मकवानपुर । नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा सरकारहरुलाई झकझक्याउदै गर्नु पर्ने एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । नेपाल भाषाकाे संरक्षणमा नेवार समुदायहरु सक्रिय हुनुपर्ने नेपाल भाषा प्रवर्द्धन कार्यक्रम जोड दिइएकाे हाे ।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तरगतको पर्यटन कार्यालय काठमाडौं र नेपाल भाषा एकेडेमीको संयुक्त आयोजनामा हेटौंडामा शनिबार भएकाे नेपाल भाषा प्रवर्द्धन कार्यक्रममा बागमती प्रदेश सरकारले तामाङसँगै नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गरिरहेकोले नेवार समुदाय जागरुक हुनु पर्ने बताइएकाे छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनले भाषा मासिएपछि जातमात्रको खासै अस्थित्व नहुँने भन्दै भाषा संरक्षण र प्रवर्द्धनमा नेवार समुदाय सचेत हुनुपर्ने बताए । ‘भाषा, संस्कृति भनेको जात, समुदायसँगै देशको साझा सम्पती हो’ उनले भने ‘राज्य र सरकारलाई खबरदारी गर्दै नेपाल भाषाको विकास र विस्तारमा नेवार समुदाय सक्रिय हुनुपर्दछ ।’
भाषा अभियान्ता पौभा सायमीले नेपाल भाषाको महत्त्व नेवार जातिको लागि मात्र नभएर देशकै सम्पत्ति भएकोले सबै सचेत र जिम्मेवार हुनुपर्ने बताए । ‘भाषा विलिन हुनु भनेको सम्पदा, संस्कृति, विचार बिलिन हुनु हो’ उनले भने ‘नेपाल भाषा सिक्न र जगेर्ना गर्न सबैले भूमिका खेल्न ढिला गर्नु हुन्न ।’ अंग्रेजी, जर्मन, कोरियन, जापानिज भाषा पढेर विदेशिनेको संख्या अत्याधिक बढेको प्रति उनले आफ्नो भाषाप्रति गर्व गर्ने र प्रयोग, संरक्षण नगर्नाले आफ्नै अस्थित्व लोप हुने भन्दै चेतावनी दिए ।
नेपाल भाषा एकेडेमीका प्राज्ञ विद्या चित्रकार, पाटन क्याम्पसका प्राध्यापक किशोर नेपाली, नेपाली काँग्रसका नेता अशोक शाक्य, सामाजिक विकास मन्त्रालयकी लैङ्गीक सम्पर्क व्यक्ति चन्द्र कुमारी व्यञ्जनकार, नेवा: देय् दबु: बागमती प्रदेशका प्रमुख सचिव गणेशकुमार श्रेष्ठ लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुरसहित नुवाकोट, दोलखामा पनि शनिबार नै नेपाल भाषा प्रवर्द्धन कार्यक्रम गरिएकाे नेपाल भाषा एकेडेमीका व्यवस्थापक शान्तराज शाक्यले बताए । कार्यक्रम आयोजना गरिने ९ जिल्ला मध्ये चितवन, धादिङ र काभ्रेपलाञ्चोक यसअघी नै सम्पन्न भईसकेको उनले जानकारी दिए । बाँकी ३ जिल्लामा चाँडै कार्यक्रम गरिने बताईएको छ ।
नेपाल भाषा एकेडेमीले नेपाल भाषालाई बागमती प्रदेश सरकारले कामकाजको भाषा घोषणा गरेको सन्दर्भमा भाषिक जागरण अभिमुखीकरणका लागि आधारपत्र प्रस्तुत गरेको थियो । कार्यक्रम हेटौंडा उपमहानगरपालिका २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्य तथा भाषा अभियान्ता पौभा सायमीको अध्यक्षतामा भएको हाे ।
चितवन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले चितवनको बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको शुक्रबार छड्के अनुगमन गरेका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम र चिकित्सा महाशाखा प्रमुख डा. खगेश्वर गेलाल सहित मन्त्री थापाले बकुलहर रत्ननगर अस्पतालको आकस्मिक अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा उनले अस्पतालको सेवा प्रवाह, उपलब्ध स्रोत-साधन अवस्था तथा संरचनाको जानकारी लिए। अनुगमनपछि मन्त्री थापाले अस्पतालले आफ्नो क्षमता भन्दा बढी बिरामीको चाप भएपनी सेवा दिइरहेको बताए। उनले भने ‘हामी सेवाका क्रममा कुनै कन्जुस्याइँ गर्दैनौं। प्राथमिकता अनुसार बजेट समावेश गरेर अस्पताललाई थप सहयोग गर्नेछौं।’ स्वास्थ्य मन्त्रालयले अस्पतालका समस्या समाधानका लागि मार्गनिर्देशन गर्ने, आवश्यक आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने उनले प्रतिबद्धता जनाए।
उनले डाक्टर तथा स्वास्थ्यकर्मीले एप्रोन र परिचयपत्र अनिवार्य रूपमा लगाउन निर्देशन दिँदै अस्पताल व्यवस्थापनलाई यसमा थप ध्यान दिन आग्रह गरे। अनुगमनलाई नियमित बनाउने र सेवा बिस्तारलाई आवश्यक अध्ययनपछि मात्रै अघि बढाउने उनले जानकारी दिए । बकुलहर रत्ननगर अस्पतालमा ग्रामीण भेगका सेवाग्राहीको चाप बढी रहेको भन्दै मन्त्री थापाले सेवाको गुणस्तर कम हुन नदिने प्रतिबद्धता जनाए । अस्पताल व्यवस्थापनलाई बिरामीहरूको सुविधाका लागि प्रभावकारी योजना बनाउन समेत उनले निर्देशन दिए ।
सचिव डा. गौतमले अस्पतालको सेवामा केही सुधार देखिएको भन्दै सन्तोष व्यक्त गरिन् । उनले भनिन् ‘केही समयअघिको तुलनामा अहिले सेवा विस्तार भएको देखिन्छ, जुन सकारात्मक पक्ष हो। तर, अझै सुधार आवश्यक छ।’ प्रदेश सरकारको ध्यान स्वास्थ्य सेवा सुदृढीकरणमा रहेकाले आगामी दिनमा अस्पतालको सेवा प्रवाह थप गुणस्तरीय बनाउने उनले बताइन् ।
चिकित्सा महाशाखा प्रमुख गेलालले टीम वर्क गरेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन्। अनुगमन टोलीले अस्पताल भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गर्ने मन्त्रालयले जनाएको छ । साथै, आँखा सेवामा सुधार गर्दै अन्य आँखा अस्पतालहरूसँग समन्वय गरी १३ वटा अस्पतालमा सेवा विस्तार गर्ने योजना बनाइने बताइएकाे छ।
अस्पताल व्यबस्थापन समितिका अध्यक्ष गोपाल कर्मचार्य र मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले मन्त्रालयको सुझाव र निर्देशन अनुसार सेवा बिस्तार तथा सुधार गर्दै लगिने बताएका छन् ।
मकवानपुर । लघु, घरेलु तथा साना उद्योगहरू देशको अर्थतन्त्रको बलियो जग भएको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताउनु भएको छ । नेपालको लघु, घरेलु तथा साना उद्योगहरूको प्रबर्द्धन र संरक्षणका लागि समर्पित राष्ट्रिय स्तरको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कैलाली जिल्लाको २३ ओँ बार्षिक साधारणसभा एवं ११ औं जिल्ला सम्मेलनमा बोल्नु हुँदै बुधबार उहाँले यस्ताे बताउनु भएकाे हाे ।
स्थानीय स्रोत साधन र कच्चा पदार्थको प्रयोग, कृषि र उद्यमको परस्पर निर्भरता, स्वरोजगार तथा रोजगारी सिर्जनामार्फत् गरीबी निवारण र आत्मनिर्भरतालाई साना तथा घरेलु उद्योगले बढावा दिएको उहाँले बताउनु भयाे । कृषि क्षेत्रले ग्रहण गर्न नसक्ने जनशक्ति साना उद्योगमा प्रयोग गर्न सकिने उहाँले बताउनु भयाे ।
जब औद्योगिक विकासको कुरा आउँछ, ठुला र मझौला उद्योगको प्रबर्द्धनमा जोड दिनुपर्ने उहाँले बताउनु भयाे । नेपाल जस्तो विकासोन्मुख देशमा ठुला उद्योगको दाँजोमा साना तथा घरेलु उद्योग नै प्रभावकारी रहेकाे उहाँले बताउनु भयाे । वैदेशिक रोजगारीमा गएका नेपाली विविध कारणले देश फिर्ता आउनुपर्ने समय अहिलेको विश्व परिस्थिति हेर्दा अनुमान गर्न सकिने उहाँले बताउनु भयाे ।
‘अग्ला हिमाल चढ्नुपूर्व साना /साना हिमाल आरोहण अनिवार्य भए जस्तै औद्योगिक छलाङ्ग मार्न साना तथा घरेलु उद्योग विकासमा जोड दिनुपर्दछ’ उहाँले भन्नुभयाे । साना तथा घरेलु उद्योग स्थापना र बिस्तारमा थुप्रै चुनौतिहरू बिद्यमान रहेकाे उहाँले बताउनु भयाे । पूंजी, कच्चापदार्थ, प्रविधि, दक्ष जनशक्ति, बजारीकरण र नीतिगत तहका समस्याहरूसङ्ग जुझ्नुपर्ने उनले बताए ।
‘स्टार्टअप र निरन्तरता अथवा टिकाउ दुबै पक्षमा विभिन्न अवरोधहरू आउँछन् तर सरकार वा कमजोर नीति नियम भन्दै दोष थुपारेर बस्नुहुदैन’ उहाँले भन्नुभयाे । व्यवसायिक यात्रा निकै चुनौतीपूर्ण हुने तर आत्तिन नहुने उहाँले सुझाव दिनुभयाे । उत्पादीत वस्तुमा सुपथ मूल्य र गुणस्तर कायम गर्न सक्नुपर्ने उहाँले बताउनु भयाे ।
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशमा स्वास्थ्य सेवा सहज, सर्वसुलभ र प्रभावकारी बनाइने बताएका छन् ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सुरु आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गोष्ठीमा उनले उक्त कुरा बताएका हुन् । ‘समिक्षा गोष्ठीले कार्यक्षमताको मूल्यांकन गर्न र आगामी योजना बनाउन मार्गनिर्देशन गर्छ’ मन्त्री थापाले भने । ‘यो वर्ष स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन र प्रविधि सुधारमा विशेष जोड दिने हाम्रो योजाना छ’ उनले भने ‘स्वास्थ्य सेवा प्रणाली सुधार गर्न सरकारले काम गरिरहेको छ ।’
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले स्वास्थ्य सेवा प्रवाहका मुख्य चुनौतीहरू पहिचान गर्दै समाधानका लागि समन्वय आवश्यक रहेको बताइन् । ‘सेवा गुणस्तर सुधारका लागि दक्ष जनशक्ति व्यवस्थापन, प्रविधिको अधिकतम उपयोग तथा प्रभावकारी अनुगमन प्रणालीलाई अगाडि बढाउछौ’ उनले भनिन् । त्यस्तै, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दिपेन्द्र श्रेष्ठले नीति निर्माणलाई तथ्यांक र वास्तविकतामा आधारित बनाउनु आवश्यक रहेको बताए। ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि अनुसन्धान र प्रविधिमा लगानी बढाउनुपर्छ’ उनले भने ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झाले समिक्षात्मक गोष्ठीबाट प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रमहरूमा समावेश गरिने बताए । ‘प्रदेशको स्वास्थ्य सेवा प्रणाली सुधार गर्न सबै निकायहरूले समन्वयात्मक रूपमा काम गर्न आवश्यक छ’ उनले भने ‘समीक्षाले कमजोरीहरू पहिचान गर्दै सुधारका लागि मार्गनिर्देशन गर्ने अवसर दिन्छ।’
प्रदेशका स्वास्थ्य संस्थाहरूको मूल्यांकन गर्दै आगामी वर्षका लागि प्रभावकारी रणनीति निर्माण गर्ने उद्देश्यले आइतबारबाट सुरु सनिक्षा गोष्ठी ३ दिनसम्म संचालन हुनेछ । पहिलो दिन अस्पतालको प्रस्तुति रहेको समिक्षामा दोस्रो दिन जनस्वास्थ्य र तेस्रो दिन आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको प्रस्तुति रहने निर्देशनालयले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले राजश्वकाे स्राेत खोज्न समिति गठन गरेकाे छ । प्रदेश सरकारले नेपाल सरकारका पूर्वसहसचिव किशोरजङ्ग कार्कीको संयोजकत्वमा गठन राजस्व सुधार अध्ययन समिति गठन भएकाे हाे ।
उक्त समितिले गत तीन वर्षको राजस्व सुधार कार्ययोजना तर्जुमा, राजस्व परिचालनमा सुधारका क्षेत्र पहिचान र राजस्व प्रक्षेपणका क्षेत्रको अध्ययन गर्ने छ । संघीय सरकारले दिने अनुदानमा कटौती हुने भएपछि प्रदेशकाे विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन अन्य विकल्प नभएकाेले राजस्व संकलनको दायरामा वृद्धि गरिनु पर्ने भएकाे हाे ।
प्रदेश सरकारले राजस्वकाे सुधार तथा स्रोतको खोजी गर्न गठित समितिमा पूर्वसहसचिव लेखनाथ पङ्गेनी, अर्थविज्ञ डा. सञ्जीव हुमागाईं, बैंकर गंगा सापकोटा र अनुसन्धानकर्ता प्रेम दवाडी सदस्य रहेका छन् । देशमा संघीयता लागूपछि प्रदेश निर्माण भएकाे सात वर्षपछि राजस्वमा सुधारकाे लागि बागमती प्रदेश सरकारले स्रोतको खोजी गर्न थालेको हो । राजस्वमा सुधार गर्न तथा राजश्वकाे दायरा बढाउन प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले समिति नै गठन गरेर काम थालेको छ ।
संघीय सरकारले दिने अनुदानमा कटौती र भएका राजस्वको स्रोतसमेत खुम्चन थालेपछि गठन भएकाे उक्त समितिले सरोकारवालासँग छलफल गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गङ्गादत्त नेपाल, प्रदेशका प्रमुख सचिव महादेव पन्थलगायत प्रदेश सरकारका सचिवलगायतका सरोकारवालासँग समितिले छलफल गरेको हो ।
समितिले कर, गैरकरको आधार, दर, दायरा र प्रशासनका साथै प्रदेशको कुल गार्हस्थ उत्पादन र राजस्वको अवस्था, बजेट, नीति तथा कार्यक्रम एवं प्रतिवेदन अध्ययन गर्ने भएको छ । समितिलाई प्रदेशको राजस्व परिचालन क्षमता एवं प्रभावकारिता अभिवृद्धिलगायतका लागि तहगत सहकार्यको उपयुक्त संयन्त्र सिफारिस गर्ने गरी जिम्मेवारी दिइएको बताइएकाे छ ।
समितिले विभिन्न क्षेत्रबाट उठ्ने करका समस्या, चुनौती र अवसरका अध्ययनसहित सुझाव दिने भएकाे छ । खर्च कटौती, प्रभावकारी योजना निर्माण र कार्यान्वयनबारे समेत समितिले सुझाव दिने भएको छ । समितिलाई आगामी तीन महिनाभित्र आफ्नो अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाउने गरी जिम्मेवारी दिइएको छ ।
प्रदेशको राजस्व संकलनमा संकुचन तथा बढ्दाे खर्चकाे समस्या समाधान गर्न अध्ययन समिति गठन गरी काम थालिएको आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले जानकारी दिए । प्रतिवेदनले दिएका सुझावलाई आगामी बजेटमा सम्बोधन गरिने उनले बताए ।