मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
सोमबारको लागि बोलाईएको प्रदेश सभा विश्वासको मत प्राप्त हुने अवस्था नभएपछि ३ पटक सारियो तर पनि संभव भएन । अन्ततः मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विभिन्न अफ्ठ्याराहरूको बिच विश्वासको मत लिएका हुन् ।
उपसभामुख अप्सरा चापागाईंका अनुसार मुख्यमन्त्री थापालाई विश्वासको मतको पक्षमा ५७ र विपक्षमा शून्य मत परेको छ । थापालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २६ र नेकपा एमालेका २४ र राप्रपाका ७ जना सांसदले विश्वासको मत दिएका हुन् ।
राप्रपाका उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज बज्राचार्य र मोनिका श्रेष्ठले विश्वासको मत दिएका छन् । यसअघि सरकार गठन र मुख्यमन्त्री थापालाई विश्वासको मत दिने सम्बन्धमा राप्रपा विभाजित बनेको थियो ।
प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेका दल नेता थापासहित मन्त्री बनेका ३ जनालाई राप्रपा केन्द्रले कारबाहीसमेत गरेको छ । उनीहरू चार जनालाई पदमुक्त गर्न राप्रपाले सोमबार प्रदेश सभा सचिवालयलाई पत्राचारसमेत गरेको थियो । राप्रपाका १२ जना सांसदमध्ये ७ जना सरकारको पक्षमा उभिएकाले नेता थापा संसदीय दलमा बहुमतमा रहेका छन् ।
प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रदेश सभा बैठक बहिष्कार गरेको छ । सरकार गठनविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलासमा रिट परेको र रिट उपर सोमबार न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।
साथै, रिट निवेदक पक्ष र सरकार पक्षलाई अलालतले १० भदौमा छलफलका लागि बोलाएको छ । सरकार गठनकै विषय अदालतमा विचाराधीन रहेका बेला विश्वासको मत लिन लागिएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक रोक्न माग गर्दै आएको थियो ।
कांग्रेसका प्रमुख सचेतक महर्जनले आज विज्ञप्ति जारी गर्दै प्रदेशसभा बैठकमा अनुपस्थित रहन आफना ३६ जना सांसदलाई ह्वीप जारी गरेका थिए ।
यसैगरी, विपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद पनि बैठकमा अनुपस्थित भए । १०४ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ५३ जना सांसदको समर्थन आवश्यक थियो ।
मुख्यमन्त्री थापा गत ४ भदौमा एमाले, नेकपा र राप्रपाको समर्थनमा बागमतीको मुख्यमन्त्री नियुक्त भएका थिए । थापाले विश्वासको मत पाएसँगै तत्कालका लागि सरकारमाथि देखिएको संवैधानिक संकट टरेको छ ।
मकवानपुर । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले भदौ ८ गते सोमबार १ बजे संसदबाट विश्वासको तय भएकाे हाे ।
एमाले, नेकपा र राप्रपाको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्ति भएका थापाले विश्वासको मत लिन संसद सचिवालयलाई पत्राचार गरेका छन् । नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकारको नेतृत्व गरेका थापालाई बिहीबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।
मुख्यमन्त्री थापाले आगामी भदौ ८ गते विश्वासको मत लिने भएपछि प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै भदौ ८ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइएको जनाएकाे छ । भदौ ८ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने सम्बन्धी कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
उपसभामुख अप्सरा चापागाईंले प्रदेश सभाको आठौं अधिवेशनको १८ औं बैठक बस्ने गरी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम सोमबार दिनको १ बजेको समय निर्धारण गरेका हुन् । उक्त बैठकमा मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतको प्रस्ताव पेस हुने बताइएकाे छ ।
मुख्यमन्त्रीमा नियुक्ति भएको १ महिना भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यबस्था छ ।

बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको किरण थापा मगरको जीवन छोटो चर्चा
मुख्यमन्त्री किरण थापा मगरको जन्म वि.सं. २०३३ साल भदौ १४ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा भएको हो। उहाँका पिता भैरवबहादुर थापा मगर र माता ललिता थापा मगर हुनुहुन्छ। सामान्य पारिवारिक पृष्ठभूमिमा जन्मिनुभएका मुख्यमन्त्री थापा मगर वि.सं. २०४७ सालदेखि नै राजनीति तथा सामाजिक सेवामा निरन्तर सक्रिय हुनुहुन्छ। उहाँको शैक्षिक योग्यता आइए तहसम्मको रहेको छ।
राजनीतिक तथा नेतृत्व अनुभव
मुख्यमन्त्री किरण थापा मगर नेकपा (एमाले) को भक्तपुर जिल्ला कमिटी सदस्य हुँदै हाल जिल्ला कमिटी उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ। उहाँ वि.सं. २०७४ सालमा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो। वडाध्यक्षको कार्यकालमा उहाँले सूर्यविनायक नगरपालिकाको सामाजिक विकास समितिको संयोजकको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो। वि.सं. २०७९ सालमा भक्तपुर निर्वाचन क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो।
उहाँले वि.सं. २०८१ साल साउन ९ गतेदेखि २०८३ साल असारसम्म बागमती प्रदेशको स्वास्थ्य मन्त्रीका रूपमा दुईपटक जिम्मेवारी सम्हाल्नुभएको थियो। जनप्रतिनिधि तथा मन्त्रीका रूपमा उहाँले स्वास्थ्य, सामाजिक विकास, युवा तथा रोजगारीका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।
सामाजिक सेवा तथा संघसंस्थामा संलग्नता
मुख्यमन्त्री थापा मगर सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्छ। केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण समितिमा सचिव, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षसम्मको जिम्मेवारी सम्हाल्नुभएको उहाँ विभिन्न सामाजिक तथा धार्मिक संस्थामार्फत समुदायसँग निरन्तर जोडिनुभएको छ।
उहाँ नेपाल रेडक्रस सोसाइटीको एस्कर सदस्य हुनुका साथै नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सभापति पदमा तीन कार्यकाल र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको उपसभापति पदमा दुई कार्यकाल रहनुभएको छ। त्यस्तै, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष तथा विभिन्न खेलकुद र युवा क्लबहरूको संरक्षकका रूपमा समेत उहाँले जिम्मेवारी निर्वाह गर्नुभएको छ।
उहाँ सिपाडोल क्षेत्र परोपकार समाज, सूर्यविनायक नगरपालिका–८, सिपाडोलका संरक्षक तथा आफ्नो घर आश्रम, सूर्यविनायक नगरपालिका–८, सिपाडोलका विशेष संरक्षकका रूपमा सामाजिक सेवामा संलग्न हुनुहुन्छ।
रोजगारी तथा आर्थिक योगदान
निजी व्यवसायमार्फत मुख्यमन्त्री थापा मगरले ५०० भन्दा बढी नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारीको अवसर उपलब्ध गराइरहनु भएको छ। उहाँ युवा स्वरोजगारका लागि तालिम, सहजीकरण तथा लगानी प्रवर्धनका क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएको छ।
वडाध्यक्षका रूपमा कार्यरत रहँदा उहाँले आफूलाई प्राप्त हुने सरकारी भत्ता, पेट्रोल, फोनलगायतका सेवा–सुविधा नलिई सार्वजनिक सेवामा उदाहरण प्रस्तुत गर्नुभएको थियो। वडाबाट प्राप्त सेवा–सुविधाबाट बचत भएको रकमसमेत सामाजिक हितमा प्रयोग गर्दै उहाँले १५ लाख बराबरको अक्षय कोष स्थापना गर्नुभएको थियो। उक्त अक्षय कोष हाल ४० लाख पुगेको छ।
विपद् तथा महामारीका समयमा नेतृत्व
मुख्यमन्त्री थापा मगरले विभिन्न विपद्का समयमा अग्रपंक्तिमा रहेर उद्धार तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ। वि.सं. २०७२ सालको विनाशकारी भूकम्प तथा वि.सं. २०७५ सालको हनुमन्ते बाढीका क्रममा उहाँ उद्धार तथा राहत कार्यमा अग्रपंक्तिमा खटिनुभएको थियो।
कोरोना महामारीका समयमा समेत उहाँले संक्रमित तथा प्रभावित नागरिकको सहयोगमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। निःशुल्क पीसीआर परीक्षणको व्यवस्था तथा समन्वयमा सक्रिय रहनुभएका उहाँले संक्रमितहरूका लागि घरमै अक्सिजन तथा औषधि पुर्याउने, टोल–टोलमा स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गर्ने र १०० शैयाको क्वारेन्टाइन स्थापना गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। त्यस्तै, अलपत्र परेका तथा घर फर्किन चाहने श्रमिकहरूका लागि यातायातको व्यवस्थासमेत मिलाउनुभएको थियो।
सामान्य पारिवारिक पृष्ठभूमिबाट सामाजिक सेवा हुँदै सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका किरण थापा मगरले स्थानीय तहको नेतृत्वदेखि प्रदेश सभा सदस्य तथा प्रदेश सरकारको मन्त्रीसम्मको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। जनप्रतिनिधिका रूपमा स्थानीय विकास, सामाजिक सेवा, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा सक्रिय रहनुभएका उहाँले विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वमार्फत समेत समुदायसँग नजिक रहेर काम गर्दै आउनुभएको छ। राजनीतिक तथा सामाजिक यात्रामा प्राप्त अनुभवलाई प्रदेशको विकास, जनसेवा र सामाजिक रूपान्तरणमा उपयोग गर्ने उहाँको प्रयास निरन्तर रहँदै आएको छ।
७ सदस्यीय मन्त्रिमण्ल बिस्तार, राप्रपा संसदीय दलका नेता उद्धव थापा पार्टी सदस्यसमेत नरहने गरी निष्काशित, कमल थापाको आपत्ति
मकवानपुर । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त हुनु भएको छ । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी -नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । नेपालको संविधानको धारा १६८-२) अनुसार थापालाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
नियुक्ति लगत्तै प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले मुख्यमन्त्री किरण थापा मगरलाई पद तथा गोपनियताको सपथ गराउनु भएको छ । संविधानको धारा १६८ को उपधारा -२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई ४ भदौ बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस आव्हान गर्नु भएको थियो । बुधबार दाबी पेश गरिए अनुसार नै थापा नियुक्त हुनु भएको हो । १०४ जना सभासद रहेको बागमतीमा थापाले तीन दलका ६३ जनाको समर्थनमा बुधबार दाबी पेस गरेका थियो ।
सपथ ग्रहण कार्यक्रम बागमती प्रदेश उपसभामुख अप्सरा चापागाइ, प्रथम मुख्यमन्त्री डारमणि पोेडेल, प्रदेश प्रमुख सचिव कमल प्रसाद भट्टराई, पुर्व मुख्यमन्त्री शालिकराम जमर्कटेल, प्रदेश सभा सचिव रामकुमार पौडेल, प्रदेश महान्यायाधिवक्ता अप्सरा बस्नेत, नेकपा एमाले प्रदेश इन्चार्ज महेष बस्नेत, नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगनाथ थपलिया, सुरक्षा निकायका प्रदेश स्तरिय प्रमुखहरु, सुरक्षा निकायका जिल्ला प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रदेमा नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री, नेकपा एमालेबाट भरत केसी भौतिक तथा पुर्बाधार मन्त्री र ज्ञान बहादुर तामाङ विना विभागिय मन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा) बाट राजु विष्ट खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री, राजेन्द्र प्रजापति उधोग पर्यटन श्रम तथा रोजगार मन्त्री, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रीमा नियुक्त भइ सपथ लिएका छन् ।
नयाँ सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर राप्रपाभित्र पनि विवाद भएको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपाले पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिसकेको छ। पार्टीको केन्द्रीय निर्देशनबीना प्रदेश संसदीय दलबाट गरिएको निर्णय पार्टीको आधिकारिक निर्णय नभएको भन्दै केन्द्रले असहमति जनाएको थियो। यद्यपि राप्रपाले आफ्नो समर्थन यथावत रहेको बताएको छ ।
राप्रपाले प्रदेशमा कुनै दललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पार्दै राप्रपा केन्द्रले बुधवार नै प्रदेश प्रमुख देवकोटालाई पत्र पठाएको थियो। प्रदेश प्रमुख कार्यालयले भने आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको नियुक्ति र शपथ कार्यक्रम तय गरेको जानकारी गराएको थियो।
२०७४ मंसिरदेखि दोस्रो कार्यकालको अन्तिम वर्षसम्म आइपुग्दा बागमती प्रदेश सभाको पहिलो कार्यकालमा एमालेबाट २०७४ मा डोरमणि पौडेल, ०७८ मा अष्टलक्ष्मी शाक्य, एमाले विभाजनपछि बनेको तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट ०७८ सालमा नै राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री भए। दोस्रो कार्यकालमा ०७९ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल, कांग्रेसबाट ०८१ मा बहादुर सिंह लामा, कांग्रेसबाटै ०८२ मा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री भएका हुन्।
राप्रपा भित्र किचलो
नयाँ सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर राप्रपाभित्र भने विवाद भएको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपाले पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिसकेको छ।
पार्टीको केन्द्रीय निर्देशनबीना प्रदेश संसदीय दलबाट गरिएको निर्णय पार्टीको आधिकारिक निर्णय नभएको भन्दै केन्द्रले असहमति जनाएको थियो। यद्यपि राप्रपाले आफ्नो समर्थन यथावत रहेको बताएको छ । राप्रपाले प्रदेशमा कुनै दललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पार्दै राप्रपा केन्द्रले बुधवार नै प्रदेश प्रमुख देवकोटालाई पत्र पठाएको थियो।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा)का नेता कमल थापाले बागमती प्रदेश सभाका सदस्य एवं संसदीय दलका नेता उद्धव थापालाई गरिएको कारबाहीप्रति आपत्ति जनाएका छन् । बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले उद्धव थापालाई जबरजस्ती कारबाही गरेको भन्दै असहमति रहेको बताउनु भयो ।
संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीको निर्णय पार्टीको विधि, विधान र पद्धति विपरीत हतारमा र जबरजस्ती लादिएको कमल थापाले बताउनु भयो ।
æविस्तृत रुपले छानबिन गरी विगतमा भएका त्रुटि र कमजोरीलाई समेत सच्याउँदै अध्ययन गरेर समिति बनाएर अध्ययन गरौं र त्यो समितिको प्रतिवेदन अनुसार जे जस्तो निर्णय गर्नुपर्छ गरौं भनेर हामीले आग्रह गर्यौं उहाँले भन्नुभयो । यसै सवालमा आफू लगायत केही नेताहरूले उक्त निर्णयको विपक्षमा लिखित रूपमै फरक मत दर्ता गराएको कमल थापाले जानकारी दिनुभयो ।
‘हामी केहीले नोट अफ डिसेन्ट राखेका छौ’ उहाँले भन्नुभयो । नेता थापाले विगतका अभ्यास, पार्टी विधान र कमजोरीहरूको समग्र अध्ययन गर्न पहिले एक निष्पक्ष छानबिन समिति गठन गर्नुपर्ने बताउनु भयो । पार्टी नै संकटमा रहेको अवस्थामा हैकमवादी शैलीले पार्टी संगठन थप ध्वस्त हुने उहाँले बताउनु भयो ।
मकवानपुर । बुधबार बहुमतसहित बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एमालेका किरण थापाकाे नियुक्ति र सपथ बिहीबार मात्रै हुने भएकाे छ । उनले प्रदेशसभाका नेकपा र राप्रपा समेतकाे ६३ जना सदस्यकाे समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
एमालेका थापालाई एमालेका २५ (उपसभामुख सहित), नेकपाका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२ सांसदले समर्थन गरेका छन् । तीन दलको संसदीय दलका नेताको हस्ताक्षरमा नेपालको संविधानको धारा १६८ को (२) बमोजिमको सरकार गठनका लागि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष दाबी गरे पनि उनको नियुक्ति र शपथ ग्रहण भने बिहीबार मात्रै हुने भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले कानुनी विवाद हुने भन्दै तत्कालै नियुक्ति प्रक्रिया अघि नबढाएकाे कानून अधिकृत राजेश तामाङले जानकारी दिए ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार मात्रै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय सीमा बिहीबार दिउँसो ४ बजेसम्मकाे लागि तोकेका थिए । उक्त समय अगावै नियुक्ति गर्दा कानुनी जटिलता आउन सक्ने भएकाेले बिहीबार ४ बजेपछि मात्रै थापालाई मुख्यमन्त्री नियुक्त गर्ने र लगत्तै शपथ गराउने तयारी गरेकाे तामाङले बताए । तामाङका अनुसार बिहीबार ४ बजेको समय सीमा सकिए लगत्तै प्रदेश प्रमुख देवकोटाले थापालाई मुख्यमन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।
केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएसँगै बागमतीमा एमालेले नेतृत्व पाउने सहमति भएको थियो । मंगलबार बसेको एमाले संसदीय दलको बैठकले दलको नेतामा जगन्नाथ थपलियालाई नै कायम राख्ने र थापालाई मुख्यमन्त्रीको रूपमा अगाडि बढाउने सहमति गरेपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो । ११० सदस्यीय प्रदेश सभामा हाल १०४ सदस्य कायम छन् । बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ ।