मकवानपुर । बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मंगलबार दुई वटा विधेयक प्रमाणिकरण गरेका छन् ।
नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम प्रदेश प्रमुख शर्माले ‘‘आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ’’ र ‘‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ’’ प्रमाणिकरण गरेका हुन् ।
गते १६ असारमा बसेको बागमती प्रदेशसभाको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपाधारा (२) बमोजिम सभामुखबाट प्रमाणित विधेयकलाई प्रदेश प्रमुख शर्माबाट प्रमाणिकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रबक्ता समेत रहेका उपसचिव कृष्णप्रसाद आचार्यले बताए ।
आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई खर्च गर्न र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले राजश्व संकलनका लागि बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका कानून अकिृधत प्रकाश चापागाईंले बताए ।
मकवानपुर । पुर्व सहमति अनुसार सरकारको नेतृत्व छोड्न नेकपा समाजवादीलाई नेपाली कांग्रेस र नेकपा माओवादीले दबाब दिए पनि केन्द्रीय नेतृत्वको निर्णय बिना सरकारबाट नहट्ने अडानमा दल पुगेको छ ।
नेकपा एकीकृत समाजबादी बागमती प्रदेश संसदीय दलको आज शनिबार काठमाडौमा बसेको बैठकले सत्तागठबन्धनमा सहभागी दलहरूको निर्णय अनुसार अघि बढ्ने तर तत्काल आफै राजिनामा प्रक्रियामा नजाने निर्णय गरेको एकीकृत समाजवादी संसदीय दलकी सचेतक मुनु सिग्देलले बताइन् ।
“बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले तत्कालन राजीनामा नदिने निर्णय भयो” सिग्देलले भनिन ” केन्द्रीय नेताको निर्णयमा हामी बाधक हुनेछैनौ।”
नेकपा एसको बागमती प्रदेश संसदीय दलको शनिबार बसेको बैठकले तत्काल राजीनामा नदिने निश्कर्ष निकालेको उनले बताइन् । “सोचे जस्तो तत्काल मुख्यमन्त्रीबाट राजीनामा आउँदैन, संसदीय दलको बैठकपछि एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं सांसद सिग्देलले भनिन्, “पाँच दलीय गठबन्धनले केन्द्रबाट जे निर्णय गर्छ त्यसलाई मान्छौं।” प्रदेशका कारणले गठबन्धनमा समस्या नआउने उनले बताइन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डे गत कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिवेला एकीकृत समाजवादी र कांग्रेसबीच ६–६ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो।
त्यहि सहमतिअनुसार, अहिले कांग्रेसले सत्ता हस्तान्तरण गर्न दवाव दिइरहेको छ। यसमा माओवादीले पनि कांग्रेसलाई साथ दिएको छ।
कांग्रेस र माओवादी सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन गर्ने तयारी गरेका छन्। यससँगै आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने उनीहरूको तयारी रहेको एक नेताले बताए।
गत वर्ष मुख्यमन्त्री हुँदा पाण्डेलाई बागमती प्रदेशमा रहेका १०९ मध्ये ५९ सांसदको समर्थन गरेका थिए। जसमा माओवादीका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका एक सांसद छन्।
यता नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले अबको केहि दिनमा नेपाली कांग्रेसले बागमती प्रदेश नेतृत्व गर्ने टिप्पणी सार्वजनिक गरिसकेका छन् ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शनिबार संसदीय दलको बैठक बोलाएका छन् । असार १८ गते शनिबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादी बागमती प्रदेशले जनाएको छ ।
समसामयिक विषयमा छलफल गर्न मुख्यमन्त्रीले दलको बैठक बोलाइएको बताइएको छ । बागमती प्रदेशमा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन गरेपछि पाण्डेले संसदीय दलको बैठक बोलाएको बुझिएको छ । पाण्डे मुख्यमन्त्री परिवर्तनको लागि हस्ताक्षर संकलन भएपछि काठमाडौं गएका थिए ।
एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष रहेका पाण्डे गत कात्तिक ११ गते गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा ६ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व छोड्ने सहमती गर्दै मुख्यमन्त्री बनेका थिए ।उनले सहजै सहमती कार्यान्वयन गर्ने नदेखेपछि कांग्रेस र माओवादीका सांसदहरुले हस्ताक्षर संकलन कार्य सुृरु गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेलाई तत्कालिन समयमा बागमती प्रदेशका कुल १ सय ९ सांसदमध्ये माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाको एक गरि ५९ सांसदले समर्थन गरेका थिए ।
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्ताव गरेको बजेट सर्वसम्मत स्वीकृत भएको छ ।
प्रदेशको अर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ लाई पारितको लागि संसदमा पेश गरेको प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको सभामुख सानुकमार श्रेष्ठले बताए ।
प्रदेश सरकारले आजै ३ चरणमा विनियोजित विधेयकमाथिको बाँकी छलफल गरेको थियो । छलफल सकिएपछि आजै विनियोजि विधेयक २०७९ सर्वसम्मतले स्वीकृत गरिएको हो । १२ असारदेखि बजेट माथिको छलफल सुरु गरिएको थियो ।
प्रदेश सरकारले गत १ असारमा आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख बजेट प्रस्ताव गरिएको थियो ।
कूल विनियोजित बजेट मध्ये चालु तर्फ १९ अर्ब ०२ करोड ४१ लाख, पुँजीगत तर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरण तर्फ ८ अर्व ३५ करोड २७ लाख र वित्तीय व्यवस्था तर्फ २ अर्ब विनियोजन गरेको छ । कूल विनियोजन मध्ये चालु तर्फ २७ प्रतिशत, पुँजीगत तर्फ ५८.५८ प्रतिशत, वित्तीय हस्तान्तरण तर्फ ११.७७ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २.८१ प्रतिशत रहेको छ ।
प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले बताए ।
मकवानपुर । बागमती प्रदेशकाे प्रदेश सभाकाे बैठक सुरु भएकाे छ । प्रदेश सभाकाे लाईभ यहाँबाट हेर्न सकिने छ ।