मकवानपुर । हेटौडा उपमहानगरपालिकामा मंगलबार दिउँसो भएकाे दुर्घटनामा घाइते भएका १ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । हेटौडा–५, शान्तिनगरस्थित भित्री सडकखण्डमा भदाै २८ गते मंगलबार भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक अमृत मैनालीकाे मृत्यु भएको हाे ।
मंगलबार दिउँसो ४ बजेर २० मिनेटको समयमा शन्तिनगरतर्फबाट समीलतर्फ जाँदै गरेको ना ४३ प ८२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हेटौंडा–४ का २८ वर्षीय मैनालीलाई थप उपचारकाे लागि चितवन मेडिकल लगिएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे थियाे । भरतपुर मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा बुधबार दिउँसो ४ बजेर ५० मिनेटमा डाक्टरले मैनालीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले ५८ औं राष्ट्रिय बाल दिवसमा शुभकामना व्यक्त गरेका छन । हरेक बर्ष भदौ २९ गते मनाइने राष्ट्रिय बाल दिवसका अवसरमा प्रदेश प्रमुख शर्माले आज बुधबार विज्ञप्ति मार्फत शुभकामना व्यक्त गरेका हुन् ।
बालबालिकाको सवालमा व्यवस्था गरिएका विभिन्न संवैधानिक तथा कानूनी प्रावधानहरूको स्थानीय, प्रदेश तथा संघ तीनै तहका सरकारबाट प्रभावकारी कार्यान्वयन हुनुपर्दछ । ’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जारी विज्ञप्तिमा नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको दिनका अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको उल्लेख गरिएको छ ।
प्रमुख शर्माले वर्तमानका साझेदार एवं भविष्यका कर्णधार मानिने बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्बन्धित पक्ष लागिपरौं भन्ने आव्हान समेत गरेका छन् ।
‘‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’’ भन्ने नारासहित आज ५८ औं राष्ट्रिय बाल दिवस मनाइदै छ । २०२२ सालबाट भदौ ४ गते मनाइदै आइएको बाल दिवस २०६३ सालबाट भदौ २९ गते मनाउन थालिएको हो ।

मकवानपुर । हेटौंडा लेडी जेसिजको जेसिज सप्ताह आज सोमबारबाट सुरु भएको छ। हेटौंडा लेडी जेसिजले आज भदौं २७ गतेबाट ३० गतेसम्म विभिन्न कार्यक्रमको आयोजन गर्दै जेसिज सप्ताह मनाउँदै छ ।
जेसिज सप्ताह अन्तर्गत २७ गते सोमबार मनहरी स्थित आमा घर नेपालमा सहयोग हस्तान्तरण, महिला हिंसा विरुद्ध सचेतना तालिम र हुप्रचौर सरसफाइ गरि ३ वटा कार्यक्रमको आयोजन गरिएको जेसिजले जनाएको छ।
त्यसैगरी २८ गते हेटौंडा-११ स्थित त्रिभुवन माध्यामिक विध्यालयमा आत्मरक्षा तालिम र मकवानपुर बहुमुखी क्याम्पसमा स्वर्गीय बुद्ध रत्न शाक्य स्मृति वक्तृत्वकला कार्यक्रमको आयोजना गरिएको हेटौंडा लेडि जेसिज अध्यक्ष कविता पौडेलले जानकारी दिइन।
त्यस्तै भदौ २९ गते मकवानपुरगढी-५ मा रहेको मञ्जुश्री आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग कार्यक्रम र स्लो स्कुटर रेसको आयोजन गरिएको र ३० गते विहान हेटौंडा-४ मा डेङ्गु विरुद्धको सचेतना कार्यक्रम गर्दै सोही दिन साँझ समापन कार्यक्रम रहेको जेसिज मुल कार्यक्रम संयोजक सजिता केसी खत्रीले बताईन ।
मकवानपुर । अंगारेश्वर टोलविकास संस्था हेटौंडा १७ ले टोल सरसफाई गरेको छ। टोलविकास संस्थाका अध्यक्ष श्री सिताराम वाइबाको नेतृत्वमा कठायत चोकबाट बालबोध माध्यमिक विद्यालयसम्म सफाई गरेको हो।
सरसफाईको क्रममा सडक किनारमा रहेका झाडी सफा गर्ने, फ्याँकिएका पोलिथिन झोला र प्लास्टिकजन्य पदार्थ संकलन तथा बाटोमा रहेको गिट्टी र बालुवा व्यवस्थापन गरिएको हो । कार्यक्रममा अध्यक्ष वाइबाले सरसफाई कार्यक्रमलाई निरन्तरता दिइ अंगारेश्वर टोललाई हेटौंडाको सफा टोलको चिनारी बनाउन लागि पर्ने बताए।
टोलविकासका ८५ जना सहभागी भएको सरसफाई कार्यक्रममा महिला सहभागिता बढाउन उपाध्यक्ष रमा खड्काले सक्रिय भूमिका निर्वाह गरेको संस्थाकी सचिव सन्तोषी खड्काले जानकारी दिईन् ।

चितवन । चितवनमा रहेर साहित्य कला र संस्कृतिकाे क्षेत्रमा याेगदान गर्दै आएकाे संस्था हाम्रो मझेरी साहित्य प्रतिष्ठानले विभिन्न विधाका १३ जना स्रष्टालाई सम्मान गर्ने भएकाे छ । प्रतिष्ठानकाे २३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असोज १० गते घटस्थापनाका दिन भरतपुरमा विभिन्न स्रस्टाहरूलाई सम्मान गर्ने भएको हाे ।
प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला-संस्कृति, पत्रकारिता गीतसंगीतलगायतका विभिन्न बिधामा साधनारत स्रस्टालाई सम्मान गर्न लागेको प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अन्जलीले विज्ञप्ति प्रकाशित गरी जानकारी दिए ।
प्रतिष्ठानले हरेक वर्ष प्रदान गरिँदै आएको हाम्रो मझेरी साहित्य सम्मान २०७९ बाट वरिष्ठ साहित्यकार तथा मदन पुरस्कार विजेता रामलाल जोशी (धनगढी, कैलाली), लेखक/समालोचक उदय अधिकारी (भरतपुर, चितवन), कवि/गजलकार केशव आचार्य (बिर्तामोड, झापा), गजलकार विनोद अनुज (चितवन), गजलकार सीता शर्मा (गान्तोक, सिक्किम) लाई सम्मानित गर्ने भएकाे छ ।
यसैगरी सङ्गीतकार विशाल ढकाल (गैंडाकोट, नवलपुर), कवि/कथाकार सरस्वती शर्मा क्षेत्री (दार्जिलिङ), कवि सुमन घिमिरे (सर्लाही), कवि/गजलकार/आख्यानकार सुशीला पौडेल (काठमाडौं), क़कवि विश्वप्रेम अधिकारी (स्याङ्जा), गजलकार साबित्री गिरी (पोखरा), पत्रकार/लेखक विनोदबाबु रिजाल (चितवन), नाटककार/कवि/मुक्तककार माधव पोखरेल (हेटौँडा) लाई सम्मान गर्ने भएकाे हाे ।
कवि प्राध्यापक डाक्टर भीम खतिवडाको प्रमुख आतिथ्यतामा प्रतिष्ठानकाे २३ औं वार्षिकोत्स्वका अवसरमा सम्मानित गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । यसैगरी २३ औं वार्षिकोत्स्वका समारोहमा नेपाली गजलको इतिहासमा एउटा अर्को नवीनतम दस्तावेज गजल ए महफिल र हाम्रो मझेरी साहित्यिक पत्रिका ५९ अङ्क लोकार्पण गरिने उनले बताए ।