मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका प्रहरी कार्यालयहरुलाई ८५ वटा दुईपांग्रे सवारीसाधन दिने निर्णय गरेको छ । प्रदेशका इलाका प्रहरी कार्यालय, उपत्यका प्रहरी र उपत्यका ट्राफिक प्रहरीका लागि उक्त सवारीसाधन उपलब्ध गराइने प्रदेश सरकारले निर्णय गरेकाे हाे ।
निर्णयअनुसार इलाका प्रहरी कार्यालयका लागि ३० वटा, उपत्यका प्रहरी कार्यालयका लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीका लागि २५ वटा दुई पांग्रे सवारी साधन उपलब्ध गराइने आर्थिक मामिला तथा योजना मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिए । जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारी साधनमा क्षतिले सवारी साधनकाे अभाव रहेकाे छ ।
सवारी अभावमा सुरक्षामा चुनौती सिर्जना भएको सन्दर्भमा मन्त्रिपरिषद्बाटै निर्णय गरेर सवारी साधन दिन लागिएकाे तामाङले बताए । सरकारले यी सवारी साधन तत्कालै सम्बन्धित इकाइमा पठाइने र विशेष गरी दसैँ, तिहारलगायतका चाडपर्वमा सुरक्षा व्यवस्थामा खटाइने बताइएकाे छ ।

