मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शक्तिशाली राष्ट्र भवनले नभई मानवताको सम्मानले बन्ने बताउनु भएको छ ।
‘समृद्ध समाज भौतिक पूर्वाधारले होइन, न्यायले चिनिन्छ, सभ्य देश त्यो हो, जहाँ सबैभन्दा कमजोर नागरिकले पनि आफू सुरक्षित महसुस गर्छ’ प्रदेश प्रमुख देवकोटाले भन्नुभयो ।
जीवन मर्यादा समानता र स्वतन्त्रताको अधिकार दीगो शान्ति र समृद्धिको आधार भन्ने नाराका साथ राष्ट्रिय मानव अधिकारको २६ औ बार्षिक उत्सव विशेष कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
आयोग बागमती प्रदेशले आयोजना गरेको बार्षिकोत्सव कार्यक्रममा बागमती प्रदेश प्रमुख देवकोटाकोले मानव अधिकार प्रत्येक मानवको जन्मसिद्ध अधिकार भएकोले कुनै व्यक्ति शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरूबाट वञ्चित हुन नहुने बताउनुभयो ।
‘कुनै महिला हिंसाको शिकार हुन्छिन्, कुनै नागरिक अन्यायमा पर्छ, कुनै व्यक्ति फरक पृष्ठभुमि भएकै कारणले विभेदको शिकार हुन्छ, त्यतिबेला केवल एउटा व्यक्ति पीडित हुँदैन,पुरै राष्ट्रको आत्मा आहत हुन्छ’ देवकोटाले भन्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगले विगत २६ वर्षदेखि पीडाको आवाज सुन्ने, अन्यायको विरुद्ध उभिने र मानवताको पक्षमा दृढतापूर्वक बोल्ने ऐतिहासिक जिम्मेवारी निर्वाह गर्दै आएकोमा देवकोटाले आयोगप्रती आभार व्यक्त गर्नुभयो ।
‘आयोग केवल एउटा संवैधानिक निकाय होइन, यो नागरिकको आशा र न्यायप्रतिको विश्वासको प्रतीक हो’ उहाँले भन्नुभयो। विश्व तीव्र परिवर्तनको यात्रामा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘विकास तीव्र छ, तर मानव संवेदनशीलता कमजोर हुँदै गएको चुनौती पनि हामीसामु छ ।’
सामाजिक संजाल र एआइको प्रयोग बढेसङ्गै मानव अधिकार हननका रूप फेरिने र दायरा बढ्ने जोखिम बढेको उहाँको धारण थियो । ‘यस्तो अवस्थामा मानव अधिकारको रक्षा गर्नु भनेको केवल कानुन पालन गर्नु होइन, मानवता जोगाउनु हो’ उहाँले भन्नुभयो।
आयोगको बागमती प्रदेश कार्यालयम आर्थिक वर्ष २०८२/८३ मा हालसम्म नागरिक तथा राजनीतिक अधिकार अन्तरगत ८ वटा, आर्थिक समाजिक तथा साँस्कृतिक अधिकारमा ४ वटा, यातना तथा क्रुर अमानवीय व्यवहार विरुद्धको अधिकारमा १ वटा, बाल अधिकार सम्बन्धी १, महिला अधिकार १, आप्रवासी कामदारहरुको अधिकारमा १, ज्येष्ठ नागरिकको अधिकारमा २, आदिवासी जनजातिको अधिकारमा १ वटा उजुरी गरी जम्मा १९ वटा उजुरी दर्ता भई अनुसन्धानको क्रममा रहेको आयोगका निमित्त प्रमुख चन्द्रकान्त चापागाँईले बताउनुभयो।
आयोगको यस बागमति प्रदेश कार्यालयमा मौजुदा उजुरी ५२० र यस वर्षको १९ उजुरीहरुसमेत गरी ५३९ उजुरी रहेको उहाँले बताउँनु भयो । आयोगका अनुसार यो अवधिमा विविध सवालमा आयोगमा आउने ६६ जना सेवाग्राहीहरुलाई परामर्श प्रदान गरि पठाइएको छ । जसमा ४६ जना पुरुष र १९ जना महिला साथै १ जना यौनिक तथा लैंगिक अल्पसंख्यकका रहेका थिए ।
त्यसैगरी २ जना महिला र १ जना बालकलाई स्थानिय प्रहरी प्रशासन एवम् संञ्चारकर्मी तथा अधिकारको क्षेत्रमा कृयाशिल संस्था समेत सँगको समन्वय तथा सहकार्यमा निजहरुकै घरमा पूनःस्थापित गराउने कार्य भएको छ ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिब खुबिराम अधिकारीले मानव अधिकारको लागि प्रदेश सरकार सदा प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा आन्तरिक मामिला सचिब कृष्ण बहादुर शाहि, गैसस मकवानपुर अध्यक्ष रमिला सापकोटालगायत विभिन्न सामाजिक संस्थाको प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको मानव अधिकार अधिकृत कृष्णप्रसाद मिश्रले बताउनुभयो ।

