मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले ४० माइक्रोनभन्दा कमको प्लाष्टिक झोला प्रयोग नगर्ने प्रतिबद्धता जनाएकाे छ । नेपाल सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लाष्टिक झोला प्रयोगमा राेक लगाउने निर्णय गरेकाे थियाे । सरकारकाे उक्त निर्णयलाई हेटाैडा उपमहानगरपालिकाले कार्यान्वयनमा ल्याउने भएकाे हाे ।
सोमबार हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागाईले कार्यालय परिसरमा ४० माइक्रोनभन्दा कमको प्लाष्टिकको झाेला प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–२ र हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको प्रतिबद्धता कार्यक्रममा हस्ताक्षर गर्दै उपप्रमुख बानियाँ र अधिकृत चौलागाईंले प्रतिबद्धता जनाएका थिए ।
उपमहानगरका उपप्रमुख बानियाँले औपचारिक कार्यक्रमभन्दा पनि प्रतिफलमा ध्यान दिन आग्रह गरे । उनले भने ‘धेरै अघिबाट यस्ता अभियानहरु सञ्चालन भएका छन् । तर, कार्यान्वयनमा नआउँदा समस्या भएको छ ।’ अभियानलाई कार्यान्वयनमा ल्याउनका लागि सुक्ष्म अध्ययन गरेर उद्याेग वाणिज्य संघलगायतकाे संस्थासँग सहकार्य गर्दै अघि बढ्नु पर्ने उनले बताए । अभियानलाई प्रभावकारी बनाउँनका लागि बजारका पसलहरु, विक्री केन्द्र र आयातलाई रोक्न जरुरी रहेको उपप्रमुख बानियाँले बताए ।
प्रतिबद्धता अनुसार उपमहानगर कार्यालय परिसर र हेटौंडा उपमहानगरपालिका– २ नम्बर वडा क्षेत्रमा ४० माइक्रोन बराबरको प्लाष्टिकको प्रयोग नगर्ने र गर्न नदिने उल्लेख छ । चालु आर्थिक वर्षमा कार्यपालिकाको बैठकबाटै उपमहानरसहित हेटौंडा–२ मा रहेका सरकारी कार्यालय र टोलमा कम तौल भएका प्लाष्टिकको प्रयोग रोक्ने अभियान सुरु भएकाे हाे ।


