मकवानपुर । मकवानपुरमा १२ औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता असार १८ गते देखि हुने भएकाे छ । जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिको साेमबारकाे बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति रनिङशिल्डमा एथलेटिक्स,भलिवल,कबड््डी,कराते,तेक्वान्दो र उसु खेलका गरि ४८ स्वण पदकका लागि प्रतियोगिता हुने भएकाे छ । हटौंडामा हुने राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा स्थानिय तहबाट छनौट भएका खेलाडीहरुले जिल्ला प्रतियोगितामा भाग लिन पाउने छन् । मकवानपुरका १० वटै पालिकाहरुलाई खेलाडी छनौट गरेर खेलाडी पठाउन यस अघि नै पत्राचार भएको र केही पालिकाहरुले अझै छनौट गर्न बाँकी रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव राजन दाहाल खुशराजले जानकारी दिए ।
प्रतियाेगिता सहभागिताकाे लागि ताेकिएकाे समयमा जती पालिकाले खेलाडी छनौट गरी पठाउँछन् उनीहरु वीच बाटै जिल्ला प्रतियोगिता हुने पनि दाहालले जानकारी दिए । जिल्ला प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले काठमाडौंमा असार २५ गते देखि हुने प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने छन् । साेमबारसम्म हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाले स्थानीय छनौट गरेका छन भने बकैया, मकवानपुरगढी र कैलासले छनौट गर्ने जानकारी दिएको दाहालले बताएका छन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम निर्देशन समितिका संयोजक वेस खड्कीको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समिति,जिल्ला प्रहरी,जिल्ला शिक्षा ईकाईका प्रतिनिधि, नगर खेलकुदका अध्यक्ष चन्द्र शाही,विभिन्न खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधि र प्रशिक्षकहरुको बैठकमा सहभागिता थियो ।
मकवानपुर । हेटाैंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित वनदेवी आधारभूत विद्यालयमा निबन्ध प्रतियाेगिता भएकाे छ । आधारभूत तहकाे विद्यार्थीहरु बीच ‘कोरोनाले शिक्षामा पारेको प्रभाव’ विषयमा निबन्ध प्रतियाेगिता भएकाे हाे ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा वनदेवी आधारभूत विद्यालयको आयोजनामा निवन्ध प्रतियाेगिता साेमबार भएकाे हाे । उपमहानगरपालिकाका ७, ८, १४ र १५ नम्बर वडाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि ८ सम्मका विद्यार्थी बीच ‘कोरोनाले शिक्षामा पारेको प्रभाव’ विषयक स्थलगत निबन्ध प्रतियोगिता भएकाे विद्यालयका प्रधानाध्यापक जयप्रसाद पाेखरेलले बताए ।
४ वडाका १६ वटा विद्यालयका विद्यार्थी सहभागी भएका प्रतियाेगितामा तासिर इङ्लिस बोर्डिङ स्कुलकी सिमोन भट्टराई प्रथम, वनदेवी आभारभूत विद्यालयकी उर्जना घले द्वितीय, नवज्योति माध्यमिक विद्यालयकी प्रमिला थिङ तृतीय भएका थिए । यसैगरी माउन्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कुलकी नितिशा बराल र चन्द्रोदय माध्यमिक विद्यालयकी विशाका देउला सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियाेगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना भएका सफल विद्यार्थीहरूले क्रमशः ६ हजार, ४ हजार, २ हजार र १ हजार ५ सय नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
निवृत्त शिक्षक ध्रुबकुमार भुजेल , शिक्षकहरू ज्योती न्यौपाने र अनु रोक्का निर्णायक रहेकाे प्रतियोगिता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर घिमिरेको अध्यक्षता तथा हेटाैडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यतामा भएकाे हाे ।
प्रतियाेगितामा हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मोक्तन, शिक्षक महासंघ मकवानपुरका जिल्ला अध्यक्ष जिधराज ढकाल, १५ नं. वडा प्रतिनिधि मेनु विश्वकर्माको उपस्थिति रहेको थियाे ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले ४० माइक्रोनभन्दा कमको प्लाष्टिक झोला प्रयोग नगर्ने प्रतिबद्धता जनाएकाे छ । नेपाल सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लाष्टिक झोला प्रयोगमा राेक लगाउने निर्णय गरेकाे थियाे । सरकारकाे उक्त निर्णयलाई हेटाैडा उपमहानगरपालिकाले कार्यान्वयनमा ल्याउने भएकाे हाे ।
सोमबार हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागाईले कार्यालय परिसरमा ४० माइक्रोनभन्दा कमको प्लाष्टिकको झाेला प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–२ र हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको प्रतिबद्धता कार्यक्रममा हस्ताक्षर गर्दै उपप्रमुख बानियाँ र अधिकृत चौलागाईंले प्रतिबद्धता जनाएका थिए ।
उपमहानगरका उपप्रमुख बानियाँले औपचारिक कार्यक्रमभन्दा पनि प्रतिफलमा ध्यान दिन आग्रह गरे । उनले भने ‘धेरै अघिबाट यस्ता अभियानहरु सञ्चालन भएका छन् । तर, कार्यान्वयनमा नआउँदा समस्या भएको छ ।’ अभियानलाई कार्यान्वयनमा ल्याउनका लागि सुक्ष्म अध्ययन गरेर उद्याेग वाणिज्य संघलगायतकाे संस्थासँग सहकार्य गर्दै अघि बढ्नु पर्ने उनले बताए । अभियानलाई प्रभावकारी बनाउँनका लागि बजारका पसलहरु, विक्री केन्द्र र आयातलाई रोक्न जरुरी रहेको उपप्रमुख बानियाँले बताए ।
प्रतिबद्धता अनुसार उपमहानगर कार्यालय परिसर र हेटौंडा उपमहानगरपालिका– २ नम्बर वडा क्षेत्रमा ४० माइक्रोन बराबरको प्लाष्टिकको प्रयोग नगर्ने र गर्न नदिने उल्लेख छ । चालु आर्थिक वर्षमा कार्यपालिकाको बैठकबाटै उपमहानरसहित हेटौंडा–२ मा रहेका सरकारी कार्यालय र टोलमा कम तौल भएका प्लाष्टिकको प्रयोग रोक्ने अभियान सुरु भएकाे हाे ।

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ हनुमानगेट नजिक बस, ट्याङ्कर र बाइक शुक्रबार एक आपसमा ठोकिँदा घाइते भएकामध्ये ट्याङ्कर चालक सन्जीव रानाको मृत्यु भएको छ । मृत्यु हुने राना बर्दघाट–१ नवलपरासीकाे भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
शुक्रबार विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको लु २ ख २७५८ नम्बरको ट्याङ्कर र हेटौंडामा विरगंजतर्फ जाँदै गरेको बा ८ ख ६३४६ नम्बरको बस आपसमा ठोक्किएको दुर्घटना भएकाे थियो । बसको पछाडि आइरहेको लु ४६ प ६१३० नम्बरको मोटरसाईकल पनि बसमा ठोकिएकाे थियाे । दुर्घटनामा ट्याङ्कर चालक राना सहित १६ जना घाइते भएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे थियाे । घाइते रानालाई शुक्रबार राति नै उपचारका लागि चितवन पठाइएकोमा शनिबार बिहान डाक्टरले मृत्यु घोषणा गरेको हो ।
घाइतेमध्ये ट्याङ्कर चालक र मोटरसाइकल चालकलाई उपचारका लागि चितवन पठाइएको थियो । मोटरसाइकल चालकको अहिले चितवनमा उपचार भईरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ । यस्तै अन्य घाइते १४ जनालाई उपचारका लागि हेटौंडा अस्पतालमा राखिएकोमा केही भने डिस्चार्ज भइसकेका प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आव २०७९।०८०को लागि ६७ करोड ४४ लाख १२ हजारको अनुमानित बजेट प्रस्तुत गरेकाे छ ।
शुक्रबार आयोजित दोस्रा गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालीले गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै कुल ६७ करोड ४४ लाख २२ हजार बराबरको अनुमानित आयव्यय पेश गरेकी हुन् ।
गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको सभाध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष नेपालीले आगामी आर्थिक वर्षमा कुल बजेटको पुँजिगततर्फ ३२ करोड ७६ लाख ७ हजार अर्थात (४८ दशमलव ५८ प्रतिशत) र चालु तर्फ ३४ करोड ६८ लाख १५ हजार अर्थात (५१ दशमलव ४२ प्रतिशत) बजेट विनियोजन गरेको जानकारी गराइन् ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि जनताका समस्याहरुलाई आत्मसाथ गरी शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्यमशीलता, रोजगरी, मानवीय विकास एवम् गाउँपालिकाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक लगायतका विकासमा सबै पक्षसँग सहकार्य गर्दै अघिल्लो सरकारको अनुभव एवम् पुरा गर्न बाँकी कार्यहरुलाई महत्व दिएर बजेट निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताए ।