मकवानपुर । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समिति भङ्ग गर्ने निर्णय गरेकाे छ । शुक्रबार प्रज्ञा भवन कमलादीमा सम्पन्न केन्द्रीय समिति बैठकले समिति भङ्ग गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।
मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेकाे पार्टीले वर्तमान पदाधिकारीलाई आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने, पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय भएकाे बताइएकाे छ ।
माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पत्ति छानबिन आयोग गठन गरिने बताउँदै सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता समेत औँल्याए ।
उनका अनुसार सङ्गठनात्मक कार्यशैली मात्र होइन व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको छ । नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनतासँगको सम्बन्ध सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन समेत उनले निर्देशन दिएका छन् ।

