मकवानपुर । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिककाे काम सुरु गरेको छ । २७ भदौमा गठन भएकाे अन्तरिम सरकारले १ फागुन २०८२ मा निर्वाचनकाे घोषणा गरेपछि जेनजी पुस्तालाई लक्षित गरी बिहीबारबाट नामावली संकलन तथा अद्यावधिककाे काम सुरु गरेकाे हाे ।
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी बिहीबारबाट सुरु गरिएकाे मतदाता नामावली संकलन ३० कार्तिक २०८२ सम्म हुने आयोगले जनाएको छ । आयोगका अनुसार उक्त अवधीसम्म १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले नागरिकताकाे प्रमाणपत्रकाे आधारमा प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गराउन सकिने छ । नाम संकलन तथा अद्यावधिककाे कार्य सार्वजनिक बिदाको दिन बाहेक बिहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म नामावली दर्ता गर्न सक्नेछन् ।
मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा कानुन बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो नाम दर्ता गर्न सक्ने व्यवस्थाका अतिरिक्त विवाह भई अन्यत्र गएका, बसाइ सराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्ने र नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन सकिने समेत व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी २१ फागुनमा निर्वाचन गर्ने घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन कार्य स्वतः स्थगित हुने प्रावधान छ । तर, राजनीतिक परिवर्तनका लागि भूमिका निर्वाह गरेका थुप्रै युवाहरूको योग्यता पुगेर निर्वाचनमा सहभागिता हुन नपाउने भएकाेले कानुनी गाँठो फुकाउन सरकारले बुधबार मात्रै निर्वाचन सम्बन्धी अध्यादेश जारी गरेकाे थियाे । आगमी २० फागुनसम्म १८ वर्ष पुरा हुनेहरुले निर्वाचनमा सहभागी हुन पाउने निर्वाचन आयोगले जानकारी दिएकाे छ ।

