मकवानपुर । बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेकाे छ । प्रदेश सरकारले आइतबार पत्रकार सम्मेलन मार्फत न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रदेश सरकारले सुशासनको प्रत्याभूति दिलाउने, संघीयताको प्रभावकारी कार्यान्वयन गर्न समन्वय गर्ने, स्थानीय तहसँग सहकार्य गर्ने लगायतका ६७ बुँदामा रहेकाे साझा कार्यक्रम सार्वजनिक गरेको हाे ।
भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्न, भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने,संविधानमा आवश्यक संशोधन गर्न र कानुन निर्माण गर्न संघीय सरकारलाई सहयोग गर्ने प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गरिएको छ । प्रदेश प्रहरी स्थापना गर्ने, प्रदेश सरकारका मन्त्रालयहरुका प्रदेश सचिवहरु र स्थानीय तहका प्रशासकीय अधिकृतहरु प्रदेश सरकारले खटाउने व्यवस्था गर्ने, फजुलखर्च कटौती गरी आर्थिक अनुशासनलाई कडाइका साथ पालना गर्ने सरकारको न्यूनतम साझा कार्यक्रम रहेको छ ।
संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघीय सरकारसँग सहकार्य र समन्वय गर्ने, प्रदेश योजना बैंक स्थापना गर्ने, ललितपुर महानगरलाई हस्तकलाको राजधानी घोषणा गर्ने, रुग्ण उद्योगहरुको प्राविधिक र आर्थिक सम्भाव्यताको आधारमा पुनः सञ्चालन गर्न संघीय सरकारसँग आवश्यक समन्वय गर्ने सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश छ ।
एक प्रदेश निर्वाचन क्षेत्र, एक स्थानीय कच्चा पदार्थमा आधारित घरेलु उद्योग स्थापना गर्ने, हेटौंडा–टेकु रज्जुमार्ग (रोप–वे) पुनः सञ्चालनमा ल्याउने, स्थानीय तहसँग सहकार्य गरी भूमि बैंक स्थापना गर्ने, ‘जनताको जिज्ञासा सुझाव र गुनासा प्रदेश सरकारलाई सिधा फोन’ कार्यक्रम गर्न सञ्चालनमा ल्याउने, एक जिल्ला एक उत्पादन क्षेत्र घोषणा गर्ने सरकार ल्याएकाे साझा कार्यक्रममा छ ।
प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामा, सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया,आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले,आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछाने तथा प्रदेश सभा सदस्यहरुको उपस्थितिमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । सरकारमा नरहेता पनि राप्रपाले न्युनतम साझा कार्यक्रममा सहमित जनाएको छ ।
हेर्नुहाेस साझा कार्यक्रम
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारले संविधानको व्यवस्था अनुसार सबै नागरिकको भाषा सम्बन्धी अधिकारलाई सुनिश्चित गरेको छ बताएका छन् ।
भाषा आयोगले हेटौंडामा आयोजना गरेको सरकारी कामकाजमा मातृभाषाः वार्षिक शिक्षाको नमूना विकास सम्बन्धी सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् । संघीयताको आलोचना भइरहेको समयमा नागरिकको अपनत्व हुनेगरी प्रदेश सरकारले सरकारी कामकाजी भाषा सम्बन्धी ऐन जारी गरेको उनले बताए ।
‘प्रदेशमा बोलिने भाषा तथा संस्कृतिको संरक्षणमा सरकार गम्भीर रहेको छ । प्रदेशमा बोलिने सबै भाषाहरूलाई सन्तुलित रूपमा विकास र सम्वर्द्धन गर्नुपर्छ’ उनले भने । ‘सरकारले संविधानको व्यवस्था अनुसार सबै नागरिकको भाषा सम्बन्धी अधिकारलाई सुनिश्चित गरेको छ’ उनले भने ‘प्रदेश सरकारले बहुसंख्यक नागरिकले बोल्ने तामाङ्ग र नेवार भाषालाई सरकारी कामकाजमा लागू गरेको छ ।’
प्रदेश सरकारले भाषा ऐन कार्यान्वयनका लागि पहिलो चरणमा प्रदेशसभामा २ वटा दरबन्दी सृजना गरी अनुवादक नियुक्त गर्ने र भाषा अनुवाद यन्त्र खरिद तथा एप्लीकेशन निर्माणको तयारीमा रहेको उनले बताए ।
कार्यक्रममा प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले प्रक्रियागत रूपमा प्रदेश सरकारले भाषा सम्बन्धी ऐनका व्यवस्थाहरूलाई कार्यान्वयनमा अघि बढ्ने उनको भनाई छ । संघीयताको सबल पक्षको रूपमा रहेको भाषा सम्बन्धी अधिकार आम नागरिकमा पुर्याउन प्रदेश सरकारले भूमिका खेल्ने उनले बताए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा चाडपर्व लक्षित सवारी दुर्घटना न्युनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रम संचालन गरिएकाे छ ।
प्रदेश प्रहरी कार्यालय हेटौडाले आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेकाे उपस्थिति बिहीबार कार्यक्रम सुरु गरिएकाे हाे । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मातहत रहेका १० जिल्लाबाट एकैपटक चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरूसँगको प्रतिवद्धता कार्यक्रम सुरु गरिएको हो ।
मकवानपुरको हेटौँडालगायत बागमती प्रदेशका ९ जिल्लाहरुमा पनि उक्त अभियान संचालन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार सवारी चालकहरूलाई सिकाउने, अनुभव गराउने, जानकारी गराउने, प्रतिवद्धता गराउने र आफ्नो सुरक्षाबारे जानकारी गराउने सचेतनामूलक कार्यक्रम हो ।
सार्वजनिक सवारी साधनहरूको हकमा जिल्लास्थित बसपार्कहरुमा रहेका सवारी चालकहरुलाई र मोटरसाइकल चालकहरूको लागि प्रत्येक जिल्लाका राजमार्गको सुरक्षित तथा उपर्युक्त स्थानमा चालकहरूलाई ट्राफिक प्रहरीहरूबाट निरन्तर रूपमा जानकारी गराइने प्रवक्ता बस्नेतले जानकारी दिए । ‘ट्राफिक जरिवाना नगरी विशुद्ध रूपमा सवारी चालकहरूलाई सुरक्षित यात्रा के कसरी गर्न सकिन्छ, सडक/ट्राफिक नियम पालना गर्न स्वयं सचेत गराई सवारी दुर्घटना न्यूनीकरण गराउनु कार्यक्रमको उद्देश्य हाे’ उनले भने ।
मकवानपुर । संबिधान दिवसकाे अबसरमा अपाङता भएका व्यक्तिहरुलाई कृतिम खुट्टा र ह्विल चेयर वितरण गरिएको छ । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा बागमती प्रदेश स्वास्थ मन्त्री किरण थापाले नि:शुल्क कृतिम खुट्टा र ह्विल चेयर वितरण गरेका हुन् ।
प्रदेश स्वास्थ्य मन्त्रालय,सामाजिक बिकास मन्त्रालय,मारवाडी सेवा समिति नेपाल र पशुपती गौशाला धर्मशालाद्वारा संयुक्त रुपमा काठमाडौ आयोजना गरिएकाे कार्यक्रममा ७ जनालाई ९ वटा कृतिम खुट्टा र ६ जनालाई व्हिल चेयर वितरण गरिएको थियाे ।
मन्त्री थापाले मानवीय सेवामा बागमती प्रदेश सरकार सदैव तत्पर रहेको बताए । खुट्टा नभएकै कारण धेरै नै कष्ट खेप्नुपरेको महसुस गर्दै सहकार्य गरी यस्ता सामग्री बितरण गरिएको उनले जानकारी दिए । ‘सहयोग सानै भएपनि कहिलेकाही ठुलो हुन्छ’ मन्त्री थापा भने ‘कृतिम खुट्टा वितरण पछि उहाँहरुको जीवन सहज हुने विश्वासका साथ यो कार्यक्रम अगाडि बढाइएको हो ।’
मारवाडी सेवा समिति र पशुपति गौशाला धर्मशालासँग निशुल्क शवबाहन संचालन, विभिन्न अस्पतालमा प्रति छाक ४० रुपैयाँँमा खाना खुवाउने कार्यको पनि सम्झौता हुने क्रममा रहेको उनले जानकारी दिए । यस्तै शुद्ध पिउने पानीको लागि अस्पतालमा ४ लाख बराबरको वाटर प्युरिफायर समेत राख्ने तयारी भएको मन्त्री थापाले बताए । मारवाडी समिति र धर्मशालाले मानवीय सेवामा पुर्याएकाे विभिन्न कार्यको मन्त्री थापाले प्रशंसा गरे । मानवले दान भन्दा मानव उत्थानको सेवा गर्नु नै मुख्य धर्म रहेको उनले बताए । उनले मानवसेवाबाट पाएको आशीर्वादले मन आनन्द हुने भन्दै सबैमा सेवाभाव जागृत हुनुपर्ने बताए ।
कार्यक्रम पशुपति गौशाला धर्मशालाका अध्यक्ष रमेश तपडियाको अध्यक्षतामा भएको हो ।
मकवानपुर । बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक विजेता पलेशा गोवर्द्धनलाई हेटौंडा नगर परिक्रमा गराए सम्मान गरेकाे छ । प्रदेश सरकारले पलेशालाई प्रदेश राजधानी हेटौंडा परिक्रमा गराएर १० लाख रुपैयाँसहित सम्मान गरेकाे हाे ।
संविधान दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रदेश सरकारले पलेशालाई १० लाख रुपैयाँ नगदसहित सम्मान गरेकाे हाे । यसैगरी पलेशाका प्रशिक्षक कविराज नेगीलाई ३ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई ३ लाख रुपैयाँ प्रदान गरिएकाे छ ।
त्यस्तै १९ औं एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाख रुपैयाँसहित सम्मान गरिएकाे छ । एरिकाले एसियाडमा महिला ६८ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् । एरिकाले २५ वर्षपछि नेपाललाई करातेमा रजत पदक दिलाएकी हुन् ।
यसअघि सन् १९९८ मा बैंककमा भएको १३ औं एसियाली खेलकुदमा तेक्वान्दोकी सविताले नेपालका लागि पहिलो पटक रजत दिलाएकी थिइन् ।प्रदेश सरकारले एरिकाको प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख रुपैयाँ र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई २ लाख रुपैयाँ प्रदान गरेकाे छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, खेलकुद मन्त्री मीनकृष्ण महर्जनले उनीहरुलाई नगरसहित सम्मान गरेका थिए ।