भरतपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साहित्यलाई मानव जीवनको यथार्थ चित्रण गर्ने माध्यम रहेकाे बताउनु भएकाे छ । बागमती प्रदेशको सांस्कृतिक तथा साहित्यिक गौरवलाई थप उचाइमा पुर्याउने उद्देश्यसहित चितवनको भरतपुरमा शनिबारबाट सुरु भएकाे ‘दोस्रो बागमती साहित्य महोत्सव–२०८३’ काे उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे ।
‘जन्मदेखि मृत्युसम्मका अनुभूति र जीवनका विविध पक्षलाई जीवन्त ढंगले साहित्यले अभिव्यक्त गर्छ’ मुख्यमन्त्री बानियाँले भन्नुभयो ‘साहित्यबाट प्राप्त ज्ञानले विज्ञान र समाजको विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँछ ।’ मुख्यमन्त्री बानियाँले बागमती प्रदेशभित्रका कला, संस्कृति, भाषा, लिपि र संस्कारको संरक्षण तथा प्रवर्द्धन गर्दै ती सम्पदालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले चितवनको पर्यटन र साहित्यलाई एकआपसमा जोड्न आवश्यक रहेको बताउनुभयो । ‘चितवनका मौलिक संस्कृति, परम्परा र सम्पदालाई साहित्यिक गतिविधिमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सकिन्छ’ उहाँले भन्नुभयो । त्यसैगरी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले कला र साहित्यलाई राष्ट्रको आत्माको संज्ञा दिँदै समाज रूपान्तरणमा यसको भूमिका अतुलनीय रहने बताउनुभयो ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले भौतिक पूर्वाधारको विकाससँगै ज्ञान, चेतना, कला र संस्कृतिको विकासलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘भरतपुरमा प्रदेशस्तरीय साहित्यिक महोत्सव आयोजना हुनु गौरवको विषय हाे’ उहाँले भन्नुभयो ‘लोपोन्मुख सांस्कृतिक मूल्य–मान्यताको संरक्षणमा साहित्यकारहरूको योगदान प्रशंसनीय रहेको छ ।’
बागमती प्रदेशको सांस्कृतिक विविधता, भाषा–साहित्य र मौलिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ पुस्तामा साहित्य र संस्कृतिप्रति आकर्षण बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको डिभिजन वन कार्यालय भरतपुर चितवनका प्रमुख एवं महोत्सवका योजनाकार विष्णुप्रसाद आचार्य बताउँछन् ।
‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने मूल नारासहित बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको संयोजनमा आयोजित महोत्सवले साहित्यका माध्यमबाट समाजलाई सचेत, सिर्जनशील र जागरूक बनाउने बताइएकाे छ ।
महोत्सवमा साहित्यका विविध विधा, समसामयिक विषय र सांस्कृतिक आयामहरूमा केन्द्रित बहस, छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमहरू आयोजना गरिने छन् । यसअघि धादिङमा सम्पन्न प्रदेशस्तरीय साहित्यिक भेलाको निरन्तरताका रूपमा लिइएको महोत्सव आइतबार विभिन्न साहित्यिक गतिविधिसहित सम्पन्न हुने बताइएकाे छ ।
उद्घाटन सत्रमा बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, डा. लक्ष्मणप्रसाद गौतम, रामबाबु घिमिरे तथा नारायणप्रसाद अधिकारीलगायतले महोत्सवमा शुभकामना व्यक्त गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद खनालको सभाध्यक्षतामा भएकाे कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले स्वागत गर्नु भएकाे थियो । कार्यक्रमलाई प्रतिष्ठानका सचिव बालकृष्ण थपलियाले सहजिकरण गर्नुभएको थियो ।

