मकवानपुर । विश्व वातावरण दिवस २०८३ को अवसरमा “भान्सा नै औषधालय” सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएकाे हाे ।
कार्यक्रममा “भान्सा नै औषधालय” अभियानका प्रवर्द्धक राष्ट्रिय प्रशिक्षक रोमलाल गिरीले दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो। उहाँले आधुनिक जीवनशैलीका कारण बढ्दै गइरहेका नसर्ने रोगहरूलाई नियन्त्रण गर्न स्वस्थ खानपान, स्थानीय उत्पादनको प्रयोग र प्राकृतिक जीवनशैली आवश्यक रहेको बताउनुभयो। “भान्सा नै पहिलो औषधालय” भएकाेले भान्सामा प्रयोग हुने बेसार, अदुवा, लसुन, तुलसी, मेथी लगायतका सामग्रीहरू औषधीय गुणले भरिपूर्ण रहेको उहाँले बताउनु भयो ।
४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वातावरण संरक्षण र नागरिक स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएकाले स्वस्थ खानपान, सरसफाइ र हरियाली प्रवर्द्धनलाई स्थानीय तहले प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिनुभयो। स्वस्थ नागरिक निर्माणका लागि जनचेतनामूलक कार्यक्रम अत्यन्त प्रभावकारी हुने उहाँले बताउनुभयो। समुदायमा सकारात्मक व्यवहार परिवर्तन ल्याउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले सहभागी सबैलाई सिकेका कुराहरू व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले विश्व वातावरण दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी व्यवहारिक परिवर्तनसँग जोड्न आवश्यक रहेको बताउनुभयो। उहाँले वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवर्द्धन र स्वस्थ जीवनशैली निर्माणमा टोल विकास संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । “स्वस्थ भान्सा, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणको आधार हो,” भन्दै उहाँले समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. ४ सहित नगरभित्रका विभिन्न वडाका टोल विकास संस्थाका पदाधिकारी, सामाजिक अभियन्ता, गरी ४०० जनाभन्दा बढीको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमबाट प्राप्त ज्ञान तथा अनुभवलाई आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजकका अनुसार विश्व वातावरण दिवस २०८३ को अवसरमा वातावरण संरक्षण, सरसफाइ तथा स्वस्थ जीवनशैली प्रवर्द्धनका विविध कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।

