मकवानपुर । बागमती प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न २ अर्ब ७१ करोड ७९ लाख बजेट आज १० असारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
अनुमान गरिएको खर्च व्यहोर्ने आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, सङ्घीय सरकारको अनुदानबाट १ अर्व ६ करोड ९५ लाख व्यहाेरीने गरी तयारी गरिएको बुझिएको छ ।
यस्तै अन्य आय र संघसंस्था अनुदानबाट १ करोड ९६ लाख व्यहोरिने गरी बजेट ल्याउने तयारी भएको आन्तरीक स्रोतले जनाएको छ । तर सार्वजनिक गर्दै गरिएको बजेट एकलौटी रुपमा तयार गरिएको भन्दै तिव्र विरोध भएको छ । नगर कार्यपालिका सदस्यहरुबिच मनमुटाव हुँदा आगामी बजेट माथि पनि सल्लाह र सहमति हुन सकेको छैन ।
३ दिन अघि नगरको कार्यपालिका बैठक बसेर नीति तथा कार्यक्रम प्रस्ताव गर्ने तयारी भएको थियो । तर कार्यपालिका बैठकमा बहुमत नपुगेपछि नीति तथा कार्यक्रममाथि छलफल नै भएन । कार्यपालिकामा एमालेको स्पष्ट बहुमत छ । नीति तथा कार्यक्रम सम्बन्धी छलफल गर्न बोलाइएको कार्यपालिका बैठकमा एमालेले बैठक सञ्चालन कार्यविधिका केही बुँदा संशोधन गर्नु पर्ने प्रस्ताव गरेको थियो । २९ कार्यपालिका सदस्य मध्ये १८ सदस्य रहेको एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको हो । एमाले सदस्यहरुले बैठक सञ्चालन कार्यविधि सशाेधन गर्न माग गरेपछि बैठकमा सहमति हुन सकेको छैन । एमाले सदस्यहरुले राखेको प्रस्तावलाई पेलेर लैजान खोजिएको भन्दै विरोध जनाएका छन् ।
बजेट सार्वजनिक हुँदै गर्दा बहुमत कार्यपालिका सदस्यसँग छलफल नै नगरिएको भन्दै एमालेले विरोध जनाएको छ । एकलौटी ढंगले बजेट ल्याउन लागेकोमा आफूहरुको विरोध रहेको एमालेले जनाएको छ । जनताद्वारा निर्वाचित बहुमत कार्यपालिका सदस्यहरुसंग कुनै पनि छलफल नै नगरिकन एकलौटी ढंगले बजेट ल्याउन लागेको भन्दै असन्तुष्टि ब्यक्त गरिएको हो । कार्यपालिका सदस्यहरुसँग बजेटबारे कुनै पनि छलफल नभएको एमालेबाट वडा अध्यक्ष विजयी भएका कार्यपालिका सदस्यहरुले बताएका छन् ।
यद्यपी असार ७ गते मंगलबार विहान बसेको नगर कार्यपालिकाको वैठकले आगामी आव २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । कार्यपालिका वैठकबाट पारित गरिएको नीति तथा कार्यक्रम र बजेट असार १० गते बस्ने नगरसभामा पेश गरिने उनले बताए ।
हेटौंडाका १९ वटै वडाहरुका नागरिकलाई सम्बोधन गर्ने गरी बजेट ल्याउनका लागि सबै कार्यपालिका सदस्यहरुका बिचमा छलफल गरेर ल्याउनु पर्ने माग आफूहरुको रहेको एमालेको उपमहानगरपालिका संसदीय दलका नेता नविन सिग्देलले बताए ।बजेट निर्माण गर्दा विभिन्न बिषयगत समितिमा छलफल गरिनु पर्ने भएपनि स्रोतका अनुसार हेटौंडा उमहानगरपालिकामा यस्ता विषयगत समितिहरु नै बनेका छैनन् ।
कार्यपालिका बैठकबाट पास नगरिएको, चुनाबका बेलाका गठबन्धनमा रहेका दलका प्रतिबद्धता अनुसार मात्र बजेट हालिएको, बैठक कार्यबिधि संसोधन गर्न मेयर लामाले निवेदन समेत दर्ता गर्न नमानेको लगायतका विषयमा आफूहरुको असन्तुष्टि रहेको सिग्देलले बताए । उपमहानगरपालिकामा बिजयी एमालेका ५४ जना नगरसभा सदस्यहरु सहितको बैठकले स्थानीय सरकार संचालन ऐन सञ्चालन सम्बन्धी बैठक कार्यबिधि सशाेधनका लागि दर्ता गराउन निवेदन दिदा दर्ता गर्न अस्वीकार गरिएको सिग्देलले बताए ।
एमालेका प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ सहितको बैठकले सहमति र सहकार्यबाट मात्र बजेट ल्याउनका लागि नगरका मेयर मिना लामा र उपमेयर राजेश बानियाँलाई आग्रह गरिएको उनले बताए ।उपमहानगरपालिका वडा अध्यक्षहरुलाई समेत कुनै वास्ता नगरिकन बजेट ल्याउन खोज्नु जनभावना विपरित भएको हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मुक्तानले बताए । १८ जना कार्यपालिका सदस्य रहेको एमालेले बैठक संचालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको ब्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको थियो । तर मागको विषयमा मेयर–उपमेय लचिलो नबनेपछि आफुहरुले वाध्य भएर गत मगलबारकाे कार्यपालिका बैठक बहिस्कार गर्नुपरेको वडा नंबर १५ का वडाध्यक्ष तथा एमाले हेटौँडा नगर दलका प्रमुख सचेतक सुनिल मोक्तानले बताए ।
सहकार्य र छलफलका लागि एमालेका तर्फबाट हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँको संयोजकत्वमा तीन सदस्य समिति चयन गरिएको छ । जसमा सदस्यहरुमा हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तान, हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा रहेका छन् ।
हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकामा एमालेबाट १८ जना, कांग्रेसबाट ९ तथा नेकपा एकिकृत समाजवादीबाट २ जना सदस्यहरु रहेका छन् । नगरसभामा पनि नेकपा एमाले ५१ जना सहित पूर्ण बहुमतमा छ । कानुनी व्यवस्था अनुसार असार १० गते सवै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पर्ने तथा असार मसान्तमा प्रस्तुत नीति तथा कार्यक्रम पारित गर्नु पर्ने हुन्छ । साेही अनुसार आज उपमहानगरपालिकाकाे ११ औं नगर सभा अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न लागिएकाे हाे ।

