मकवानपुर । अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भएपछि मतदानकाे लागि उमेर पुगेका जेनजीहरुले निर्वाचन कार्यालयमा आफ्नो विवरण दर्ता गराउने क्रम बढेको छ ।
बागमती प्रदेश निर्वाचन कार्यालयले गत १० गतेबाट मतदाता नामावलि संकलन कार्य सुरु गरिरिकेको थियो ।
कार्यालयले असोज २० गतेसम्म २२४ जनाको नामावली दर्ता भएको जनाएको छ ।
जसमा महिला ७७ जना र पुरुष १४७ जना रहेको छन् । २१ गते पनि ४५ जनाको दर्ता भएको बताइएको छ । जसमा ९५ प्रतिशत जेनजीहरु रहेका छन् ।
यसबीचमा अनलाइन फर्महरु भर्नेको संख्या ३०० भन्दा बढि रहेको बताइएको छ । अनलाइन फर्म भरेकाहरुको बायो मेट्रिक गर्न बाँकी रहेकोले अहिले उनीहरुको विवरण पेन्डिङमा रहेको कार्यालयले जनाएको छ ।
कार्तिक मसान्तसम्म जारी रहने मतदाता नामावली संकलन कार्यमा मतदाताले मतदाता दर्ता हुन अनलाइन फर्म भरि बायोमेट्रिक गर्न कार्यालय नै आउनु पर्ने हुन्छ ।
प्रमुख निर्वाचन अधिकारी हरि प्रसाद ढकालका अनुसार मतदाता नामावली भर्न आउने उमेर समुह पनि जेनजी उमेर समुहका नै धेरै रहेको बताउनु भयो । सामान्यत नयाँ मतदाताहरु जेनजी उमेर समूहकै हुने भएपनि विगतमाभन्दा यसपटक आकर्षण बढी देखिएको छ ।
यसैगरि राष्ट्रिय सभा निर्वाचन आगामी माघ १० गते हुने भएको सोको पनि तयारीमा समेत कार्यालय लागि परेको छ ।राष्ट्रिय सभा निर्वाचमा २०७६ मा बागमती प्रदेशका तर्फबाट निर्वाचित भएका नेकपा माओवादि केन्द्रका तर्फबाट गंगा कुमारी वेलवासे र नेकपा एसबाट निर्वाचित भएका डा. बेदुराम भुषालको कार्यकाल सकिदै गर्दा कार्यालयले यसको समेत तयारी गरेको हो । नेपालभर १९ जना राष्ट्रिय सभा सदस्यको पद खालि हुने र उक्त पदको लागि निर्वाचन हुनेछ।

