मकवानपुर । मकवानपुरमा क्रियाशील साहित्यिक संस्था झरना साहित्यिक परिवारको अध्यक्षमा गायत्री रुपाखेती चयन भएकी छिन् ।
जिल्लाको बकैया गाउँपालिका-४ छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालयमा शनिबार भएको झरनाको पाँचौं अधिवेशनले रुपाखेतीको नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन गरेको हो । रूपाखेती यसअघि कार्यसमितिमा उपाध्यक्ष थिइन् ।
अधिवेशनले आगामी तीन वर्षको लागि चयन भएको कार्यसमितिको उपाध्यक्षमा कृष्ण घतानी, सचिवमा नीलहरि ढुङ्गेल, कोषाध्यक्षमा अजर फुयाँल तथा सहसचिवमा अमृता लामिछाने रहेका छन् । त्यसैगरी सदस्यहरूमा हरिप्रसाद घिमिरे, मन्जु दाहाल, विजय दोङ, स्वस्तिका दाहाल र शिव प्रसाद बोलखे चयन भएका छन् ।
तीन दशकभन्दा बढी समयदेखि मकवानपुरमा सक्रिय साहित्यिक संस्थाको गतिविधिलाई अनलाइनमा स्थान दिएकोमा साहित्य पोस्ट अनलाइनलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा बकैया-४ कि वडाध्यक्ष लक्ष्मी जिम्बा, कार्यपालिका सदस्य लक्ष्मी माझी, संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, पूर्व अध्यक्षहरू उद्धव सापकोटा तथा दीपक गौतम, संरक्षकहरू जनार्दन खनाल तथा परशुराम गौतमको आतिथ्यता रहेको थियो ।
यसैगरी पुरस्कार संस्थापक चन्द्रकुमार राई, पूर्व सल्लाहकार भरत सापकोटा, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक खेम बिक, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका महासचिव सुवास खनाल, आजीवन सदस्यहरू हयग्रीव आचार्य, बलराम घिमिरे, ओमभक्त भण्डारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो।
मकवानपुर । मकवानपुरकाे हेटौंडा औद्योगिक क्षेत्रमा रहेकाे उद्योगहरुमा कार्यरत कर्मचारीहरुकाे आँखा परीक्षण गरिएकाे छ । उद्योग संघ मकवानपुरले औद्योगिक क्षेत्रका श्रमिक र कर्मचारीहरुकाे लागि आँखा जाँच कार्यक्रम आयोजना गरेकाे हाे ।
हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार हेटौंडा औद्योगिक क्षेत्रमै आयोजित आँखा परीक्षणमा विभिन्न उद्योगमा कार्यरत श्रमिक तथा कर्मचारी गरी १ सय १६ जनाको आँखा जाँच गरिएको हाे । जाँच गरिएकाहरु मध्ये १ जनामा मोतिविन्दुकाे समस्या देखिएको थियो । यसैगरी अन्य १० जनालाई हेटौंडा सामुदायिक आँखा अस्पतालमै थप उपचारका लागि आउन सल्लाह दिइएकाे अस्पतालका प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले बताए ।
उनका अनुसार मोतिविन्दु पहिचान भएका १ जनालाई शल्यक्रिया (अपरेशन) का लागि अस्पतालमा बोलाइएको छ । कार्यक्रममा आँखा जाँच पश्चात आवश्यक औषधिहरु पनि निःशुल्क वितरण गरिएको थियो । औद्योगिक क्षेत्रका हेटौंडा ईन्जिनियरिङ, यती पेन्ट्स, सीई हाईड्रो, हेटौंडा फेब्रिकेशन, सामुराई स्टील, केपीजे लगायतका उद्योगका कामदार कर्मचारीहरुको आँखा परीक्षण गरिएको थियो ।
आँखा अस्पतालले सामुदायिक कार्यक्रम अन्तर्गत नियमित रुपमा अस्पताल आउन नसक्ने विरामीहरुका लागि विभिन्नस्थानमा पुगेर आँखा जाँच कार्यक्रम गर्दै आएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार विद्यालयमा पुगेर विद्यार्थीको आँखा जाँच र कार्यस्थलमा पुगेर कामदार, कर्मचारीहरुको समेत आँखा जाँच गर्दै आएको छ ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिका स्थित कार्की खाेलाले बगाउँदा १ जना बेपत्ता भएका छन् । मकवानपुर प्रहरीका अनुसार मकवानपुरगढी –२ तल्लो छापस्थित उक्त खोलाले बगाउँदा १ जना बेपत्ता भएका हुन्।
इलाका प्रहरी कार्यालय मकवानपुरगढीका अनुसार तल्लो छाप बस्ने २५ वर्षीय विनोद बम्जन ७ नम्बरकाे सुकौरा तर्फबाट घर फर्कने क्रममा खोलाले बगाएको हो । ह्युमपाइप राखेर आवतजावत गर्ने गरिएको कार्की खोलामा शुक्रबार दिउँसो पानीको बहाव बढ्दा बम्जनलाई बगाएकाे बताइएकाे छ । प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीसहितकाे प्रहरी टोली स्थानीयवासीसहित घटनास्थलमा खोजतलास कार्य सुरू गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट करिब ७ किलोमिटर उत्तरतर्फ पर्छ। हालसम्म बम्जनको अवस्था थाहा हुन नसकेको र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो मनहरी–६,हाङलाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
चट्याङ लागेर मनहरी–६, दैलीडाँडाका ४२ वर्षीय विशालको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी चट्याङ लागेर ७ जना घाइते भएका छन् । घाइते हुनेमा मनहरी ६ का १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेम बहादुर घलान, ३७ वर्षीय राजकुमार घलान छन् यसैगरी चितवन जिल्लाको राप्ति नगरपालिका–११ का ४७ वर्षीय पान बहादुर मोक्तान समेत घाइते भएका छन् ।
घाइतेहरुकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ । घेवा (किरिया) भइरहेकै ठाउँमा परेको चट्याङका परेकाे बताइएकाे छ । प्रहरीका अनुसार घाइतेहरुको उपचार मनहरी अस्पतालमा भइरहेकाे छ ।
मकवानपुर। बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अवलाेकन गरेका छन् । मंगलबार मन्त्री थापाले प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेका विभिन्न शैक्षिक कार्यक्रमहरुको अवलोकन गरेका हुन् ।
प्रतिष्ठानका कक्षाहरु संचालनमा रहेका नलेज भिलेज, गौरीटार र हुप्रचौर तथा अनुसन्धान केन्द्रको मन्त्री थापाले अवलोकन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएका आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै उनले उक्त अस्पतालमा सेवा विस्तारका लागि आवश्यक दक्ष जनशक्ति यही प्रतिष्ठानबाट उत्पादन हुने विश्वास व्यक्त गरे ।
मन्त्री थापाले प्रतिष्ठानले छोटो अवधिमै उल्लेखनीय उपलब्धी हासिल गरेको भन्दै यसलाई स्थापित गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । छिटोभन्दा छिटो नयाँ भवन निर्माण सम्पन्न गरी आफ्नै भवनबाट कक्षा सुचारु गराउने उनले जानकारी दिए । चिकित्सा शिक्षा आयोगले यसै शैक्षिक सत्रदेखि प्रतिष्ठानलाई ५० सिटका लागि एमबीबीएस (MBBS) कार्यक्रम सञ्चालन गर्ने स्वीकृति प्रदान गरिसकेको छ । प्रतिष्ठानमा बीएस्सी नर्सिङ (BSc Nursing), मेडिकल ल्याब टेक्नोलोजी (BMLT), पब्लिक हेल्थ (BPH) र ब्याचलर अफ फार्मेसी (B-Pharmacy) मा स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेका छन् ।
यसबाहेक यसै शैक्षिक वर्षदेखि प्रतिष्ठानमा मास्टर तह (MD) का सात विषय स्त्री तथा प्रसूति, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा अध्यापन सुरु हुने भएको छ । अनुगमन कार्यक्रममा मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, शिक्षाध्यक्ष डा. दिनेश कुमार लम्साललगायतको सहभागिता रहेको थियो ।