मकवानपुर । मकवानपुरकाे हेटौंडामा चाडपर्व लक्षित सवारी दुर्घटना न्युनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रम संचालन गरिएकाे छ ।
प्रदेश प्रहरी कार्यालय हेटौडाले आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेकाे उपस्थिति बिहीबार कार्यक्रम सुरु गरिएकाे हाे । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मातहत रहेका १० जिल्लाबाट एकैपटक चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरूसँगको प्रतिवद्धता कार्यक्रम सुरु गरिएको हो ।
मकवानपुरको हेटौँडालगायत बागमती प्रदेशका ९ जिल्लाहरुमा पनि उक्त अभियान संचालन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार सवारी चालकहरूलाई सिकाउने, अनुभव गराउने, जानकारी गराउने, प्रतिवद्धता गराउने र आफ्नो सुरक्षाबारे जानकारी गराउने सचेतनामूलक कार्यक्रम हो ।
सार्वजनिक सवारी साधनहरूको हकमा जिल्लास्थित बसपार्कहरुमा रहेका सवारी चालकहरुलाई र मोटरसाइकल चालकहरूको लागि प्रत्येक जिल्लाका राजमार्गको सुरक्षित तथा उपर्युक्त स्थानमा चालकहरूलाई ट्राफिक प्रहरीहरूबाट निरन्तर रूपमा जानकारी गराइने प्रवक्ता बस्नेतले जानकारी दिए । ‘ट्राफिक जरिवाना नगरी विशुद्ध रूपमा सवारी चालकहरूलाई सुरक्षित यात्रा के कसरी गर्न सकिन्छ, सडक/ट्राफिक नियम पालना गर्न स्वयं सचेत गराई सवारी दुर्घटना न्यूनीकरण गराउनु कार्यक्रमको उद्देश्य हाे’ उनले भने ।

