मकवानपुर । बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाल नियुक्त भएका छन् । बागमती प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा नेपाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बुधबारको प्रदेश मन्त्रिपरिषद् बैठकले आयोगको रिक्त उपाध्यक्ष पदमा सिन्धुपाल्चोकका नेपाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले आयोगमा २ सदस्य समेत नियुक्त गरेको छ । आयोगको सदस्यमा काठमाडौँका दीपेन्द्र श्रेष्ठ र काभ्रेका गुणराज मोक्तान नियुक्त भएका छन् । श्रेष्ठ यसअघि पनि आयोगका सदस्य थिए । आयोगमा अझे २ सदस्य रिक्त रहेको छ ।
बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता लामिछानले समाजिक विकास मन्त्रालयको प्रस्ताव र खेलकुद मन्त्रालयको स्वीकृतीमा प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नुवाकोटका दीपक लामालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।
यसैगरी श्रम रोजगार तथा यातायात र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ ।उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको संघीय इकाईको कार्यालयका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्चलाई पनि स्वीकृती प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेश सरकारले राजस्व आम्दानीको क्षेत्र बढाउन अध्ययन समिति गठन गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आम्दानीको स्रोत वृद्धिका लागि अध्ययन समिति गठन गरेको हो ।
चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रमबमोजिन समिति निर्माण गरेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकार गठन भएकाे ७ आर्थिक वर्ष पूरा गर्ने चरणमा रहेको छ । यस अवधिमा सरकारको राजस्व स्रोतहरु संकलनको अवस्था, संकलनमा देखिएका समस्यालगायतका विषयमा मन्त्रालयबाट हालसम्म कुनै पनि अध्ययन भएको छैन । प्रदेशमा राजस्वका नयाँ क्षेत्र पहिचान तथा विस्तारको अध्ययन र विश्लेषणका लागि मन्त्रालयले ४ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयले निर्माण गरेको अध्ययन समितिको कार्यविवरण समेत निर्धारण गरिएको छ । सो समितिले प्रदेशको राजस्व संकलन तथा नयाँ क्षेत्रको अवस्थाबारे अध्ययन तथा विश्लेषण गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्ने छ । राजश्वका सम्भावित नयाँ स्रोतहरुको पहिचान तथा क्षेत्र अध्ययन र विश्लेषण कार्यक्रममार्फत् प्रदेशका १३ जिल्लामा नै राजस्वका विषयमा समितिले छलफल तथा अध्ययन गर्नेछ ।
मन्त्रालयले बागमती प्रदेशको राजस्वसम्बन्धी अध्ययन समिति नामाकरण दिएर गठन गरेको समिति संयोजकमा मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली छन् । यसैगरी समितिको सदस्यमा मन्त्रालयका बजेट योजना तथा कार्यक्रम महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख, राजस्व तथा वित्त व्यवस्थापन महाशाखा प्रमुख, आर्थिक विश्लेषण तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख, कानुन तथा फैसला कार्यान्वयन शाखाका कानुन अधिकृत, आर्थिक विश्लेषण शाखाका प्रतिनिधि रहेका छन् ।
त्यस्तै, राजस्व क्षेत्रमा अनुभव भएका २ जना विज्ञलाई मन्त्रालयले सदस्यमा मनोनित गर्नसक्ने व्यवस्था रहेको छ भने समितिले मन्त्रालयका सचिवको स्वीकृति लिई आवश्यकताअनुसार अधिकतम ३ जनालाई बैठकमा आमन्त्रित सदस्यका रुपमा राख्न सक्नेछ । मन्त्रालयका राजस्व व्यवस्थापन शाखाका राजस्व अधिकृत समितिको सदस्यसचिव रहने व्यवस्था गरिएको छ ।
पहिलो बैठक बसेकेको मितिबाट ७५ दिन (२ महिना १५ दिन) अध्ययनको अवधि रहेको समितिले अध्ययनको क्रममा बैठक,स्थलगत भ्रमण तथा विभिन्न स्थानमा छलफल कार्यक्रम गर्नेछ । राजस्व अध्ययन समितिले प्रदेशको ३ वर्षको क्षेत्रगत राजश्व संकलनको अवस्था विश्लेषण गर्ने कार्य विवरण रहेको छ भने राजश्वको नयाँ सम्भावित क्षेत्र पहिचान गर्नेछ । विभिन्न चरणको छलफलबाट उक्त कार्य अघि बढाउने मन्त्रालयको तयारी रहेको छ ।
समितिले प्रदेश सरकलाई राजस्व प्रदान गर्ने स्थानीय तहहरुको विवरण तयार गरी अध्ययन गर्ने तथा प्रदेश र स्थानीय तहबिच राजस्व बाँडफाँडमा देखिएको समस्या पहिचान समेत गर्नेछ । मन्त्रालयहरुसँग समन्वय तथा सम्बन्धित सरोकारवलाहरुसँग छलफल/अन्तरक्रिया गरी प्रदेश आर्थिक ऐन, २०८१ ले तोकेको राजस्व संकलनमा कार्यालयलाई परेको समस्याहरु पहिचान गर्नेछ । समितिले राजश्व संकलन तथा बाँडफाँडमा देखिएका समस्या समाधानका उपायहरु समेत समेटेर प्रतिवेदन तयार गरी मन्त्रालयसमक्ष पेश गर्नेछ ।
मकवानपुर । हरितालिका तिजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेकाे बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले बताएका छन् । नेपाली महिलाको महान् पर्व हरितालिका तिज २०८१ को पावन अवसरमा शुभकामना सन्देश दिंदै उनले यस्ताे बताएका हुन् ।
‘तीजकाे अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिकाे शुभकामना व्यक्त गर्दछु’ उनले सन्देशमा भनेका छन् । हरितालिका तिजलाई नेपाली महिलाले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन् । ‘भाद्र शुक्लपक्ष तृतीया तिथीका दिन पर्ने यस पर्वको अवसरमा सम्पूर्ण दीदी, बहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु’ प्रदेश प्रमुख देवकाेटाले भनेका छन् ‘यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बिचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु-याइरहेका छन् ।’
उनले शुभकामना सन्देशमा भनेका छन् ‘हरितालिका तिजले सम्पूर्ण नेपाली महिलाहरुलाई समाजमा विद्यमान लैंगिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । मौलिक संस्कृति र परम्पराहरूलाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी यो चाड मनाउनु हुनेछ भन्ने आशा गर्दछु ।’
मकवानपुर । आज (२१ भदौ), आजैबाट चेपाङको न्वागी पर्व सुरु भएको छ । पर्वको अवसरमा बागमती प्रदेशको ३ जिल्ला र गण्डकी प्रदेशको ३ जिल्लाका चेपाङहरु गोरखा जिल्लामा भेला हुँदै छन् ।
यसपटक संयुक्त रुपमा गोरखा जिल्लामा यो पर्व मनाउने तयारी पुरा भएका छ । २१ भदौबाट सुरु हुने यो पर्व २२ गते मुख्य रुपमा मनाइन्छ ।बागमती प्रदेशको मकवानपुर, चितवन र धादिङमा रहेका चेपाङहरु गण्डकी प्रदेशको गोरखा, तनहुँ र लमजुङ जिल्लाका चेपाङले सामुहिक रुपमा पर्व मनाउन लागेका हुन् । गत वर्ष बागमतीका ३ जिल्लाका चेपाङहरुले धादिङ जिल्लाको गजुरी गाउँपालिकामा भेला भएर सयुक्त रुपमा पर्व मनाएका थिए । यसपालि भने २ वटा प्रदेशवासीले एकै थलोमा भेला भएर पर्व मनाउन लागेका हुन् ।
यस पटक गण्डकी प्रदेशको गोरखा जिल्ला, गण्डकी गाउँपालिका ६ मा रहेको तुमनडाँडा माविको प्राङ्गणमा सामुहिक रुपमा न्वागी मनाउन लागिएको हो । सामुहिक पर्व मनाउँदाको सम्पूर्ण खर्च गाउँपालिकाले नै व्यवहोर्ने तयारी भएको चेपाङ अगुवा तथा पूर्व साभासद् गोविन्दराम चेपाङले बताए । सामुहिक पर्व मनाउनको लागि लगभग ८ देखि १० लाख खर्च अनुमान गरिएको थियो । गतवर्ष पनि धादिङको गजुरी गाउँपालिकाले ८ लाख खर्च व्यहोरेको थियो ।
तुमनडाँडा माविको प्राङ्गणमा भेला हुने छन् भने चेपाङ केन्द्रीय समितिले आयोजनाको अन्य पाटो हेर्ने तयारी भएको छ । यहाँ झण्डै १ हजार ५ सयको हाराहारीमा चेपाङहरुको उपस्थिती रहने छ । स्थानीय मगर, गुरुङ समुदायहरुको पनि उपस्थिती हुने बताइएको छ । पर्व मनाउनको लागि भोज र पूजा सामग्रीको जोहो भइसकेको छ । सामुहिक भोजमा मासु भात खाइनेछ । यसको लागि चामल र मासुको लागि राँगो र सुङगुरको तयारी भएको छ । पूजाको लािग फलफूलमा काँक्रो, अमिलो गाभा मकै आदि आदिको तयारी भएको छ ।
सामुहिक पूजामा सहभागी प्राय सबैले ढ्याङग्रो ठोक्ने चेपाङ अगुवा तथा पूर्व साभासद् चेपाङले बताए । उनका अनुसार पूजामा कम्तिमा ७ जना झाक्री (पाण्दे) पुरेतको पनि व्यावस्था हुँदैछ । उनका अनुसार पर्व मनाउनकै लागि ६ वटा जिल्लाबाट कम्तिमा एक हजार जना चेपाङको उपस्थिती रहने छ । चेपाङहरुको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिने गरेको छ । यद्यपि यसवर्ष न्वागीको मुख्य दिन शानिबार परेको छ ।
यो वर्ष नयाँ अन्नबाली, फलफूल पाकेपछि विशेष पूजा गर्दै प्रकृतिलाई चढाएरमात्रै आफूले खाने गरिन्छ । यो चेपाङ समुदायको लागि नयाँ वर्ष पनि हो । केही वर्षयता नेपाल चेपाङ संघको पहलमा २२ भदौलाई छोनाम राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । यो दिन चेपा·हरुले घैया धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गर्दछन् ।
आपसी भातृत्व र मित्रताको पर्वको रुपमा समेत लिइने पर्वमा चेपाङहरुले छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । सांस्कृतिक रूपमा चेपाङ चेपुवामा परेको बताउँदै आएता पनि यो पर्वको विशेष महत्व दिने गरेको मकवानपुरका चेपाङ अगुवा तथा पूर्व साभासद् गोविन्दराम चेपाङले बताए ।
गाउँघरमा न्वागीका दिन चेपाङ झाँक्री (पान्दे) हरुले रातभर ढ्याङग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन न्वागी फलाक्ने झाँक्रीहरुका अलावा अन्य मानिसहरु भने सांस्कृतिक नाच र गीतहरु प्रस्तुत गर्ने गर्दछन् । यो दिन उनीहरुले कुखुराका बली समेत दिने गर्छन् ।
२१ गते साँझबाट ढ्याङग्रो फलाक्न सुरु गरिन्छ । सामान्यत जनैपूर्णिमाको दिनदेखि पान्देले ढ्याङ्ग्रो फलाक्ने कार्य सुरु हुन्छ । चेपाङ समुदायमा रहेका ७२ गोत्रहरुको भदौ महिनाको विभिन्न तिथिमा ढ्याङ्ग्रो ठोक्ने पूजा सुरु हुन्छ । २१ गते साँझबाट सुरु हुने ढ्याङग्रो ठोक्ने काम भने न्वागी सुरु भएको विशेष सूचक मानिन्छ ।
दिउँसोदेखि विशेष पूजा सुरु हुने र रातभर झाक्री (पान्दे) द्वारा पितृ पुजा रातभरि भोलीपल्ट विहान ‘बारना’ गरेर चाड समापन गरिन्छ । मकवानपुर जिल्लामा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा मात्रै चेपाङको बसोबास रहेको छ ।
नेपालमा मकवानपुर, धादिङ, चितवनलगायत २६ जिल्लामा चेपाङको बसोवास छ । वि.स २०७८ को जनगणना अनुसार नेपालमा ८४ हजार ३ सय ६४ ले जना चेपाङ छन् । जातिगत हिसाबले जिल्लामा १३ औं स्थानमा चेपाङ जातिको बसोबास रहेको छ । यसैबीच यो पर्वको अवसरमा मकवानपुरको मनहरी गाउँपालिकाले भने २१ गते पनि सार्वजनिक बिदा दिएको थियो ।
भड्कीलो बन्दै न्वागी
विभिन्न पर्वहरु भड्कीलो र खर्चिलो बन्दै आएको गुनासाहरु एकातिर सुन्ने गरीन्छ भने, अर्कोतिर समयको माग भएको दाबि सुन्ने गरिन्छ । जातीय पर्वको महत्व घरघरमै हुन्छ तर सामुहिक पर्वको नामम विभिन्न स्थानमा भेला भएर पर्व मनाउने परिपाटीको कारण न्वागी पनि सर्वसाधारणको पहुँचबाट बाहिरीदै छ ।
चेपाङ संघ गाउँ कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीहरुमा नेतृत्व गरिरहेका अगुवाहरुले नै सामूहिक पर्वलाई प्राथमिकता दिंदै गर्दा न्यून जीवनस्तर बाँचिरहेका चेपाङहरुले भने पर्व मनाउनै समस्या भोग्दै आएको चमेली चेपाङले बताइन् ।
घरघरमै पनि आफ्नो गच्छे अनुसार पर्व मनाउन र पर्वको मर्म बचाइराख्न आफूहरु लागि परेको ३४ वर्षिय रविना प्रजाले बताउँछिन् । “सामूहिक रुपमा मनाउने कार्यक्रममा सबैको सहभागीता संभव छैन, आफ्नो परम्परा त आफूले घरैमा मनाएर बचाउँने हो, हामी घरघर मै क्षमता अनुसार मनाउँछौ” रविनाले भनिन् ।
नेपाल सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । सूचीकृत आदिवासीमध्ये चेपाङ अति सिमान्तकृत समुदायमा पर्छ । चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृंखला वरिपरिको रैथाने वासिन्दा मानिन्छन् ।
चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ । भूमिसँग अति निकट सम्बन्ध रहेको चेपाङ जातिभित्र माटोको बनोटको आधारमा उनीहरूको थर, उपथरहरूको वर्गीकरण भएको पाइन्छ ।
जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ । उनीहरूको मूलथलो गाउँघर, खोलानाला, भीरपहरा आदिको नाम चेपाङ भाषाबाटै राख्छन् । चेपाङ जातिको चिनारी (२०६७) पुस्तकमा उल्लेख भए अनुसार बागमती प्रदेशको चितवन र धादिङको सिमानामा रहेको कान्द्राङगढी र चितवनको उपरदाङगढी चेपाङ वंशको ऐतिहासिक थलो हो ।
खास गरेर दामनदेखि पश्चिम त्रिशूलीसम्मका पर्वतको उत्तर र दक्षिण पाटो भिरालो पाखा, जंगल र नदीतिर प्रायःजसो फैलिएर बसेको क्षेत्र हो । इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास छ ।
चेपाङ बाहुल्य जिल्लामध्ये सबैभन्दा धेरै चितवनमा छन् यहाँ कुल जनसंख्यामामा चेपाङको संख्या सातौं स्थानमा छ ।
इच्छाकामना, चितवन । नेपाली महिलाहरुको तीज पर्वकाे देश परिवर्तनका निम्ति महत्वपूर्ण भूमिका रहेको बागमती प्रदेशका वन तथा वातवारणमन्त्री कृष्ण सिलवालले बताएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिकाले कुरिनटारमा आयोजित तीजगीत प्रतियोगितालाई सम्बोन्धन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली महिलाहरुको महान पर्व तीज सांस्कृतिक पर्व मात्र नभई परिवर्तनसँग जोडिएर आउने पर्व भएकाे उनले बताए । ‘हिजोका दिनमा चेलीहरु माइत आएको बेला आफ्नो दुःख, वेदना तीजको गीतमार्फत पोख्ने सांस्कृतिक चलन रहेको थियाे’ उनले भने ‘समाज परिवर्तन र देश परिवर्तनका लागि जनतालाई जागरुक बनाउन पनि तीजगीतहरु गाइने गरेकोले देश परिवर्तनका निम्ति पनि यो पर्वको महत्वपूर्ण भूमिका रहेको छ ।’
तीजगीतकै माध्यमबाट समाजमा राजनैतिक चेतना फैलाउन महिलाहरुले योगदान पुर्याएकोले देशमा परिवर्तन आउन सम्भव भएको उनले बताए । उनले स्थानीय जनताको सकारात्मक परिवर्तनका लागि आफू सदैव लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे । इच्छाकामना गाउँपालिका मन्त्री सिलवालकाे गृह पालिका समेत हाे ।