मकवानपुर । नेपाल चलचित्र संघले बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएकाे छ । संघले बागमती प्रदेश सरकारलाई मनोरञ्जन कर समायोजनलगायतका विषयमा ज्ञापनपत्र बुझाएकाे हाे ।
शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठलाई संघका महासचिव नरेन्द्र महर्जन, निर्माता तथा कलाकार दीपकराज गिरी, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायत चलचित्रकर्मीहरुले मन्त्रालयमै ज्ञापनपत्र बुझाए हुन् । ज्ञापनपत्र बुझाउँदै महासचिव महर्जनले चलचित्र क्षेत्रले संघीय सरकारलाई १५ प्रतिशत चलचित्र विकास शुल्क, प्रदेश सरकारलाई ५ प्रतिशत मनोरञ्जन कर र त्यसपछि १३ प्रतिशत मुल्य अभिवृद्धि कर गरी ३३ प्रतिशत भन्दा बढी करहरु बुझाउनुपर्ने बाध्यता रहेको बताए ।
ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले प्रदेश सरकारसँग त्यति धेरै अधिकार नभएपनि अधिकारभित्र रहेका विषयलाई आवश्यक सम्बोधन गरिने संघका पदाधिकारीलाई जानकारी गराएका थिए । ‘चलचित्र सम्बन्धी कानून तयार गरी कार्यान्वयनमा ल्याउने तयारी भइरहेकाे छ’ मन्त्री श्रेष्ठले भने ‘आगामी आर्थिक वर्ष विधेयक पारित गरी कार्यान्वयनमा ल्याउने छाैं । उनले हल सञ्चालन, नियमन र अनुगमनको क्षेत्राधिकार पनि हामीलाई नै रहेकाले विधेयक निर्माण पछि सहजता हुने बताए । करको समस्या समाधानकाे विषय संसदमा पेश गरी अगाडी बढाउने प्रतिवद्धता उनले व्यक्त गरे ।
कोशी प्रदेशमा पनि प्रदेशको ५ प्रतिशत करमा समायोजन गरी नेपाली चलचित्रको १.५ प्रतिशत र विदेशी चलचित्रको ३ प्रतिशत कायम गरेको कलाकार संघकाे टाेली मन्त्री श्रेष्ठलाई अवगत गराएकाे थियाे । ‘कला संस्कृति जर्गेना गर्ने माध्यम रहेको चलचित्र उद्योगलाई तीनतहकै सरकारको साथ सहयोग आवश्यक रहेको छ’ कलाकार दिपकराज गिरी भने ‘सरकारले चलचित्र उद्योगलाई हेर्ने दृष्टिकोण अन्य उद्याेगलाई भन्दा फरक पाएका छाैं ।
शुक्रबार नै चलचित्रकर्मीकाे टाेलीले बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव घनश्याम उपाध्यायलाई समेत ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै प्रमुख सचिव उपाध्यायले चलचित्र प्रवर्द्धन र समग्र विकासमा प्रदेश सरकारको साथ रहने प्रतिवद्धता व्यक्त गरे ।
ज्ञापनपत्र बुझाउने समूहमा नेपाल चलचित्र संघ महर्जन, कलाकार गिरी, कलाकार एंव निर्देशक दीपाश्री निरौला, प्रदेश सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा, नेपाल चलचित्र प्राविधिक संघ अध्यक्ष पुष्कर लामा, कलाकार निर्मल शर्मा ‘गैंडा’, राज कटुवाल, सुमन गिरी, ध्रुव न्यौपाने, सुशान्त कुमार श्रेष्ठ लगायतको सहभागिता रहेकाे थियो ।
मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेशकाे प्रथम अधिवेशन आज शुक्रबारबाट हेटौंडामा सुरु हुँदैछ । हेटौंडामा पत्रकार भेटघाट गरी शिक्षक संगठन बागमती प्रदेश समितिले अधिवेशनबारे जानकारी गराएको हो ।
अधिवेशनको शुक्रबार संगठनका राष्ट्रिय समिति अध्यक्ष विष्णु भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । शुक्रबार बिहानबाट सुरु हुने अधिवेशन शनिबारसम्म हुनेछ । अधिवेशनमा प्रदेशभित्रका १३ जिल्लाका करिब ६ सय जना प्रतिनिधि सहभागी हुने संगठनका बागमती प्रदेश समितिले जनाएकाे छ । बागमती प्रदेश समिति अध्यक्ष नीरबहादुर कार्कीका अनुसार अधिवेशनबाट ३५ सदस्यीय बागमती प्रदेश समिति र तीन जना केन्द्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।
प्रदेश कार्यसमिति सकेसम्म सर्वसम्मत चयन हुने बताइएकाे छ । २०३६ सालमा हेटौंडा–४ स्थित भूटनदेवी माविबाट संगठन सुरु भएकोले प्रदेशकाे प्रथम अधिवेशन मकवानपुर जिल्लामा आयोजना गरिएको कार्कीले जानकरी दिए ।
पत्रकार सम्मलेनमा संगठनका प्रदेश समितिका पदाधिकारी र मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहाललगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । बागमती प्रदेश सरकारले ५ जना कर्मचारीलाई ११ औं तहमा सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । बुधबारको प्रदेश मन्त्रिपरिषद् बैठकले ५ जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश निजामती कर्मचारी ऐन २०७९ अनुसार स्वास्थ्य सेवाबाट ४ र शिक्षा सेवाबाट १ जना गरी ५ जनालाई ११ औँ तहमा बढुवा गरेको हाे । उक्त ऐन अनुसार प्रदेशमा ११ औँ तहका कर्मचारी प्रदेश सचिव हुने व्यवस्था रहेको छ । स्वास्थ्यतर्फ दीपक तिवारी, वसन्त अधिकारी, डा. अर्जुन प्रसाद सापकोटा र डा. नरेन्द्र कुमार झा तथा शिक्षा सेवा तर्फका दीपेन्द्र सुवेदीलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हाे । अधिकृत ११ औँ तहमा बढुवासँगै पाँचै जनालाई पदस्थापन गर्ने तयारी प्रदेश सरकारले गरेकाे छ।
यसअघि नै प्रदेशको मन्त्रिपरिषद् बैठकले निर्णय गरी उनीहरुलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको थियो ।बढुवा समितिको गत वैशाख ११ गते ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनका आधारमा बढुवाका लागि निर्णय गरिएकाेमा असार २२ गते बढुवा सूचना प्रकाशन भएकाे थियो ।
उक्त सूचनाको विरुद्धमा गत साउन ९ गते उच्च अदालत पाटन हेटौँडा इजलासमा रिट निवेदन दर्ता भएको थियो । निजामती सेवा ऐनसँग बाझिने गरी प्रदेश सरकारले हेल्थ इन्स्पेक्सन र एकीकृत चिकित्सा समूहको बढुवा गरेको भन्दै ९ जनाले उच्च अदालत पाटन हेटौँडा इजलासमा मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले साउन १० गते बढुवाको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएकाे थियो ।उक्त मुद्दामा उच्च अदालत हेटौँडा इजलासले मंसिर १८ गते माग दाबी नपुगेको भन्दै सो रिट निवेदन खारेज गरेकाे हाे । अदालतमा मुद्दा परेपछि रोकिएको बढुवा प्रक्रिया रिट निवेदन नै खारेज भएसँगै मन्त्रिपरिषद् बैठकले ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको हो ।
यस्तै बैठकले बागमती प्रदेश आयोजनाको बहुवर्षे ठेक्का मापदण्ड २०८० कार्यविधि स्वीकृत गरेको छ । उक्त कार्यविधि प्रदेशस्तरीय आयाेजनाकाे बहुवर्षीय योजना र ठेक्कालाई व्यवस्थापन गर्न बनाइएकाे हाे ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सार्वजनिक निकायका संरचना तथा अन्य हरेक कार्यस्थल अपाङ्गमैत्री बनाइनुपर्नेमा जोड दिएका छन् ।
अपाङ्गता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले भनेका छन् ‘हरेक स्थानमा निर्माण गरिने भौतिक संरचनाहरु, सार्वजनिक यातायातका साधन,सडक,सेवा प्रवाह गरिने सार्वजनिक निकाय एवम् विभिन्न कार्यस्थललाई अपाङ्गमैत्री बनाइनुपर्दछ । ’
‘दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रतिबद्धता स्अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्घता’ भन्ने नारासहित नेपालमा आइतबार ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइँदैछ । प्रत्येक वर्ष डिसेम्बर ३ का दिन यो दिवस मनाउँदै आइएको सन्दर्भ उल्लेख गर्दै प्रमुख शर्माले फरक क्षमताका सम्पूर्ण देशबासीप्रति आफूले उठाउँदै आएका मुद्घाहरुमा सफलता प्राप्तिका लागि सफलता मिलोस् भन्ने शुभकामना दिएका हुन् ।
नेपालमा अपाङ्गता भएका व्यक्तिहरुलाई कानूनी रुपमा अधिकारसम्पन्न बनाइएको उल्लेख गर्दै उनीहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा समावेशिताका लागि विभिन्न अभियानहरु सञ्चालन पनि भइरहेको उनको भनाई छ । समाजले अपाङ्गता भएकाहरुको अवस्थालाई हेर्ने दृष्टिकोणलाई रुपान्तरण गर्दै विकासको मूल प्रवाहमा सहभागिता गराउने कार्यमा कन्ज्युस्याँई हुुनु नहुने प्रमुख शर्माको भनाई छ ।
उनीहरुको पक्षमा प्रभावकारी ढङ्गमा क्रियाशील हुनुनुपर्ने शर्माको सन्देशमा उल्लेख छ । ‘फरक क्षमता भएका व्यक्तिका लागि शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता पक्षमा प्रभावकारी ढङ्गबाट क्रियाशील रहनु सबैको दायित्व हो ।’ शर्माले भनेका छन् ।
प्रदेश प्रमुख शर्माले अपाङ्गता भएका व्यक्ति, यस क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकाय लगायत सबैलाई भिन्न क्षमता भएका नागरिकको पक्षमा सदैव क्रियाशील रहन यो दिवसले उर्जाकाे लागि शुभकामना दिएका छन् ।