मकवानपुर । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले भदौ ८ गते सोमबार १ बजे संसदबाट विश्वासको तय भएकाे हाे ।
एमाले, नेकपा र राप्रपाको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्ति भएका थापाले विश्वासको मत लिन संसद सचिवालयलाई पत्राचार गरेका छन् । नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकारको नेतृत्व गरेका थापालाई बिहीबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।
मुख्यमन्त्री थापाले आगामी भदौ ८ गते विश्वासको मत लिने भएपछि प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै भदौ ८ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइएको जनाएकाे छ । भदौ ८ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने सम्बन्धी कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
उपसभामुख अप्सरा चापागाईंले प्रदेश सभाको आठौं अधिवेशनको १८ औं बैठक बस्ने गरी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम सोमबार दिनको १ बजेको समय निर्धारण गरेका हुन् । उक्त बैठकमा मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतको प्रस्ताव पेस हुने बताइएकाे छ ।
मुख्यमन्त्रीमा नियुक्ति भएको १ महिना भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यबस्था छ ।


