मकवानपुर । मौसमी प्रतिकुलतामा गर्नुपर्ने उद्दार कार्यबारे श्री गोरख बहादुर गण सुपारेटारले डेमो प्रर्दशन गरेको छ ।
नेपाली सेनाको नेतृत्वमा शसस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी, जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुर सहितको संयुक्त टोलीले आज मकवानपुरको भिमफेदी ४ रानीखोला ईलाकामा यस्तो डेमो गरेको हो । “अभ्यास मनसुन ६” विपद् प्रतिकार्य तथा व्यवस्थापन (पहिरो) सम्बन्धी डेमोस्ट्रेसन गरेको हो ।
डेमोस्ट्रेसनमा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, भिमफेदी गाउँपालिका ४ का वडा अध्यक्ष सागर पाण्डे, गोरख बहादुर गणका गणपति रविन्द्र कुमार श्रेष्ठ, शसस्त्र प्रहरी उपरीक्षक निवन खड्का, जिल्ला रेडक्रस सोसाइटीका प्रतिनिधीहरु, जिल्ला जनस्वास्थ्य कार्यलयका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
डेमोस्ट्रेसनमा वाराही माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थीहरूलगायत स्थानीयहरुले मनसुन प्रतिकार्यबारे ज्ञान हासिल गरेको गोरख बहादुर गणका गणपति श्रेष्ठले बताउनु भयो ।
डेमोस्ट्रेसनमा पहिरोको काल्पनिक कथावस्तु तयार गरी पहिरोमा फसेका घाइतेहरूको उद्धार बारे जानकारी गराइएको थियो । स्थानीय स्रोत साधनहरुको प्रयोग गरी उद्वार सामग्री मार्फत उद्वार गरिएको थियो । जसले स्थानीय सामग्रीबाट पनि उद्वार गर्न सकिन्छ भन्ने व्यवहारिक ज्ञान हासिल गरेका थिए ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले स्थानीयलाई प्रदान गरिने ज्ञान र सिप आपत पर्दा उपयोगी हुने बताउनु भयो ।

