मकवानपुर । बुधबार बहुमतसहित बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एमालेका किरण थापाकाे नियुक्ति र सपथ बिहीबार मात्रै हुने भएकाे छ । उनले प्रदेशसभाका नेकपा र राप्रपा समेतकाे ६३ जना सदस्यकाे समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
एमालेका थापालाई एमालेका २५ (उपसभामुख सहित), नेकपाका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२ सांसदले समर्थन गरेका छन् । तीन दलको संसदीय दलका नेताको हस्ताक्षरमा नेपालको संविधानको धारा १६८ को (२) बमोजिमको सरकार गठनका लागि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष दाबी गरे पनि उनको नियुक्ति र शपथ ग्रहण भने बिहीबार मात्रै हुने भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले कानुनी विवाद हुने भन्दै तत्कालै नियुक्ति प्रक्रिया अघि नबढाएकाे कानून अधिकृत राजेश तामाङले जानकारी दिए ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार मात्रै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय सीमा बिहीबार दिउँसो ४ बजेसम्मकाे लागि तोकेका थिए । उक्त समय अगावै नियुक्ति गर्दा कानुनी जटिलता आउन सक्ने भएकाेले बिहीबार ४ बजेपछि मात्रै थापालाई मुख्यमन्त्री नियुक्त गर्ने र लगत्तै शपथ गराउने तयारी गरेकाे तामाङले बताए । तामाङका अनुसार बिहीबार ४ बजेको समय सीमा सकिए लगत्तै प्रदेश प्रमुख देवकोटाले थापालाई मुख्यमन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।
केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएसँगै बागमतीमा एमालेले नेतृत्व पाउने सहमति भएको थियो । मंगलबार बसेको एमाले संसदीय दलको बैठकले दलको नेतामा जगन्नाथ थपलियालाई नै कायम राख्ने र थापालाई मुख्यमन्त्रीको रूपमा अगाडि बढाउने सहमति गरेपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो । ११० सदस्यीय प्रदेश सभामा हाल १०४ सदस्य कायम छन् । बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ ।

