मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटाैडामा आज शुक्रबार डेरी मेला हुने भएकाे छ । नेपाल डेरी एसोसिएसनले हेटौंडामा आज शुक्रबार एकदिने ‘डेरी मेला’ को आयोजना गर्ने भएको हाे ।
एसोसिएसनले आफ्नो २२ औं वार्षिक साधारण सभा एवम् ८ औं राष्ट्रिय महाधिवेशनको अवसरमा डेरी मेलाको आयोजना गर्न लागेको हो । एसोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले दुधको महत्व र दुग्ध पदार्थको उपभोगमा वृद्धिकाे लागि प्रचारप्रसार गर्न उक्त मेलाको आयोजना गर्न लागिएको जानकारी दिए ।
मेला हेटौंडा–२ को पल्पसा सदनमा शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । मेला पश्चात एसोसिएसनको साधारणसभा एवम् अधिवेशन सुरु गरिने सापकाेटाले जानकारी दिए । डेरी मेला उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईंले गर्ने अध्यक्ष सापकोटाले बताए ।
करिब १५ वटा स्टल रहने मेलामा करिब ७ सय जनाले अवलोकन गर्ने अनुमान आयोजक गरेकाे छ ।

