मकवानपुर । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लि. को संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको आर्थिक सहयोग तथा राडो (RADO) नेपालसँगको सहकार्यमा हेटौंडा उपमहानगरपालिका ३ मा ‘सरोकारवालाको सहभागितामा वातावरणीय तथा सामाजिक उत्थानशीलता सुदृढीकरण’ परियोजनाको औपचारिक सुरुवात गरिएको छ।
गत जेठ ४ गते (मे १८, २०२६) स्थानीय सरोकारवालाहरूको उपस्थितिमा यो एकीकृत कार्यक्रमको शुभारम्भ गरिएको हो। कृषि, जलस्रोत संरक्षण, र जलवायु अनुकूलनलाई मुख्य प्राथमिकतामा राखेर सुरु गरिएको एकवर्षे परियोजनाले हेटौंडा–३ का सरस्वती कुना, सिमलथली, राजदेवी, राईटोल र मिलनटोल लगायतका क्षेत्रका करिब १ हजार घरधुरीलाई प्रत्यक्ष लाभान्वित तुल्याउने लक्ष्य राखेको छ।
कार्यक्रमबारे विस्तृत विवरण यो चित्रमा हेर्न सक्नुहुनेछ :

राडो नेपालका अध्यक्ष डा. कृष्ण धितालका अनुसार करिब १ करोड रुपैयाँको लागत अनुमान गरिएको यस दूरगामी योजना अन्तर्गत कृषि, पर्यावरण, खानेपानी बहुआयामी क्षेत्रहरूमा निम्न मुख्य कार्यहरू हुनेछः
- जल संकलन तथा पुनर्भरण संरचना: सिमलथली, मिलनटोल, राईटोल, राजदेवी र सरस्वती कुनामा खानेपानी प्रणालीको मर्मत–सम्भार तथा फिल्टरेशन/पर्कोलेसन संरचना निर्माण गरी करिब ७५० घरधुरीलाई स्वच्छ खानेपानीको पहुँच पुर्याइनेछ। साथै, माटोको चिस्यान संरक्षणमा जोड दिँदै ६ हेक्टर पुनर्भरण क्षेत्र समेट्ने गरी रिचार्ज पिट तथा लघु संरचनाहरू निर्माण गरिनेछ।
- माटो तथा चिसोपना संरक्षण: बसामाडी सामुदायिक वन र अन्य क्षेत्रमा कन्टुर ट्रेन्च तथा पानी संरक्षणका स–साना योजनाहरू अघि बढाइनेछन्।
- बहुउद्देश्यीय वृक्षारोपण तथा घाँस व्यवस्थापन: पर्यावरण संरक्षणका लागि बसामाडी सामुदायिक वनमा मात्र नभई किसानहरूको निजी जग्गामा समेत स्थानीय जलवायु र आवश्यकता अनुकूल विभिन्न प्रजातिका घाँस तथा फलफूल उपयोगी बिरुवाहरू रोप्ने कार्यको थालनी गरिनेछ । यस अन्तर्गत कृषकहरूको माग र भू-बनोट अनुसारका विभिन्न प्रजातिहरू समेटिएका छन्।
- फलफूल प्रवर्द्धन तथा बाँदर नियन्त्रक बाली प्रणाली: किसानहरूको आयआर्जन बढाउन विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू वितरण गरिनुका साथै पछिल्लो समय मुख्य समस्याको रूपमा रहेको वन्यजन्तु (विशेष गरी बाँदर) को ओहरदोहर र क्षतिलाई न्यूनीकरण गर्ने खालका विशेष वनस्पति, प्रतिरोधात्मक बिरुवा तथा वैकल्पिक बालीहरूको खेतीलाई प्रोत्साहन गरिनेछ।
- जलवायु उत्थानशील कृषि तथा प्राकृतिक खेती: सिमलथली, राईटोल, मिलनटोल र बौराटार क्षेत्रका १०० भन्दा बढी किसानलाई समेटेर १० हेक्टर खेतीयोग्य जमिनमा सुधार गरिनेछ। यसका लागि ३ वटा फिल्ड स्कुल, करेसाबारी प्रवर्द्धन, र माटोको स्वास्थ्य सुधारका कार्यक्रमहरू तय गरिएका छन्।
सरकारी र निजी क्षेत्रको सहकार्य अपरिहार्य
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले वास्तविक तल्लो तहका किसानहरूको आवश्यकता पहिचान गरी कार्यक्रम ल्याएकोमा खुसी व्यक्त गर्नुभयो। “सरकारले प्रत्याभूति गर्ने भनेको समाजको उद्गम तहमा पुगेर हो, जहाँ जे आवश्यकता छ, त्यहाँ त्यही गर्नुपर्छ,” प्रमुख घलानले भन्नुभयो, “स्थानीय बासिन्दाको वास्तविक हितका लागि निजी र गैरसरकारी क्षेत्रले स्थानीय सरकारका प्राथमिकता क्षेत्रमा सहकार्य गर्नुपर्छ।”
त्यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की अध्यक्ष जुना दाहालले कृषि क्षेत्रलाई प्राथमिकता दिएर ल्याइएको यस एकीकृत कार्यक्रमले स्थानीय किसानहरूको आर्थिक जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकारका तर्फबाट यस प्रकारका दिगो विकासका कार्यक्रमहरूमा सधैँ हातेमालो र पूर्ण सहयोग रहने प्रष्ट पार्नुभयो।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले यस पहलप्रति प्रशंसा व्यक्त गर्दै भन्नुभयो, “ हामी हाम्रो व्यावसायिक वृद्धि र समुदायको सबलता सँगसँगै अघि बढ्नुपर्छ भन्ने विश्वास राख्छौँ। यो पहल स्थानीय सरोकारवाला र समुदायसँग नजिकबाट सहकार्य गर्दै दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने हाम्रो प्रतिबद्धताको प्रतिबिम्ब हो। नेपालका लागि हित हुने कुरा युनिलिभरका लागि पनि हित हुनु हो, र हामी देशको वातावरणीय तथा सामाजिक प्रगतिमा अर्थपूर्ण योगदान दिन निरन्तर प्रतिबद्ध छौँ।”
विकास सहकार्यका लागि औद्योगिक क्षेत्र तत्पर:: कार्यक्रममा युनिलिभर नेपाल लि. का उद्योग प्रबन्धक सञ्जय भट्टचार्यले “उद्योग र कर्पोरेट क्षेत्र समाजभन्दा भिन्न नरहेको उल्लेख गर्दै जनसमुदायको हित र समृद्धि नै युनिलिभरको हित भएको बताउनुभयो। वास्तविक आवश्यकता पहिचान गरेर सही ठाउँमा बजेट परिचालन गर्न र सो बजेटलाई यथार्थ आवश्यकता सम्बोधन गर्ने तहसम्म पुर्याउन जोड दिनुभयो”
सोही अवसरमा युनिलिभर नेपालका कानुनी प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीले भन्नुभयो, “दिगो विकास तब सबैभन्दा प्रभावकारी हुन्छ जब यो जवाफदेहिता, अनुपालना, र साझा जिम्मेवारीमा आधारित हुन्छ। । यस सहकार्यले सामाजिक उत्तरदायित्व योगदानमा मात्र सीमित नभई दीर्घकालीन सामुदायिक स्वामित्व र वातावरणीय संरक्षणलाई मजबुत गर्ने प्रणाली निर्माण गर्नुपर्छ भन्ने हाम्रो विश्वासलाई थप सवल बनाएको छ।”
समारोहमा युनिलिभर नेपालका हारुन रशीद, आयुष शर्मा, पवन कुमार, रवीन्द्र यादव, बिनोद बजगाईं, प्रमोद मेहर, प्रेम सेठी, अभिषेक बारिया लगायतको सक्रिय सहभागिता रहेको थियो।
बहु–सरोकारवाला साझेदारी र पारदर्शी कार्यान्वयनमा सरोकारवालाको जोड: समारोहमा बोल्दै हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले उद्योगले छरिएका माग र स्वार्थहरू सम्बोधन गर्नुभन्दा यस प्रकारको संस्थागत साझेदारी अघि बढाउनु महत्वपूर्ण हुने बताउनुभयो। विष्टले भन्नुभयो, “यस प्रकारको संस्थागत साझेदारी नै आगामी यात्राका लागि बहु-सरोकारवाला (Multi-stakeholders) को शक्ति र सहकार्यको एउटा बलियो सुरुवात हो।”
त्यस्तै, हेटौँडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख डा. भिम तिमल्सिनाले यसअघि ‘एम-प्याक’ (M-PAC) मार्फत छलफल गरिएका योजनाबद्ध पहलहरू सकारात्मक दिशामा अघि बढेकोमा जोड दिनुभयो। डा. तिमल्सिनाले भन्नुभयो, “हामीले ‘M-PAC’ को बैठक र विभिन्न चरणमा छलफल गरेका नवप्रवर्तनकारी सोचहरू कार्यान्वयनको चरणमा पुगेका छन्। पारदर्शी परियोजना कार्यान्वयनमार्फत उत्कृष्ट नतिजा हासिल गर्न उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा सदैव सहयोगी भूमिकामा रहनेछ।”
प्राविधिक सहयोग र खानेपानी व्यवस्थापनमा जोड: कार्यक्रमको समापन सत्रमा स्थानीय सेवाग्राहीहरू इन्दिरा लामिछाने र सुजन न्यौपानेले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा अनपेक्षित चुनौतीहरू थपिएको तर्फ ध्यानाकर्षण गराउनुभयो। उहाँहरूले परियोजनालाई थप प्रभावकारी बनाउन गाउँमै कृषि जेटिए (JTA) को स्थायी व्यवस्था गरिदिन र खानेपानी प्रणालीको दिगो व्यवस्थापनमा समेत स्थानीय तहमा थप सहायता उपलब्ध गराउन माग गर्नुभयो।
राडो नेपालले यो एकवर्षे प्रारम्भिक योजनाको प्रभावकारिता, सरोकारवालाहरूको प्रतिक्रिया र पारदर्शी परिणामका आधारमा आगामी दिनमा यस कार्यक्रमको समयावधि थप गरेर अझ बृहत् रूपमा लैजान सकिने सकारात्मक संकेत दिएको छ। कार्यक्रमको अवसरमा उपस्थित स्थानीय किसानहरूलाई तरकारीका विभिन्न प्रजातिका उपयोगी बोटबिरुवाहरू समेत वितरण गरि परियोजनाको शुभारम्भ गरिएको थियो।

