मकवानपुर । अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भएपछि मतदानकाे लागि उमेर पुगेका जेनजीहरुले निर्वाचन कार्यालयमा आफ्नो विवरण दर्ता गराउने क्रम बढेको छ ।
बागमती प्रदेश निर्वाचन कार्यालयले गत १० गतेबाट मतदाता नामावलि संकलन कार्य सुरु गरिरिकेको थियो ।
कार्यालयले असोज २० गतेसम्म २२४ जनाको नामावली दर्ता भएको जनाएको छ ।
जसमा महिला ७७ जना र पुरुष १४७ जना रहेको छन् । २१ गते पनि ४५ जनाको दर्ता भएको बताइएको छ । जसमा ९५ प्रतिशत जेनजीहरु रहेका छन् ।
यसबीचमा अनलाइन फर्महरु भर्नेको संख्या ३०० भन्दा बढि रहेको बताइएको छ । अनलाइन फर्म भरेकाहरुको बायो मेट्रिक गर्न बाँकी रहेकोले अहिले उनीहरुको विवरण पेन्डिङमा रहेको कार्यालयले जनाएको छ ।
कार्तिक मसान्तसम्म जारी रहने मतदाता नामावली संकलन कार्यमा मतदाताले मतदाता दर्ता हुन अनलाइन फर्म भरि बायोमेट्रिक गर्न कार्यालय नै आउनु पर्ने हुन्छ ।
प्रमुख निर्वाचन अधिकारी हरि प्रसाद ढकालका अनुसार मतदाता नामावली भर्न आउने उमेर समुह पनि जेनजी उमेर समुहका नै धेरै रहेको बताउनु भयो । सामान्यत नयाँ मतदाताहरु जेनजी उमेर समूहकै हुने भएपनि विगतमाभन्दा यसपटक आकर्षण बढी देखिएको छ ।
यसैगरि राष्ट्रिय सभा निर्वाचन आगामी माघ १० गते हुने भएको सोको पनि तयारीमा समेत कार्यालय लागि परेको छ ।राष्ट्रिय सभा निर्वाचमा २०७६ मा बागमती प्रदेशका तर्फबाट निर्वाचित भएका नेकपा माओवादि केन्द्रका तर्फबाट गंगा कुमारी वेलवासे र नेकपा एसबाट निर्वाचित भएका डा. बेदुराम भुषालको कार्यकाल सकिदै गर्दा कार्यालयले यसको समेत तयारी गरेको हो । नेपालभर १९ जना राष्ट्रिय सभा सदस्यको पद खालि हुने र उक्त पदको लागि निर्वाचन हुनेछ।
मकवानपुर । आइतबार नेकपा एमालेको सचिवालय बैठक बसेको छ । गत २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनपछि पहिलाे पटक एमालेकाे सचिवालय बैठक बसेकाे हाे ।
भक्तपुर गुण्डु स्थित अध्यक्ष केपी शर्मा ओली बसिरहेकाे निवासमा बसेको सचिवालय बैठकले ३ वटा निर्णय गरेको छ । सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णयमा एमालेले गम्भीर ध्यानाकर्षण गराएको छ । यसैगरी पार्टीकाे केन्द्रीय कमिटीको दशौं बैठक आगामी २७–२९ असोजमा काठमाडौंंमा बस्ने भएकाे छ ।
एमाले सचिवालयका ३ वटा निर्णयहरु :
- भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले आज असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । यस अघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरेर अनि दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गंभीर आपत्ति प्रकट गर्दछ । यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गंभीर प्रश्न खडा गरेको छ ।
- हालै गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा सङ्लग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै कुनै कार्बाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाईल गरेको निर्देशनप्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानुनसम्मत क्षेत्राधिकार माथि मात्रै हस्तक्षेप गरेको छैन, यसले अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको छ । पार्टी यसप्रति गंभीर आपत्ति प्रकट गर्दछ र नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न गंभीर ध्यानाकर्षण गर्दछ ।
- पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७–२९ मा काठमाडौंँमा बस्ने छ । त्यस अघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९–२० मा काठमाडौँमा बस्नेछ ।
मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विधान बमोजिम केन्द्रीय समितिले विशेष अधिवेशन बोलाउन सक्ने बताएका छन् । जेन-जीकाे प्रदर्शनकाे क्रममा क्षति पुगेको कांग्रेस मकवानपुरको पार्टी कार्यालयको अवलोकन पछि उनले यस्तो बताएका हुन् ।
महामन्त्री शर्माले पछिल्लो घटनाले राजनीतिक दललाई परिवर्तन हुन सन्देश दिएको उल्लेख गर्दै फरक–फरक विचारलाई सम्बोधन गर्दै साझा धारणा बनाउन पार्टी केन्दीय समितिको बैठक बस्ने तयारी भइरहेको बताए । राजनीतिक र संवैधानिक निकासका लागि निर्धारित मितिमा निर्वाचन हुनु आवश्यक रहेको बताउँदै शर्माले भने ’निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गराउन कांग्रेसले उचित वातावरण बनाउन सहयोग गर्छ ।’
उनले मुलुकलाई संवैधानिक र राजनीतिक निकासका लागि फागुन २१ मै ताेकिएकाे निर्वाचन हुनुपर्ने बताए । प्रदर्शनपछि बनेको अन्तरिम सरकार असफल भए लोकतन्त्र नै खतरामा पर्ने उनले बताए । वर्तमान सरकारमा जेनजी युवा पुस्ताको सहभागिता नभएकाप्रति असन्तुष्टि जनाउँदै मन्त्रिपरिषद्मा जेनजी युवा पुस्तालाई पनि समेट्नुपर्ने जानकारी दिए । जेनजी आन्दोलनका क्रममा सरकारी संरचना र व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोड जेनजी युवाहरूको भावनाअनुसार नभएको जिकिर गर्दै दुवै दिन भएका घटनामा संलग्न लाई पहिचान गरी दोषीलाई कारबाही हुनुपर्नेमा उनले बताए ।
‘हामीले युवाहरूको भावनाको सम्मान गर्नैपर्छ । त्यसका लागि कांग्रेसले केन्द्रीय समितिमार्फत योजना अगाडि सार्छ । विधान संशोधनमार्फत जेनजी पुस्तालाई प्रतिनिधित्व गराउने गरी तयारी भइरहेको छ’, उनले भने । उनले विशेष अधिवेशन बोलाउनका लागि भएको हस्ताक्षर अभियानलाई नकारात्मक रुपमा लिन नहुने बताए ।
विगतकाे सरकारले गरेका राम्रा कामको जिम्मा अन्तरिम सरकारले लिनुपर्ने तर नराम्रा कामको आलोचना गर्दै आन्दोलनकाे समयमा भएकाे सबै घटनाको छानबिन र कारबाहीमा कांग्रेसले अन्तरिम सरकारलाई साथ दिने बताए । ‘जेनजीको नाममा अराजक गतिविधि गर्नेहरूमाथि कारबाही गर्नु सरकारको दायित्व हो । हामी शान्तिपूर्ण आन्दोलनमा छौं, तोडफोड र आगजनीविरुद्धको आवाज जेनजी पुस्ताबाटै आउनुपर्छ’ उनले भने ।
महामन्त्री शर्माले विगतका राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भए पनि हालको आन्दोलनले कांग्रेसलाई परिवर्तन हुन सन्देश दिएको स्पष्ट पारेकाे बताए । यसैगरी महामन्त्री शर्माले पार्टी सभापति शेरबहादुर देउवाको घरमा भेटिएको पैसाका सम्बन्धमा सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरुकै आधारमा आम धारणा बनाउन नहुने बताउादै भने ‘पैसाको विषयलाई सामाजिक सञ्जालमा मात्र अल्झाएर राख्नु उपयुक्त हुँदैन निष्पक्ष अनुसन्धानमार्फत सत्य बाहिर ल्याउनुपर्छ ।’ उनले आफू पनि छानविनकाे दायरामाआउन तयार रहेकाेले २०४६ साल पछिका सबै नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताए ।
मकवानपुर । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समिति भङ्ग गर्ने निर्णय गरेकाे छ । शुक्रबार प्रज्ञा भवन कमलादीमा सम्पन्न केन्द्रीय समिति बैठकले समिति भङ्ग गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।
मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेकाे पार्टीले वर्तमान पदाधिकारीलाई आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने, पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय भएकाे बताइएकाे छ ।
माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पत्ति छानबिन आयोग गठन गरिने बताउँदै सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता समेत औँल्याए ।
उनका अनुसार सङ्गठनात्मक कार्यशैली मात्र होइन व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको छ । नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनतासँगको सम्बन्ध सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन समेत उनले निर्देशन दिएका छन् ।
बीबीसी/ भारतको केन्द्र प्रशासित भूमि लद्दाखमा बुधबार जेनजीहरुले आन्दोलन गरेका छन् । जेनजी (युवा प्रदर्शनकारी) र प्रहरीबीच झडप भएपछि हिंसा र आगजनीको घटना भएको छ । घटनाबाट कम्तिमा ५ जनाको ज्यान गएकाे बताइएको छ ।
भारतको समाचार एजेन्सी एएनआईका अनुसार, झडपका क्रममा प्रदर्शनकारीहरूले लद्दाखको सदरमुकाम लेहमा रहेको भारतीय जनता पार्टी (बीजेपी)को कार्यालयमा आगो लगाइदिएका छन् ।
लद्दाखमा पूर्ण राज्यको दर्जा र छैटौँ अनुसूचीका लागि आन्दोलन केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन र संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने माग राख्दै वातावरणविद् तथा सामाजिक कार्यकर्ताहरू विगत दुई हप्तादेखि भोक हडतालमा छन् ।
बुधबार सोनम वाङचुकको समर्थनमा ठूलो संख्यामा मानिसहरू लेहका सडकमा उत्रिए । केही युवाहरूले कथित रूपमा लेह हिल काउन्सिलको भवनमा ढुंगामुढा गरी आफ्नो आक्रोश व्यक्त गरेका थिए ।
समाचार एजेन्सी पीटीआईका अनुसार, प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास र लाठीचार्ज गरेको थियो । केही भिडियोहरूमा लेह सहरमा धेरै सवारीसाधनहरू जलिरहेको र केही झडपहरू भएको देखिएको छ ।
बीजेपी प्रदेश अध्यक्ष ताशी ग्यालसन खाचूले बीबीसी संवाददाता माजिद जहांगीरलाई फोनमा बताएअनुसार उनको पार्टी कार्यालयमा आगजनी गरिएको छ र लेहमा स्थिति तनावपूर्ण छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार, लेहमा बुधबार भएको हिंसामा चारजनाको मृत्यु र करिब ३० जना घाइते भएका छन् । लेहमा पाँच वा सोभन्दा बढी व्यक्तिहरू जम्मा हुन प्रतिबन्ध लगाइएको छ । जिल्ला मजिस्ट्रेटको आदेशअनुसार लेहमा पूर्वलिखित अनुमतिबिना कुनै पनि जुलुस, र्याली वा मार्च निकाल्न पाइने छैन ।
सोनम वाङचुकद्वारा शान्तिको अपिल
सोनम वाङचुकले सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देश जारी गर्दै शान्तिको अपिल गरेका छन् ।
उनले भने, “यहाँ केही मानिस ३५ दिनदेखि अनशन गरिरहेका थिए । हिजो उनीहरूमध्ये दुईजनाको स्वास्थ्य बिग्रियो र उनीहरूलाई निकै गम्भीर अवस्थामा अस्पताल भर्ना गरियो । यसबाट मानिसहरूमा धेरै आक्रोश छ र आज पूरै लेहमा बन्दको घोषणा गरियो । यस दौरान हजारौँको संख्यामा युवाहरू सडकमा उत्रिए । यो एक प्रकारको ‘जेनजी रिभोलुसन’ थियो ।”
“पाँच वर्षदेखि ‘जेनजी’ युवाहरू बेरोजगार छन् । एकपछि अर्को बहाना बनाएर उनीहरूलाई जागिरबाट बाहिर राखिँदै छ र लद्दाखलाई पनि संरक्षण दिइएको छैन । आज यहाँ कुनै लोकतान्त्रिक मञ्च छैन,” उनले थप भने । सोनम वाङचुकले कुनै पनि परिस्थितिमा युवाहरूलाई हिंसाको बाटो नअपनाउन अपिल गरेका छन् ।
वार्ताका लागि नयाँ मिति तय
समाचार एजेन्सी पीटीआईका अनुसार, केन्द्र र लद्दाखका प्रतिनिधिहरूबीच अक्टोबर ६ मा वार्ताको एक नयाँ चरण निर्धारण गरिएको छ । जसमा लेह एपेक्स बडी र कारगिल डेमोक्रेटिक अलायन्सका सदस्यहरू सहभागी हुनेछन् ।