताचप्पल खरिदमा १५ देखि ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । साथै असोज २१ गते लक्की ड्र मार्फत खोलिने कुपन मध्येबाट एक जनालाई २५ हजार रुपैयाँ बराबरको उपहार प्रदान गरिनेछ ।
मकवानपुर । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले दाना उद्योगको निरीक्षण गरेकी छिन् ।
मंगलबार चितवन भरतपुर महानगरपालिका-६ स्थित चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सन्चालन गरेको उधोगको मन्त्री तामाङले निरीक्षण गरेकी हुन् । उद्योग निरीक्षणको क्रममा मन्त्री तामाङले उद्योगलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । आफू सधैं उद्यमीको पक्षमा रहेर काम गर्ने बताउदै उनले भनिन् दाना उद्योगको लागि आवश्यक बजेट बिनियोजन गर्न पहल गर्छु ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दाना उद्योग सन्चालन गर्नका निमित्त दाना परीक्षण गर्न ल्याब र दाना राख्न गोदाम घरको आवश्यक रहेको बताउदै सहयोग गर्न आग्रह गरेका थिए ।
२०७८ सालमा करिब ५३ लाख लगानीमा संघले संचालन गरेको दाना उद्योगले दैनिक ८ टन दाना उत्पादन हुने गरेको बगालेले जानकारी दिए । उनका अनुसार संघले बार्षिक ७ करोडको कारोबार हुने गरेको छ ।
११४ वटा सहाकरी आबद्ध रहेको उक्त संघले जिल्लाका एक सय सहाकारीमा दाना उपलब्ध गराउने गरेको संघ ब्यबस्थापक जनार्दन पौडेलले जानकारी दिए ।
मकवानपुर । नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले सरकारले पूरा कार्यकाल काम गर्न सक्ने व्यवस्था बनाउनु पर्ने बताएकाे छन् ।आइतबार पार्टीले हेटौँडामा आयोजना गरेको अभिमुखीकरणमा महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
‘अहिले देशमा संविधान संशोधनको विषय आइरहेको छ’ शर्माले भने ‘विभिन्न पाटोबाट संविधान संशोधन गर्न सकिन्छ ।’ संविधान अझै आकर्षक, लोकप्रिय र मुलुकमा स्थिर सरकार दिन सक्ने गरी नयाँ कुरा राखेर मात्र संविधान संशोधन गनुपर्ने उनकाे भनाइ रहेकाे छ । उनले भने ‘संविधानमा कुनै पनि दल निर्वाचनमा गइसकेपछि दोस्रो, तेस्रो र बाँकी दलहरु सरकारमा नजाने र लोकप्रिय मतसहित बहुमत ल्याउने पहिलो दलले नै सरकारको नेतृत्व गर्न पाउने व्यवस्था स्पष्ट लेख्नुपर्छ ।’
समावेशी सहभागिताको जग काँग्रेसले नै बसालेकाे बताएका छन् । संविधान संशोधन गरेर समावेशी सहभागिता हटाइन्छ भन्ने माओवादी केन्द्रले आरोप लगाउँदै आएकाे भन्दै उनले उक्त विषयमा भ्रममा नपर्न आग्रह गरे । अग्रगामी काम हुने गरी मात्र संविधान संशोधन हुुने उनले बताए । देशमा दुई पटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने, तीन पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा उल्लेख गरी हालको व्यवस्थालाई परिमार्जन गर्नुपर्ने उनले बताए ।
महामन्त्री शर्माले निर्वाचन मार्फत चौथो दलकाे हैसियतमा प्रतिनिधित्व गर्ने दलहरु नैतिकताले समेत सरकारमा जान नहुने बताए । आफ्नो पार्टी सरकारमा हुँदा आफ्नो पालो भएपनि गगन थापा र आफू सरकारमा नगएको स्पष्ट पारे । पहिलो पटक जितेर आएको नयाँ दलले संसद छिर्ने बितिक्कै गृहमन्त्री नै चाहिन्छ भन्दै बार्गेनिङ गरेको आरोप रास्वपालाई लक्षित गर्दै लगाए । सभापतिलाई सहकारी ठगीको आरोप लाग्दा रास्वपाका पदाधिकारीहरुले आफ्नो सभापतिको छानबिन गर्न अवरोध गरेको र आफूले काँग्रेस उपसभापति धनराज गुरुङलाई आरोप लाग्दा गहिरो रुपमा छानबिन गर्नुपर्ने आवाज उठाएको समेत बताए ।
पार्टी सभापति शेरबहादुर देउवाले मुलुक र पार्टीका लागि अहिलेसम्म गरेका योगदानभन्दा फरक ढंगबाट त्याग गर्नुपर्ने उनले बताए । ‘हाम्रो सभापतिको नेतृत्वमा धेरै काम भएका छन्। उहाँले देश र पार्टीका लागी धेरै योगदान गर्नुभएको छ। अब उहाँले त्याग गर्ने वेला आएको छ’ उनले भने आगामी दिनमा आफू प्रधानमन्त्री नबनेर पार्टीका आफ्नै समकालीन कसैलाई प्रधानमन्त्री बनाउनु पर्छ ।’ उनले २०८४ पछि प्रधानमन्त्री बन्ने मानिस मुलुकले चिनिसकेको दावी गर्दै त्यसका लागी आफू त्याग गर्न तयार रहेको बताए ।
देशमा रुपान्तरणको आवश्यक रहेको भन्दै यसको जिम्मा काँग्रेसले लिनुपर्ने उनले बताए । सामाजिक विसंगति अन्त्य गर्न जनप्रतिनिधिले महत्वपूर्ण भूमिका हुने बताउँदै उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नागरिकको मन जित्ने गरी काम गर्न आग्रह गरे । मकवानपुर जिल्लामा स्थानीय तह निर्वाचन २०७९ को समीक्षाको लागि महामन्त्री शर्मा हेटौंडा आएका हुन् । कांग्रेसको स्थानीय तह केन्द्रीय समन्वय विभागले आफ्नो पहिलो कार्यक्रम बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडाबाट सुरु गरेको हो ।