मकवानपुर । भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशका ५ जिल्लामा रहेका सरकारी संरचनामा संरचनामा आगजनी तथा तोडफोड हुँदा ९० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएकाे छ ।
प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बिहीबार पत्रकार भेटघाट गरी उक्त विवरण सार्वजनिक गरेका छन् । प्रवक्ता तामाङका अनुसार प्रदेशका काठमाडौं, चितवन, भक्तपुर, मकवानपुर र ललितपुर जिल्ला कुल ६० वटा भवनमा क्षति पुगेको छ । तीमध्ये २६ वटा सरकारी कार्यालयमा बढी क्षति भएको उनले जानकारी दिए ।
क्षतिको प्रारम्भिक आँकडा अनुसार भवनतर्फमात्रै ९० करोड १९ हजार रुपैयाँको नोक्सानी भएको मन्त्री तामाङले बताए । उनका अनुसार १९५ वटा सवारीसाधन (दुई र चार पाङ्ग्रेगरी) र अन्य जिन्सी सामानमा भएको क्षति ४२ करोड ७ लाख रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ । उक्त अनुमान ह्रासकट्टीपछिको मूल्य रहेको उनको भनाइ छ ।
सबैभन्दा बढी क्षति मकवानपुर जिल्लामा भएको छ । मकवानपुरमा १७ वटा कार्यालयका ४० वटा भवन गरी ३९ करोड ९३ लाख ७२ हजार रुपैयाँ बराबरको नोक्सान भएको छ । चितवनमा २ करोड ८४ लाख, ललितपुरमा १ करोड ९१ लाख, काठमाडौँमा १ करोड ५८ लाख र भक्तपुरमा १ करोड ५७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आन्दोलनका कारण प्रदेशको राजधानी हेटौंडामा रहेको प्रदेश सभा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ, जसमा ३० देखि ३५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । भर्खरै उद्घाटन गरिएको नयाँ भवनसहित प्रदेश सभाका ५ वटा भवन, सवारीसाधन र महत्त्वपूर्ण कागजात आगजनीमा नष्ट भएका छन् । प्रदेश सभा बैठक कक्ष, अभिलेख कोठा र अन्य संरचना ध्वस्त भएका छन् । यो क्षतिसँगै प्रदेश सभा बैठक सञ्चालन गर्ने स्थानको समेत अभाव भएको छ ।
त्यस्तै, बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र अन्तर्गतका कार्यालयहरूमा साढे ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । मन्त्रालयका अधिकांश कोठा र कागजात जलेर नष्ट भएका छन् । मन्त्रालय अन्तर्गतका ४० वटा सवारी साधनमा पनि आगजनी गरिएको छ । ‘प्रदेश राजधानीमा रहेकाे कुल भौतिक संरचनामा क्षति ४७ करोड ९३ लाख ५४ हजार रुपैयाँको देखिएको छ । सवारी साधनतर्फ २१ करोड ६७ लाख ५५ हजार रुपैयाँ र जिन्सीतर्फ २० करोड ४० लाख ८१ हजार रुपैयाँको क्षति भएको अनुमान छ ’ उनले भने ।
मन्त्री तामाङले जेनजी आन्दोलनका क्रममा प्रदेश सरकार मातहतका संरचनाको क्षतिग्रस्त भवनहरूको पुनर्निर्माणका लागिमात्रै ७१ करोड ४१ लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । यथाशीघ्र पुनर्निर्माण गर्ने गरी सरकारले टिम खटाएर काम गरिरहेको उनले बताए ।
प्रदेश सरकारले निजी घर भाडामा लिएर सञ्चालित यातायात क्षेत्रका ४ वटा कार्यालयमा पनि क्षति पुगेको मन्त्री तामाङले बताए । काठमाडौंको चाबहिल र भक्तपुरको राधेराधे तथा चितवन र मकवानपुरमा रहेका यातायात कार्यालय राखिएको निजी सम्पत्तिमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । ‘उक्त भवनको क्षतिको मूल्याङ्कनका लागि प्राविधिक टोली पठाइएको छ क्षतीकाे विवरण चाडै प्राप्त हुनेछ’ मन्त्री तामाङले भने ‘प्रदेशको संरचना बसेका व्यक्तिको सम्पत्तिमा क्षति पुगेको अवस्थामा के गर्ने भन्ने विषयमा छलफल भएकाे तर निर्णय भएकाे छैन ।’
यसैबीच, अन्तरिम सरकारले ल्याएको खर्च कटौतीको १२ बुँदे प्रस्तावमाथि बागमती प्रदेश सरकारले संघीयतामाथि हस्तक्षेप गर्न खोजिएकाे आरोप लगाएकाे छ ।
मन्त्रिपरिषद्को ५ असोजमा बसेको बैठकले प्रदेश र स्थानीय तहसँग सम्बिन्धत अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा गरेका निर्णय संविधानको व्यवस्थाविपरीत रहेकाेले प्रश्न उठाउनु पर्ने प्रवक्ता तामाङले जानकारी दिए । अन्तरिम सरकारले प्रदेश र स्थानीय तहलाई दिएको निर्देशन हस्तक्षेपपूर्ण भएको उनले बताए ।

