बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको किरण थापा मगरको जीवन छोटो चर्चा
मुख्यमन्त्री किरण थापा मगरको जन्म वि.सं. २०३३ साल भदौ १४ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा भएको हो। उहाँका पिता भैरवबहादुर थापा मगर र माता ललिता थापा मगर हुनुहुन्छ। सामान्य पारिवारिक पृष्ठभूमिमा जन्मिनुभएका मुख्यमन्त्री थापा मगर वि.सं. २०४७ सालदेखि नै राजनीति तथा सामाजिक सेवामा निरन्तर सक्रिय हुनुहुन्छ। उहाँको शैक्षिक योग्यता आइए तहसम्मको रहेको छ।
राजनीतिक तथा नेतृत्व अनुभव
मुख्यमन्त्री किरण थापा मगर नेकपा (एमाले) को भक्तपुर जिल्ला कमिटी सदस्य हुँदै हाल जिल्ला कमिटी उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ। उहाँ वि.सं. २०७४ सालमा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो। वडाध्यक्षको कार्यकालमा उहाँले सूर्यविनायक नगरपालिकाको सामाजिक विकास समितिको संयोजकको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो। वि.सं. २०७९ सालमा भक्तपुर निर्वाचन क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो।
उहाँले वि.सं. २०८१ साल साउन ९ गतेदेखि २०८३ साल असारसम्म बागमती प्रदेशको स्वास्थ्य मन्त्रीका रूपमा दुईपटक जिम्मेवारी सम्हाल्नुभएको थियो। जनप्रतिनिधि तथा मन्त्रीका रूपमा उहाँले स्वास्थ्य, सामाजिक विकास, युवा तथा रोजगारीका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।
सामाजिक सेवा तथा संघसंस्थामा संलग्नता
मुख्यमन्त्री थापा मगर सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्छ। केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण समितिमा सचिव, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षसम्मको जिम्मेवारी सम्हाल्नुभएको उहाँ विभिन्न सामाजिक तथा धार्मिक संस्थामार्फत समुदायसँग निरन्तर जोडिनुभएको छ।
उहाँ नेपाल रेडक्रस सोसाइटीको एस्कर सदस्य हुनुका साथै नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सभापति पदमा तीन कार्यकाल र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको उपसभापति पदमा दुई कार्यकाल रहनुभएको छ। त्यस्तै, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष तथा विभिन्न खेलकुद र युवा क्लबहरूको संरक्षकका रूपमा समेत उहाँले जिम्मेवारी निर्वाह गर्नुभएको छ।
उहाँ सिपाडोल क्षेत्र परोपकार समाज, सूर्यविनायक नगरपालिका–८, सिपाडोलका संरक्षक तथा आफ्नो घर आश्रम, सूर्यविनायक नगरपालिका–८, सिपाडोलका विशेष संरक्षकका रूपमा सामाजिक सेवामा संलग्न हुनुहुन्छ।
रोजगारी तथा आर्थिक योगदान
निजी व्यवसायमार्फत मुख्यमन्त्री थापा मगरले ५०० भन्दा बढी नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारीको अवसर उपलब्ध गराइरहनु भएको छ। उहाँ युवा स्वरोजगारका लागि तालिम, सहजीकरण तथा लगानी प्रवर्धनका क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएको छ।
वडाध्यक्षका रूपमा कार्यरत रहँदा उहाँले आफूलाई प्राप्त हुने सरकारी भत्ता, पेट्रोल, फोनलगायतका सेवा–सुविधा नलिई सार्वजनिक सेवामा उदाहरण प्रस्तुत गर्नुभएको थियो। वडाबाट प्राप्त सेवा–सुविधाबाट बचत भएको रकमसमेत सामाजिक हितमा प्रयोग गर्दै उहाँले १५ लाख बराबरको अक्षय कोष स्थापना गर्नुभएको थियो। उक्त अक्षय कोष हाल ४० लाख पुगेको छ।
विपद् तथा महामारीका समयमा नेतृत्व
मुख्यमन्त्री थापा मगरले विभिन्न विपद्का समयमा अग्रपंक्तिमा रहेर उद्धार तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ। वि.सं. २०७२ सालको विनाशकारी भूकम्प तथा वि.सं. २०७५ सालको हनुमन्ते बाढीका क्रममा उहाँ उद्धार तथा राहत कार्यमा अग्रपंक्तिमा खटिनुभएको थियो।
कोरोना महामारीका समयमा समेत उहाँले संक्रमित तथा प्रभावित नागरिकको सहयोगमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। निःशुल्क पीसीआर परीक्षणको व्यवस्था तथा समन्वयमा सक्रिय रहनुभएका उहाँले संक्रमितहरूका लागि घरमै अक्सिजन तथा औषधि पुर्याउने, टोल–टोलमा स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गर्ने र १०० शैयाको क्वारेन्टाइन स्थापना गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। त्यस्तै, अलपत्र परेका तथा घर फर्किन चाहने श्रमिकहरूका लागि यातायातको व्यवस्थासमेत मिलाउनुभएको थियो।
सामान्य पारिवारिक पृष्ठभूमिबाट सामाजिक सेवा हुँदै सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका किरण थापा मगरले स्थानीय तहको नेतृत्वदेखि प्रदेश सभा सदस्य तथा प्रदेश सरकारको मन्त्रीसम्मको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। जनप्रतिनिधिका रूपमा स्थानीय विकास, सामाजिक सेवा, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा सक्रिय रहनुभएका उहाँले विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वमार्फत समेत समुदायसँग नजिक रहेर काम गर्दै आउनुभएको छ। राजनीतिक तथा सामाजिक यात्रामा प्राप्त अनुभवलाई प्रदेशको विकास, जनसेवा र सामाजिक रूपान्तरणमा उपयोग गर्ने उहाँको प्रयास निरन्तर रहँदै आएको छ।

