मकवानपुर । नेपाल चलचित्र संघले बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएकाे छ । संघले बागमती प्रदेश सरकारलाई मनोरञ्जन कर समायोजनलगायतका विषयमा ज्ञापनपत्र बुझाएकाे हाे ।
शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठलाई संघका महासचिव नरेन्द्र महर्जन, निर्माता तथा कलाकार दीपकराज गिरी, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायत चलचित्रकर्मीहरुले मन्त्रालयमै ज्ञापनपत्र बुझाए हुन् । ज्ञापनपत्र बुझाउँदै महासचिव महर्जनले चलचित्र क्षेत्रले संघीय सरकारलाई १५ प्रतिशत चलचित्र विकास शुल्क, प्रदेश सरकारलाई ५ प्रतिशत मनोरञ्जन कर र त्यसपछि १३ प्रतिशत मुल्य अभिवृद्धि कर गरी ३३ प्रतिशत भन्दा बढी करहरु बुझाउनुपर्ने बाध्यता रहेको बताए ।
ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले प्रदेश सरकारसँग त्यति धेरै अधिकार नभएपनि अधिकारभित्र रहेका विषयलाई आवश्यक सम्बोधन गरिने संघका पदाधिकारीलाई जानकारी गराएका थिए । ‘चलचित्र सम्बन्धी कानून तयार गरी कार्यान्वयनमा ल्याउने तयारी भइरहेकाे छ’ मन्त्री श्रेष्ठले भने ‘आगामी आर्थिक वर्ष विधेयक पारित गरी कार्यान्वयनमा ल्याउने छाैं । उनले हल सञ्चालन, नियमन र अनुगमनको क्षेत्राधिकार पनि हामीलाई नै रहेकाले विधेयक निर्माण पछि सहजता हुने बताए । करको समस्या समाधानकाे विषय संसदमा पेश गरी अगाडी बढाउने प्रतिवद्धता उनले व्यक्त गरे ।
कोशी प्रदेशमा पनि प्रदेशको ५ प्रतिशत करमा समायोजन गरी नेपाली चलचित्रको १.५ प्रतिशत र विदेशी चलचित्रको ३ प्रतिशत कायम गरेको कलाकार संघकाे टाेली मन्त्री श्रेष्ठलाई अवगत गराएकाे थियाे । ‘कला संस्कृति जर्गेना गर्ने माध्यम रहेको चलचित्र उद्योगलाई तीनतहकै सरकारको साथ सहयोग आवश्यक रहेको छ’ कलाकार दिपकराज गिरी भने ‘सरकारले चलचित्र उद्योगलाई हेर्ने दृष्टिकोण अन्य उद्याेगलाई भन्दा फरक पाएका छाैं ।
शुक्रबार नै चलचित्रकर्मीकाे टाेलीले बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव घनश्याम उपाध्यायलाई समेत ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै प्रमुख सचिव उपाध्यायले चलचित्र प्रवर्द्धन र समग्र विकासमा प्रदेश सरकारको साथ रहने प्रतिवद्धता व्यक्त गरे ।
ज्ञापनपत्र बुझाउने समूहमा नेपाल चलचित्र संघ महर्जन, कलाकार गिरी, कलाकार एंव निर्देशक दीपाश्री निरौला, प्रदेश सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा, नेपाल चलचित्र प्राविधिक संघ अध्यक्ष पुष्कर लामा, कलाकार निर्मल शर्मा ‘गैंडा’, राज कटुवाल, सुमन गिरी, ध्रुव न्यौपाने, सुशान्त कुमार श्रेष्ठ लगायतको सहभागिता रहेकाे थियो ।

