मकवानपुर । मकवानपुरमा क्रियाशील साहित्यिक संस्था झरना साहित्यिक परिवारको अध्यक्षमा गायत्री रुपाखेती चयन भएकी छिन् ।
जिल्लाको बकैया गाउँपालिका-४ छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालयमा शनिबार भएको झरनाको पाँचौं अधिवेशनले रुपाखेतीको नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन गरेको हो । रूपाखेती यसअघि कार्यसमितिमा उपाध्यक्ष थिइन् ।
अधिवेशनले आगामी तीन वर्षको लागि चयन भएको कार्यसमितिको उपाध्यक्षमा कृष्ण घतानी, सचिवमा नीलहरि ढुङ्गेल, कोषाध्यक्षमा अजर फुयाँल तथा सहसचिवमा अमृता लामिछाने रहेका छन् । त्यसैगरी सदस्यहरूमा हरिप्रसाद घिमिरे, मन्जु दाहाल, विजय दोङ, स्वस्तिका दाहाल र शिव प्रसाद बोलखे चयन भएका छन् ।
तीन दशकभन्दा बढी समयदेखि मकवानपुरमा सक्रिय साहित्यिक संस्थाको गतिविधिलाई अनलाइनमा स्थान दिएकोमा साहित्य पोस्ट अनलाइनलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा बकैया-४ कि वडाध्यक्ष लक्ष्मी जिम्बा, कार्यपालिका सदस्य लक्ष्मी माझी, संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, पूर्व अध्यक्षहरू उद्धव सापकोटा तथा दीपक गौतम, संरक्षकहरू जनार्दन खनाल तथा परशुराम गौतमको आतिथ्यता रहेको थियो ।
यसैगरी पुरस्कार संस्थापक चन्द्रकुमार राई, पूर्व सल्लाहकार भरत सापकोटा, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक खेम बिक, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका महासचिव सुवास खनाल, आजीवन सदस्यहरू हयग्रीव आचार्य, बलराम घिमिरे, ओमभक्त भण्डारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो।

