मकवानपुर । हेटाैंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित वनदेवी आधारभूत विद्यालयमा निबन्ध प्रतियाेगिता भएकाे छ । आधारभूत तहकाे विद्यार्थीहरु बीच ‘कोरोनाले शिक्षामा पारेको प्रभाव’ विषयमा निबन्ध प्रतियाेगिता भएकाे हाे ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा वनदेवी आधारभूत विद्यालयको आयोजनामा निवन्ध प्रतियाेगिता साेमबार भएकाे हाे । उपमहानगरपालिकाका ७, ८, १४ र १५ नम्बर वडाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि ८ सम्मका विद्यार्थी बीच ‘कोरोनाले शिक्षामा पारेको प्रभाव’ विषयक स्थलगत निबन्ध प्रतियोगिता भएकाे विद्यालयका प्रधानाध्यापक जयप्रसाद पाेखरेलले बताए ।
४ वडाका १६ वटा विद्यालयका विद्यार्थी सहभागी भएका प्रतियाेगितामा तासिर इङ्लिस बोर्डिङ स्कुलकी सिमोन भट्टराई प्रथम, वनदेवी आभारभूत विद्यालयकी उर्जना घले द्वितीय, नवज्योति माध्यमिक विद्यालयकी प्रमिला थिङ तृतीय भएका थिए । यसैगरी माउन्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कुलकी नितिशा बराल र चन्द्रोदय माध्यमिक विद्यालयकी विशाका देउला सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियाेगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना भएका सफल विद्यार्थीहरूले क्रमशः ६ हजार, ४ हजार, २ हजार र १ हजार ५ सय नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
निवृत्त शिक्षक ध्रुबकुमार भुजेल , शिक्षकहरू ज्योती न्यौपाने र अनु रोक्का निर्णायक रहेकाे प्रतियोगिता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर घिमिरेको अध्यक्षता तथा हेटाैडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यतामा भएकाे हाे ।
प्रतियाेगितामा हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मोक्तन, शिक्षक महासंघ मकवानपुरका जिल्ला अध्यक्ष जिधराज ढकाल, १५ नं. वडा प्रतिनिधि मेनु विश्वकर्माको उपस्थिति रहेको थियाे ।

