मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ ३४.३१ प्रतिशत र पुँजीगत तर्फ ६५.६९ प्रतिशत गरी ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संसद्मा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ (३४.३१ प्रतिशत) र पुँजीगत तर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ (६५.६९ प्रतिशत) विनियोजन गर्नु भएको हो ।
बजेट कार्यक्रम कार्यान्वयनका लागि खर्च व्यहोर्ने स्रोततर्फ राजस्व तथा बाँडफाँडबाट प्राप्त हुने राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख रुपैयाँ, अन्य राजस्व स्रोतबाट ७ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान बापत १५ अर्ब ३१ करोड ४८ रुपैयाँ, संचित कोष बचत विविध बचत १२ अर्ब ७६ ७९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । उक्त बजेटको अपुग रकम अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँ पर्याप्त हुने अनुमान गरिएको छ ।
बागमती प्रदेश सरकारले एकीकृत प्रादेशिक संरचना निर्माणका लागि ५६ करोड रुपैयाँ बिनियोजन गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले एकीकृत प्रादेशिक संरचना, प्रदेशसभा भवन र आवास निर्माणको लागि ५६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको बताउनुभयाे ।
सरकारले हेटौंडा उपमहानगरपालिका–१७, प्रादेशक संरचना (मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरू) निर्माण गर्न संघीय सरकारबाट जग्गा प्राप्तिको प्रक्रिया टुंग्याइसकेको छ । प्रदेश राजधानी पूर्वाधार विशेष आयोजनाले प्रादेशिक संरचना निर्माणको काम गरिरहेको छ ।
बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न परिवारलाई घर बनाइदिने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले यस्तो घोषणा गरेका हुन् । जसका लागि २० करोड बजेट बिनियोजन गरिको छ ।
बजेट-बक्तव्य-2083मकवानपुर । बागमती प्रदेश सरकारले नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखाहरूलाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले रक्तसञ्चार सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन ११ जिल्लाका नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिलाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण गरेकाे हाे ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमतीका रसुवा र सिन्धुपाल्चोक बाहेक ११ जिल्लाका नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिलाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण गर्नुभयो। मुख्यमन्त्री बानियाँले रेडक्रसलाई सेवाग्राहीका गुनासोरहित सेवा प्रवाह गर्न आग्रह गर्नुभयो। रगत सङ्कलन, भण्डारण र वितरण प्रक्रियामा बेला–बेला सेवाग्राहीका गुनासा आउने गरेको उल्लेख गर्दै उहाँले पारदर्शी, अनुशासित र जिम्मेवार ढङ्गले सेवा सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले रगत सङ्कलनका लागि आवश्यक ब्लड ब्यागलगायत सामग्रीमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै विपद्का समयमा रेडक्रसले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। साथै प्रदेश सरकारले विपन्न नागरिकलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा विस्तार गरिरहेको उहाँले जानकारी दिनुभयो ।
प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले रेडक्रसद्वारा सञ्चालित ब्लड बैंकहरूको क्षमता अभिवृद्धिका लागि रेफ्रिजेरेटर सहयोग कार्यक्रम सुरु गरिएको बताउनुभयो। सरकार र रेडक्रसबिचको सम्बन्ध नङ र मासुजस्तै घनिष्ठ रहेको उल्लेख गर्दै उहाँले भूकम्प, महामारी तथा अन्य विपद्का बेला रेडक्रसले अग्रपङ्क्तिमा रहेर उद्धार, राहत तथा रक्तसञ्चार सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो। रेडक्रस मानवीय सेवामा समर्पित संस्था भएको उल्लेख गर्दै मन्त्री थापाले आगामी दिनमा पनि सरकार र रेडक्रसबीचको सहकार्यलाई अझ सुदृढ बनाइने बताउनुभयो।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोइन्जिनियर नेल्सन महतका अनुसार प्रतिगोटा दुई लाख ७५ हजार ५५५ रुपैयाँ (भ्याट बाहेक) मूल्यका ११ थान ब्लड बैंक रेफ्रिजेरेटर करिब ३१ लाख रुपैयाँ (भ्याट बाहेक) लागतमा खरिद गरी प्राविधिक परीक्षणपछि हस्तान्तरण गरिएको हो।
उहाँले प्रदेश विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७८ बमोजिम सेवा प्रवाह भइरहेका जिल्लामा उपकरण उपलब्ध गराइएको जानकारी दिनुभयो। कुनै कारणवश सम्बन्धित जिल्लामा रेडक्रसमार्फत सेवा सञ्चालन हुन नसकेमा उक्त उपकरण सम्बन्धित जिल्लाको जनस्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिने सर्तसमेत सम्झौतामा समावेश गरिएको उहाँले बताउनुभयो।
हस्तान्तरण गरिएका २३० लिटर क्षमताका रेफ्रिजेरेटरमा एकैपटक १५० वटा ब्लड ब्याग सुरक्षित राख्न सकिनेछ। उपकरणमा थर्मल इन्सुलेसन, अटोमेटिक डिफ्रोस्ट, डाटा व्यवस्थापनलगायत आधुनिक सुविधा समावेश छन्। रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि तथा रगतको सुरक्षित भण्डारणका लागि उक्त उपकरण प्रदान गरिएको बताइएकाे छ ।
भरतपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साहित्यलाई मानव जीवनको यथार्थ चित्रण गर्ने माध्यम रहेकाे बताउनु भएकाे छ । बागमती प्रदेशको सांस्कृतिक तथा साहित्यिक गौरवलाई थप उचाइमा पुर्याउने उद्देश्यसहित चितवनको भरतपुरमा शनिबारबाट सुरु भएकाे ‘दोस्रो बागमती साहित्य महोत्सव–२०८३’ काे उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे ।
‘जन्मदेखि मृत्युसम्मका अनुभूति र जीवनका विविध पक्षलाई जीवन्त ढंगले साहित्यले अभिव्यक्त गर्छ’ मुख्यमन्त्री बानियाँले भन्नुभयो ‘साहित्यबाट प्राप्त ज्ञानले विज्ञान र समाजको विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँछ ।’ मुख्यमन्त्री बानियाँले बागमती प्रदेशभित्रका कला, संस्कृति, भाषा, लिपि र संस्कारको संरक्षण तथा प्रवर्द्धन गर्दै ती सम्पदालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले चितवनको पर्यटन र साहित्यलाई एकआपसमा जोड्न आवश्यक रहेको बताउनुभयो । ‘चितवनका मौलिक संस्कृति, परम्परा र सम्पदालाई साहित्यिक गतिविधिमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सकिन्छ’ उहाँले भन्नुभयो । त्यसैगरी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले कला र साहित्यलाई राष्ट्रको आत्माको संज्ञा दिँदै समाज रूपान्तरणमा यसको भूमिका अतुलनीय रहने बताउनुभयो ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले भौतिक पूर्वाधारको विकाससँगै ज्ञान, चेतना, कला र संस्कृतिको विकासलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘भरतपुरमा प्रदेशस्तरीय साहित्यिक महोत्सव आयोजना हुनु गौरवको विषय हाे’ उहाँले भन्नुभयो ‘लोपोन्मुख सांस्कृतिक मूल्य–मान्यताको संरक्षणमा साहित्यकारहरूको योगदान प्रशंसनीय रहेको छ ।’
बागमती प्रदेशको सांस्कृतिक विविधता, भाषा–साहित्य र मौलिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ पुस्तामा साहित्य र संस्कृतिप्रति आकर्षण बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको डिभिजन वन कार्यालय भरतपुर चितवनका प्रमुख एवं महोत्सवका योजनाकार विष्णुप्रसाद आचार्य बताउँछन् ।
‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने मूल नारासहित बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको संयोजनमा आयोजित महोत्सवले साहित्यका माध्यमबाट समाजलाई सचेत, सिर्जनशील र जागरूक बनाउने बताइएकाे छ ।
महोत्सवमा साहित्यका विविध विधा, समसामयिक विषय र सांस्कृतिक आयामहरूमा केन्द्रित बहस, छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमहरू आयोजना गरिने छन् । यसअघि धादिङमा सम्पन्न प्रदेशस्तरीय साहित्यिक भेलाको निरन्तरताका रूपमा लिइएको महोत्सव आइतबार विभिन्न साहित्यिक गतिविधिसहित सम्पन्न हुने बताइएकाे छ ।
उद्घाटन सत्रमा बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, डा. लक्ष्मणप्रसाद गौतम, रामबाबु घिमिरे तथा नारायणप्रसाद अधिकारीलगायतले महोत्सवमा शुभकामना व्यक्त गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद खनालको सभाध्यक्षतामा भएकाे कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले स्वागत गर्नु भएकाे थियो । कार्यक्रमलाई प्रतिष्ठानका सचिव बालकृष्ण थपलियाले सहजिकरण गर्नुभएको थियो ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शक्तिशाली राष्ट्र भवनले नभई मानवताको सम्मानले बन्ने बताउनु भएको छ ।
‘समृद्ध समाज भौतिक पूर्वाधारले होइन, न्यायले चिनिन्छ, सभ्य देश त्यो हो, जहाँ सबैभन्दा कमजोर नागरिकले पनि आफू सुरक्षित महसुस गर्छ’ प्रदेश प्रमुख देवकोटाले भन्नुभयो ।
जीवन मर्यादा समानता र स्वतन्त्रताको अधिकार दीगो शान्ति र समृद्धिको आधार भन्ने नाराका साथ राष्ट्रिय मानव अधिकारको २६ औ बार्षिक उत्सव विशेष कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
आयोग बागमती प्रदेशले आयोजना गरेको बार्षिकोत्सव कार्यक्रममा बागमती प्रदेश प्रमुख देवकोटाकोले मानव अधिकार प्रत्येक मानवको जन्मसिद्ध अधिकार भएकोले कुनै व्यक्ति शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरूबाट वञ्चित हुन नहुने बताउनुभयो ।
‘कुनै महिला हिंसाको शिकार हुन्छिन्, कुनै नागरिक अन्यायमा पर्छ, कुनै व्यक्ति फरक पृष्ठभुमि भएकै कारणले विभेदको शिकार हुन्छ, त्यतिबेला केवल एउटा व्यक्ति पीडित हुँदैन,पुरै राष्ट्रको आत्मा आहत हुन्छ’ देवकोटाले भन्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगले विगत २६ वर्षदेखि पीडाको आवाज सुन्ने, अन्यायको विरुद्ध उभिने र मानवताको पक्षमा दृढतापूर्वक बोल्ने ऐतिहासिक जिम्मेवारी निर्वाह गर्दै आएकोमा देवकोटाले आयोगप्रती आभार व्यक्त गर्नुभयो ।
‘आयोग केवल एउटा संवैधानिक निकाय होइन, यो नागरिकको आशा र न्यायप्रतिको विश्वासको प्रतीक हो’ उहाँले भन्नुभयो। विश्व तीव्र परिवर्तनको यात्रामा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘विकास तीव्र छ, तर मानव संवेदनशीलता कमजोर हुँदै गएको चुनौती पनि हामीसामु छ ।’
सामाजिक संजाल र एआइको प्रयोग बढेसङ्गै मानव अधिकार हननका रूप फेरिने र दायरा बढ्ने जोखिम बढेको उहाँको धारण थियो । ‘यस्तो अवस्थामा मानव अधिकारको रक्षा गर्नु भनेको केवल कानुन पालन गर्नु होइन, मानवता जोगाउनु हो’ उहाँले भन्नुभयो।
आयोगको बागमती प्रदेश कार्यालयम आर्थिक वर्ष २०८२/८३ मा हालसम्म नागरिक तथा राजनीतिक अधिकार अन्तरगत ८ वटा, आर्थिक समाजिक तथा साँस्कृतिक अधिकारमा ४ वटा, यातना तथा क्रुर अमानवीय व्यवहार विरुद्धको अधिकारमा १ वटा, बाल अधिकार सम्बन्धी १, महिला अधिकार १, आप्रवासी कामदारहरुको अधिकारमा १, ज्येष्ठ नागरिकको अधिकारमा २, आदिवासी जनजातिको अधिकारमा १ वटा उजुरी गरी जम्मा १९ वटा उजुरी दर्ता भई अनुसन्धानको क्रममा रहेको आयोगका निमित्त प्रमुख चन्द्रकान्त चापागाँईले बताउनुभयो।
आयोगको यस बागमति प्रदेश कार्यालयमा मौजुदा उजुरी ५२० र यस वर्षको १९ उजुरीहरुसमेत गरी ५३९ उजुरी रहेको उहाँले बताउँनु भयो । आयोगका अनुसार यो अवधिमा विविध सवालमा आयोगमा आउने ६६ जना सेवाग्राहीहरुलाई परामर्श प्रदान गरि पठाइएको छ । जसमा ४६ जना पुरुष र १९ जना महिला साथै १ जना यौनिक तथा लैंगिक अल्पसंख्यकका रहेका थिए ।
त्यसैगरी २ जना महिला र १ जना बालकलाई स्थानिय प्रहरी प्रशासन एवम् संञ्चारकर्मी तथा अधिकारको क्षेत्रमा कृयाशिल संस्था समेत सँगको समन्वय तथा सहकार्यमा निजहरुकै घरमा पूनःस्थापित गराउने कार्य भएको छ ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिब खुबिराम अधिकारीले मानव अधिकारको लागि प्रदेश सरकार सदा प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा आन्तरिक मामिला सचिब कृष्ण बहादुर शाहि, गैसस मकवानपुर अध्यक्ष रमिला सापकोटालगायत विभिन्न सामाजिक संस्थाको प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको मानव अधिकार अधिकृत कृष्णप्रसाद मिश्रले बताउनुभयो ।