मकवानपुर । थाहा नगरपालिकामा नमूना युवा नगरसभा अभ्यास सम्बन्धी प्रशिक्षण कार्यक्रम आयाेजना गरिएकाे छ । थाहा नगरपालिकाको आयोजना तथा जिल्ला युवा समितिको कार्यालय मकवानपुरको संयोजनमा थाहामा पहिलो पटक नमूना युवा नगरसभा अभ्यासकाे ४ दिने प्रशिक्षण कार्यक्रम बुधबार सकिएकाे हाे ।
४ दिने प्रशिक्षण पछि नमूना नगर सभा संचालन गरि कार्यक्रम समापन गरिएकाे हाे । नमूना नगरसभा अध्यक्ष तथा नमुना युवा नगर प्रमुख बिस्मिता गोपालीले संचालन गरिएकाे थियाे । नमूना नगर सभा उपाध्यक्ष ओमस प्रधानले बजेट, बिनियोजन बियेयक २०७९ र आर्थिक बिध्येयक २०७९ पेश गरि सभामा छलफल पश्चात पारित गरिएकाे थियो ।
थाहा नगरपालिकाका १२ वटै वडाका ४५ जना युवाहरुलाई युवा नीति, नेतृत्व, राज्यप्रणाली, नेतृत्व विकाश, युवा मार्गदर्शन, नगरपरिषद, यसको संरचना लगायतका बिषयबस्तुमा प्रशिक्षण प्रदान गरिएको जिल्ला युवा समितिका अध्यक्ष शिबहरि दाहालले जानकारी दिए ।
अध्यक्ष दाहालले तालिममा युवा जीवन र मार्गदर्शन, लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, सूचनाको हक, नेपालमा युवा संसदको अवधारणा र अभ्यास, युवा क्लब र युवा क्लब गठन प्रक्रिया, स्थानीय योजना निर्माणका सात तहहरु र योजना निर्माणमा युवा क्लबको भूमिका, नगरसभा संचालन सम्बन्धी कार्यविधि तथा गाउँ/ नगर सभामा पालना गर्नुपर्ने नियमहरुका विषयमा समेत राष्ट्रिय प्रशिक्षक मुना तिवारी र अशोक खनालले सहजीकरण गरेका थिए ।
थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर बिष्टले उद्घाटन गरेकाे प्रशिक्षण कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, वडा अध्यक्ष, समाजसेवी बिमल कुमार ढकाल, शिक्षाबिद् सानोभाइ कार्की, युवा अभियान्ता दिनेश कार्की लगायतकाे उपस्थिति रहेको थियो ।

