मकवानपुर । हेटाैडामा कर सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरिएकाे छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा एक दिवसीय कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे ।
विहीबार संघ अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएकाे कर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजश्व कार्यालय, हेटौंडाका कर अधिकृत सुमन बुढाथोकीले सहजिकरण गरेका थिए । नेपाल सरकारबाट आ.व. २०७९\८० को बजेटमार्फत तय गरेका विभिन्न प्रावधानहरु र कर सम्बन्धी अन्य व्यवस्था सम्बन्धमा अन्तरक्रिया गरिएकाे अध्यक्ष गुप्ताले बताए । कर सम्वन्धी आधिकारिक जानकारी उद्योगी र व्यवसायीहरुलाई आवश्यक भएकाेले कर अधिकृतबाट अन्तरक्रियाकाे सहजीकरण गरिएकाे गुप्ताले जानकारी दिए ।
कार्यक्रममा कर अधिकृत बुढाथोकीले राजश्व सम्बन्धी नियम र सुधार वा थप भएका विभिन्न प्रावधानहरुबारे जानकारी गराउँदै सहभागीका जिज्ञासाको जवाफ समेत दिएका थिए । अन्तरक्रियामा क्रममा कृषि व्यवसायी हरिशरण अधिकारी, मदिरा व्यवसायी धर्म कुमार श्रेष्ठ, सुनचादी व्यवसायी सरोज सापकोटा, पवन कुमार शाक्य, संघका कर तथा लेखा परामर्शदाता सकुल कुमार श्रेष्ठ, अधिकृत विक्रेता व्यवसायी संघका अध्यक्ष पवन कुमार अग्रवाल, कृषि उद्यमी विवेक सुवेदीलगायतले सरकारी कर प्रणालीका सम्बन्धमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट र राजु अधिकारी, महासचिव दीपक उप्रेती, कार्यक्रम संयोजक प्रदीप अर्याललगायत विभिन्न वस्तुगत संघका अध्यक्ष, प्रतिनिधि, उद्योगी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

