मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि १ अर्ब ८ करोडको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित गर्दै थाहा नगरले १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । शुक्रबार नगरसभाको ११ औं अधिवेशनमा उपमेयर भरत गोपालीले पेश गरेको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतरुपमा पारित भएको हो ।
थाहाले कुल बजेटमध्ये ९ करोड ९७ लाख ५४ हजार रुपैयाँ चालुतर्फ, ५१ करोड ७२ लाख १३ हजार पुँजीगततर्फ, सशर्ततर्फ ३२ करोड १४ लाख ४० हजार रुपैयाँ र सामाजिक सुरक्षातर्फ १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक कर तथा राजस्वबाट १९ करोड ७१ लख ५ हजार, राजस्वबाट बाँडफाँडबाट १९ करोड ६८ लाख ८० हजार रुपैयाँ, संघीय सरकारबाट प्राप्त १९ करोड १६ लाख, प्रदेशबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार रुपैयाँ र सशर्त अनुदानतर्फ प्राप्त हुने ३२ करोड १४ लाख प्राप्त हुने अनुमान गरेको छ ।
मकवानपुर । देशभरका स्थानीय सरकारले आज आर्थिक वर्ष २०७९।०८० काे बजेट गाउँ सभा र नगर सभामा प्रस्तुत गर्दैछन् । ७५३ वटै स्थानीय तहले आगामी वर्षको बजेट आ–आफ्नो गाउँ र नगर सभामा प्रस्तुत गर्ने भएका छन्।
अन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आ-आफ्नो सभामा आगामी वर्षको बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेअनुसार स्थानीय तहले आ–आफ्नो सभामा बजेट पेस गर्ने भएका हुन्।
सङ्घीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते सङ्घ र प्रदेशको व्यवस्थापिकामा बजेट पेस गरिसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म मधेस प्रदेशकाे १, बागमती प्रदेशकाे ३, गण्डकी प्रदेशकाे १, र सुदुर पश्चिम प्रदेशकाे २ पालिकाले नै आ-आफ्नो सभामा बजेट पेस गरिसकेका छन्।
अन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आ-आफ्नो सभामा आगामी वर्षको बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । साेही अनुसार स्थानीय तहले आ–आफ्नो सभामा बजेट पेस गर्ने भएका हुन्।
स्थानीय तहले सङ्घ तथा प्रदेश सरकारले दिएको अनुदान र आफ्नै आन्तरिक स्रोतलाई आधार मानी आ–आफ्नो सभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्ने छन्। स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
यसअघि कतिपय पालिकाहरुले निर्धारित समयमा बजेट पारित गर्न नसक्दा वित्तीय अनुशासन कायम नभएको र पालिकाहरुले खर्च गर्न पनि नसकेको अवस्था थियो । फेरि त्यस्तै अवस्था नआओस् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० बजेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको थियो ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटाैडामा आज शुक्रबार डेरी मेला हुने भएकाे छ । नेपाल डेरी एसोसिएसनले हेटौंडामा आज शुक्रबार एकदिने ‘डेरी मेला’ को आयोजना गर्ने भएको हाे ।
एसोसिएसनले आफ्नो २२ औं वार्षिक साधारण सभा एवम् ८ औं राष्ट्रिय महाधिवेशनको अवसरमा डेरी मेलाको आयोजना गर्न लागेको हो । एसोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले दुधको महत्व र दुग्ध पदार्थको उपभोगमा वृद्धिकाे लागि प्रचारप्रसार गर्न उक्त मेलाको आयोजना गर्न लागिएको जानकारी दिए ।
मेला हेटौंडा–२ को पल्पसा सदनमा शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । मेला पश्चात एसोसिएसनको साधारणसभा एवम् अधिवेशन सुरु गरिने सापकाेटाले जानकारी दिए । डेरी मेला उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईंले गर्ने अध्यक्ष सापकोटाले बताए ।
करिब १५ वटा स्टल रहने मेलामा करिब ७ सय जनाले अवलोकन गर्ने अनुमान आयोजक गरेकाे छ ।
मकवानपुर । हेटाैडामा कर सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरिएकाे छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा एक दिवसीय कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे ।
विहीबार संघ अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएकाे कर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजश्व कार्यालय, हेटौंडाका कर अधिकृत सुमन बुढाथोकीले सहजिकरण गरेका थिए । नेपाल सरकारबाट आ.व. २०७९\८० को बजेटमार्फत तय गरेका विभिन्न प्रावधानहरु र कर सम्बन्धी अन्य व्यवस्था सम्बन्धमा अन्तरक्रिया गरिएकाे अध्यक्ष गुप्ताले बताए । कर सम्वन्धी आधिकारिक जानकारी उद्योगी र व्यवसायीहरुलाई आवश्यक भएकाेले कर अधिकृतबाट अन्तरक्रियाकाे सहजीकरण गरिएकाे गुप्ताले जानकारी दिए ।
कार्यक्रममा कर अधिकृत बुढाथोकीले राजश्व सम्बन्धी नियम र सुधार वा थप भएका विभिन्न प्रावधानहरुबारे जानकारी गराउँदै सहभागीका जिज्ञासाको जवाफ समेत दिएका थिए । अन्तरक्रियामा क्रममा कृषि व्यवसायी हरिशरण अधिकारी, मदिरा व्यवसायी धर्म कुमार श्रेष्ठ, सुनचादी व्यवसायी सरोज सापकोटा, पवन कुमार शाक्य, संघका कर तथा लेखा परामर्शदाता सकुल कुमार श्रेष्ठ, अधिकृत विक्रेता व्यवसायी संघका अध्यक्ष पवन कुमार अग्रवाल, कृषि उद्यमी विवेक सुवेदीलगायतले सरकारी कर प्रणालीका सम्बन्धमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट र राजु अधिकारी, महासचिव दीपक उप्रेती, कार्यक्रम संयोजक प्रदीप अर्याललगायत विभिन्न वस्तुगत संघका अध्यक्ष, प्रतिनिधि, उद्योगी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । थाहा नगरपालिकामा नमूना युवा नगरसभा अभ्यास सम्बन्धी प्रशिक्षण कार्यक्रम आयाेजना गरिएकाे छ । थाहा नगरपालिकाको आयोजना तथा जिल्ला युवा समितिको कार्यालय मकवानपुरको संयोजनमा थाहामा पहिलो पटक नमूना युवा नगरसभा अभ्यासकाे ४ दिने प्रशिक्षण कार्यक्रम बुधबार सकिएकाे हाे ।
४ दिने प्रशिक्षण पछि नमूना नगर सभा संचालन गरि कार्यक्रम समापन गरिएकाे हाे । नमूना नगरसभा अध्यक्ष तथा नमुना युवा नगर प्रमुख बिस्मिता गोपालीले संचालन गरिएकाे थियाे । नमूना नगर सभा उपाध्यक्ष ओमस प्रधानले बजेट, बिनियोजन बियेयक २०७९ र आर्थिक बिध्येयक २०७९ पेश गरि सभामा छलफल पश्चात पारित गरिएकाे थियो ।
थाहा नगरपालिकाका १२ वटै वडाका ४५ जना युवाहरुलाई युवा नीति, नेतृत्व, राज्यप्रणाली, नेतृत्व विकाश, युवा मार्गदर्शन, नगरपरिषद, यसको संरचना लगायतका बिषयबस्तुमा प्रशिक्षण प्रदान गरिएको जिल्ला युवा समितिका अध्यक्ष शिबहरि दाहालले जानकारी दिए ।
अध्यक्ष दाहालले तालिममा युवा जीवन र मार्गदर्शन, लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, सूचनाको हक, नेपालमा युवा संसदको अवधारणा र अभ्यास, युवा क्लब र युवा क्लब गठन प्रक्रिया, स्थानीय योजना निर्माणका सात तहहरु र योजना निर्माणमा युवा क्लबको भूमिका, नगरसभा संचालन सम्बन्धी कार्यविधि तथा गाउँ/ नगर सभामा पालना गर्नुपर्ने नियमहरुका विषयमा समेत राष्ट्रिय प्रशिक्षक मुना तिवारी र अशोक खनालले सहजीकरण गरेका थिए ।
थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर बिष्टले उद्घाटन गरेकाे प्रशिक्षण कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, वडा अध्यक्ष, समाजसेवी बिमल कुमार ढकाल, शिक्षाबिद् सानोभाइ कार्की, युवा अभियान्ता दिनेश कार्की लगायतकाे उपस्थिति रहेको थियो ।