मकवानपुर । बागमती प्रदेशमा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा नियुक्तिको लागि दावी पेश गरिएको छ ।
बुधबार नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राप्रपाका गरी ६३ जना प्रदेश सभा सदस्यको समर्थनमा थापालाई मुख्यमन्त्रीमा नियुक्तिको लागि दावी पेश गरिएको हो । यो संगै थापाको नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएको हो।
बहुमतसहित दाबी पेश गरेपछि प्रदेश प्रमुखले आजै थापालाई मुख्यमन्त्री नियुक्त गर्ने र त्यसलगत्तै शपथ गराउने तयारी गरिएको छ। थापासँगै नेकपाका तर्फबाट एक जनालाई मन्त्रीमा नियुक्ति र सपथ गराउने तयारी गरिएको बताइएको छ । सम्भवत नेकपाबाट सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्ति हुनेछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने तत्काल सरकारमा सहभागी नभई सरकार गठनका लागि समर्थन मात्र गरेको बताएको छ । राप्रपाले केही समयपछि सरकारमा सहभागी हुने गरी छलफल अघि बढाइएको बताइएको छ। बाँकी मन्त्रीहरूको नाम तथा मन्त्रालयको बाँडफाँट भने केही दिनभित्र टुंगो लाग्ने बताइएको छ ।
यसअघि एमाले बागमती प्रदेश संसदीय दलको बैठकले किरण थापालाई मुख्यमन्त्री बनाउने र संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध पेश गरिएको अविश्वास प्रस्ताव फिर्ता लिँदै उनलाई दलको नेतामै निरन्तरता दिने निर्णयसमेत गरेको थियो।
एमालेले बागमतीका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन गत साउन ६ गते फिर्ता लिएको थियो । अल्पमतमा परेका बानियाले गत १ गते राजिनामा दिएपछी प्रदेश प्रमुखले भदौ ४ गते सम्मको समय तोकी मुख्यमन्त्रीमा दावी पेश गर्न आव्हान गरेका थिए ।
बागमती प्रदेश सभा हाल १०४ सदस्यीय रहेको छ । बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेश सभमा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ जना सदस्य छन् ।

