मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विधान बमोजिम केन्द्रीय समितिले विशेष अधिवेशन बोलाउन सक्ने बताएका छन् । जेन-जीकाे प्रदर्शनकाे क्रममा क्षति पुगेको कांग्रेस मकवानपुरको पार्टी कार्यालयको अवलोकन पछि उनले यस्तो बताएका हुन् ।
महामन्त्री शर्माले पछिल्लो घटनाले राजनीतिक दललाई परिवर्तन हुन सन्देश दिएको उल्लेख गर्दै फरक–फरक विचारलाई सम्बोधन गर्दै साझा धारणा बनाउन पार्टी केन्दीय समितिको बैठक बस्ने तयारी भइरहेको बताए । राजनीतिक र संवैधानिक निकासका लागि निर्धारित मितिमा निर्वाचन हुनु आवश्यक रहेको बताउँदै शर्माले भने ’निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गराउन कांग्रेसले उचित वातावरण बनाउन सहयोग गर्छ ।’
उनले मुलुकलाई संवैधानिक र राजनीतिक निकासका लागि फागुन २१ मै ताेकिएकाे निर्वाचन हुनुपर्ने बताए । प्रदर्शनपछि बनेको अन्तरिम सरकार असफल भए लोकतन्त्र नै खतरामा पर्ने उनले बताए । वर्तमान सरकारमा जेनजी युवा पुस्ताको सहभागिता नभएकाप्रति असन्तुष्टि जनाउँदै मन्त्रिपरिषद्मा जेनजी युवा पुस्तालाई पनि समेट्नुपर्ने जानकारी दिए । जेनजी आन्दोलनका क्रममा सरकारी संरचना र व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोड जेनजी युवाहरूको भावनाअनुसार नभएको जिकिर गर्दै दुवै दिन भएका घटनामा संलग्न लाई पहिचान गरी दोषीलाई कारबाही हुनुपर्नेमा उनले बताए ।
‘हामीले युवाहरूको भावनाको सम्मान गर्नैपर्छ । त्यसका लागि कांग्रेसले केन्द्रीय समितिमार्फत योजना अगाडि सार्छ । विधान संशोधनमार्फत जेनजी पुस्तालाई प्रतिनिधित्व गराउने गरी तयारी भइरहेको छ’, उनले भने । उनले विशेष अधिवेशन बोलाउनका लागि भएको हस्ताक्षर अभियानलाई नकारात्मक रुपमा लिन नहुने बताए ।
विगतकाे सरकारले गरेका राम्रा कामको जिम्मा अन्तरिम सरकारले लिनुपर्ने तर नराम्रा कामको आलोचना गर्दै आन्दोलनकाे समयमा भएकाे सबै घटनाको छानबिन र कारबाहीमा कांग्रेसले अन्तरिम सरकारलाई साथ दिने बताए । ‘जेनजीको नाममा अराजक गतिविधि गर्नेहरूमाथि कारबाही गर्नु सरकारको दायित्व हो । हामी शान्तिपूर्ण आन्दोलनमा छौं, तोडफोड र आगजनीविरुद्धको आवाज जेनजी पुस्ताबाटै आउनुपर्छ’ उनले भने ।
महामन्त्री शर्माले विगतका राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भए पनि हालको आन्दोलनले कांग्रेसलाई परिवर्तन हुन सन्देश दिएको स्पष्ट पारेकाे बताए । यसैगरी महामन्त्री शर्माले पार्टी सभापति शेरबहादुर देउवाको घरमा भेटिएको पैसाका सम्बन्धमा सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरुकै आधारमा आम धारणा बनाउन नहुने बताउादै भने ‘पैसाको विषयलाई सामाजिक सञ्जालमा मात्र अल्झाएर राख्नु उपयुक्त हुँदैन निष्पक्ष अनुसन्धानमार्फत सत्य बाहिर ल्याउनुपर्छ ।’ उनले आफू पनि छानविनकाे दायरामाआउन तयार रहेकाेले २०४६ साल पछिका सबै नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताए ।

