मकवानपुर। बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अवलाेकन गरेका छन् । मंगलबार मन्त्री थापाले प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेका विभिन्न शैक्षिक कार्यक्रमहरुको अवलोकन गरेका हुन् ।
प्रतिष्ठानका कक्षाहरु संचालनमा रहेका नलेज भिलेज, गौरीटार र हुप्रचौर तथा अनुसन्धान केन्द्रको मन्त्री थापाले अवलोकन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएका आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै उनले उक्त अस्पतालमा सेवा विस्तारका लागि आवश्यक दक्ष जनशक्ति यही प्रतिष्ठानबाट उत्पादन हुने विश्वास व्यक्त गरे ।
मन्त्री थापाले प्रतिष्ठानले छोटो अवधिमै उल्लेखनीय उपलब्धी हासिल गरेको भन्दै यसलाई स्थापित गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । छिटोभन्दा छिटो नयाँ भवन निर्माण सम्पन्न गरी आफ्नै भवनबाट कक्षा सुचारु गराउने उनले जानकारी दिए । चिकित्सा शिक्षा आयोगले यसै शैक्षिक सत्रदेखि प्रतिष्ठानलाई ५० सिटका लागि एमबीबीएस (MBBS) कार्यक्रम सञ्चालन गर्ने स्वीकृति प्रदान गरिसकेको छ । प्रतिष्ठानमा बीएस्सी नर्सिङ (BSc Nursing), मेडिकल ल्याब टेक्नोलोजी (BMLT), पब्लिक हेल्थ (BPH) र ब्याचलर अफ फार्मेसी (B-Pharmacy) मा स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेका छन् ।
यसबाहेक यसै शैक्षिक वर्षदेखि प्रतिष्ठानमा मास्टर तह (MD) का सात विषय स्त्री तथा प्रसूति, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा अध्यापन सुरु हुने भएको छ । अनुगमन कार्यक्रममा मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, शिक्षाध्यक्ष डा. दिनेश कुमार लम्साललगायतको सहभागिता रहेको थियो ।

