मकवानपुर । देशभरका स्थानीय सरकारले आज आर्थिक वर्ष २०७९।०८० काे बजेट गाउँ सभा र नगर सभामा प्रस्तुत गर्दैछन् । ७५३ वटै स्थानीय तहले आगामी वर्षको बजेट आ–आफ्नो गाउँ र नगर सभामा प्रस्तुत गर्ने भएका छन्।
अन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आ-आफ्नो सभामा आगामी वर्षको बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेअनुसार स्थानीय तहले आ–आफ्नो सभामा बजेट पेस गर्ने भएका हुन्।
सङ्घीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते सङ्घ र प्रदेशको व्यवस्थापिकामा बजेट पेस गरिसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म मधेस प्रदेशकाे १, बागमती प्रदेशकाे ३, गण्डकी प्रदेशकाे १, र सुदुर पश्चिम प्रदेशकाे २ पालिकाले नै आ-आफ्नो सभामा बजेट पेस गरिसकेका छन्।
अन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आ-आफ्नो सभामा आगामी वर्षको बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । साेही अनुसार स्थानीय तहले आ–आफ्नो सभामा बजेट पेस गर्ने भएका हुन्।
स्थानीय तहले सङ्घ तथा प्रदेश सरकारले दिएको अनुदान र आफ्नै आन्तरिक स्रोतलाई आधार मानी आ–आफ्नो सभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्ने छन्। स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
यसअघि कतिपय पालिकाहरुले निर्धारित समयमा बजेट पारित गर्न नसक्दा वित्तीय अनुशासन कायम नभएको र पालिकाहरुले खर्च गर्न पनि नसकेको अवस्था थियो । फेरि त्यस्तै अवस्था नआओस् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० बजेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको थियो ।

