मकवानपुर । बागमती प्रदेश सरकारले ५ जना कर्मचारीलाई ११ औं तहमा सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । बुधबारको प्रदेश मन्त्रिपरिषद् बैठकले ५ जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश निजामती कर्मचारी ऐन २०७९ अनुसार स्वास्थ्य सेवाबाट ४ र शिक्षा सेवाबाट १ जना गरी ५ जनालाई ११ औँ तहमा बढुवा गरेको हाे । उक्त ऐन अनुसार प्रदेशमा ११ औँ तहका कर्मचारी प्रदेश सचिव हुने व्यवस्था रहेको छ । स्वास्थ्यतर्फ दीपक तिवारी, वसन्त अधिकारी, डा. अर्जुन प्रसाद सापकोटा र डा. नरेन्द्र कुमार झा तथा शिक्षा सेवा तर्फका दीपेन्द्र सुवेदीलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हाे । अधिकृत ११ औँ तहमा बढुवासँगै पाँचै जनालाई पदस्थापन गर्ने तयारी प्रदेश सरकारले गरेकाे छ।
यसअघि नै प्रदेशको मन्त्रिपरिषद् बैठकले निर्णय गरी उनीहरुलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको थियो ।बढुवा समितिको गत वैशाख ११ गते ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनका आधारमा बढुवाका लागि निर्णय गरिएकाेमा असार २२ गते बढुवा सूचना प्रकाशन भएकाे थियो ।
उक्त सूचनाको विरुद्धमा गत साउन ९ गते उच्च अदालत पाटन हेटौँडा इजलासमा रिट निवेदन दर्ता भएको थियो । निजामती सेवा ऐनसँग बाझिने गरी प्रदेश सरकारले हेल्थ इन्स्पेक्सन र एकीकृत चिकित्सा समूहको बढुवा गरेको भन्दै ९ जनाले उच्च अदालत पाटन हेटौँडा इजलासमा मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले साउन १० गते बढुवाको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएकाे थियो ।उक्त मुद्दामा उच्च अदालत हेटौँडा इजलासले मंसिर १८ गते माग दाबी नपुगेको भन्दै सो रिट निवेदन खारेज गरेकाे हाे । अदालतमा मुद्दा परेपछि रोकिएको बढुवा प्रक्रिया रिट निवेदन नै खारेज भएसँगै मन्त्रिपरिषद् बैठकले ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको हो ।
यस्तै बैठकले बागमती प्रदेश आयोजनाको बहुवर्षे ठेक्का मापदण्ड २०८० कार्यविधि स्वीकृत गरेको छ । उक्त कार्यविधि प्रदेशस्तरीय आयाेजनाकाे बहुवर्षीय योजना र ठेक्कालाई व्यवस्थापन गर्न बनाइएकाे हाे ।

