मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेशकाे प्रथम अधिवेशन आज शुक्रबारबाट हेटौंडामा सुरु हुँदैछ । हेटौंडामा पत्रकार भेटघाट गरी शिक्षक संगठन बागमती प्रदेश समितिले अधिवेशनबारे जानकारी गराएको हो ।
अधिवेशनको शुक्रबार संगठनका राष्ट्रिय समिति अध्यक्ष विष्णु भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । शुक्रबार बिहानबाट सुरु हुने अधिवेशन शनिबारसम्म हुनेछ । अधिवेशनमा प्रदेशभित्रका १३ जिल्लाका करिब ६ सय जना प्रतिनिधि सहभागी हुने संगठनका बागमती प्रदेश समितिले जनाएकाे छ । बागमती प्रदेश समिति अध्यक्ष नीरबहादुर कार्कीका अनुसार अधिवेशनबाट ३५ सदस्यीय बागमती प्रदेश समिति र तीन जना केन्द्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।
प्रदेश कार्यसमिति सकेसम्म सर्वसम्मत चयन हुने बताइएकाे छ । २०३६ सालमा हेटौंडा–४ स्थित भूटनदेवी माविबाट संगठन सुरु भएकोले प्रदेशकाे प्रथम अधिवेशन मकवानपुर जिल्लामा आयोजना गरिएको कार्कीले जानकरी दिए ।
पत्रकार सम्मलेनमा संगठनका प्रदेश समितिका पदाधिकारी र मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहाललगायतको उपस्थिति रहेको थियो ।

