मकवानपुर । हेटौंडामा १५ दिने कफी बनाउने तालिम बिहीबारबाट सुरु भएकाे छ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र रोजगारीतर्फ उन्मुख गराउने उद्देश्यले तालिमकाे उद्घाटन गरिएको हाे ।
तालिमकाे उद्घाटन गर्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले युवालाई सीपमूलक तालिममार्फत स्वरोजगारमा जोड्नु आवश्यकता रहेकाे बताइन् । ‘पुनर्स्थापना केन्द्रहरू केवल उपचार गर्ने स्थान मात्र होइनन्, यहाँबाट नयाँ जीवनको सुरुवात हुनुपर्छ’ उनले भनिन् ‘कफी बनाउने सीपले युवाहरूलाई आत्मसम्मानसहित आत्मनिर्भर बन्न सहयोग पुर्याउँछ ।’ प्रदेश सरकारले सीप मुलक कार्यक्रमलाई निरन्तर दिदै समर्थन समेत गर्ने उनले बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश प्रमुख चन्द्रकान्त चपागाईंले पुनर्स्थापना र मानव अधिकार एक–अर्कासँग गहिरो रूपमा जोडिएको विषय भएकाे बताए । ‘सीप विकास र रोजगारीको अवसर बिना पुनर्स्थापना अपूरो हुन्छ’ उनले भने ‘यस्तो तालिमले युवालाई समाजमा सम्मानका साथ पुनःस्थापित हुन सहयोग गर्दछ, जुन मानव अधिकारको महत्वपूर्ण पक्ष हो ।’
उद्योग तथा वाणिज्य कार्यालय, मकवानपुर प्रमुख रामप्रसाद भुसालले तालिमलाई व्यवहारिक र बजारमुखी बनाउन जोड दिनु पर्ने बताए । ‘कफी बनाउने सीप अहिले रोजगारी र उद्यमशीलताको राम्रो सम्भावना बोकेको क्षेत्र हो‘ उनले भने ‘तालिमपछि सहभागीहरूले आफैं रोजगारी सिर्जना गर्न सक्ने अवस्था बनाउनु पर्छ ।’
सिआन पुनर्स्थापना केन्द्रका निर्देशक सौजन क्षेत्री (डी.सी.) ले युवाहरूलाई कमजोरीका आधारमा होइन, क्षमताका आधारमा अघि बढाउने बताए । केन्द्रको उद्देश्य र अभियानबारे प्रकाश पार्दै उनले भने ‘तालिम आत्मविश्वास र भविष्य निर्माण तर्फको महत्वपूर्ण पाइला हो ।’
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय अन्तरगतकाे उद्योग तथा वाणिज्यको आर्थिक सहयोग तथा सिआन पुनर्स्थापना केन्द्र, हेटौंडाको आयोजनामा सुरु गरिएकाे तालिममा विशेषतः सिआन पुनर्स्थापना केन्द्रमा उपचाररत युवाहरूलाई प्राथमिकता दिइएकाे छ । कफी बनाउने तालिम सिआन भवन, हेटौंडा–९, लामसुरेमा सञ्चालन हुने छ ।
आयोजकले तालिमले युवाहरूलाई सीप, अनुशासन र आत्मनिर्भर जीवनतर्फ प्रेरित गर्ने विश्वास लिइएको बताएकाे छ । प्रदेश सरकारको उद्यमशीलता, सीपमूलक तालिम र स्वरोजगार प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रमलाई समेत प्रभावकारी रूपमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा मकवानपुरकी कानुनी व्यवसायि अप्सरा बस्नेतको नाम सिफारिस गरिएको छ। यो सँगै अधिवक्ता बस्नेत नेपालकै पहिलो महिला मुख्य न्यायाधिवक्ता बन्ने भएकी छन्।
मंगलबार उनको नाम मुख्य न्यायाधिवक्ताका लागि सिफारिस गरिएको हो। यसअघि दोलखाका जिल्लाका अधिवक्ता सुकदेव काफ्ले मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा थिए। काफ्लेले राजीनामा दिएपछि बस्नेतको नाम सिफारिस गरिएको हो।
जिल्ला बार एसोसिएसन मकवानपुरकी निवर्तमान अध्यक्ष अधिवक्ता बस्नेत एसोसिएसनको पहिलो महिला अध्यक्ष समेत हुन् । १२ बर्षदेखि निरन्तर वकालतमा संलग्न बस्नेत पोलिटिकल साइन्समा स्नातकोत्तर हुन भने एल.एल.एमको विद्यार्थी हुन् ।
बस्नेतलाई आइतबार औपचारिक रूपमा शपथग्रहण गराइने तयारी गरिएको बताइएकाे छ। मकवानपुरकि स्थायी वासिन्दा बस्नेत महिलावादी कानुन कार्यान्वयनमा झुकाव राख्छिन । उनले जिल्ला कानुन सहायता समिति मकवानपुरमार्फत केही बर्ष निःशुल्क कानुनी सहायता उपलब्ध गराउने भूमिकामा समेत रहेर काम गरेकी छिन् ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकाे बजार क्षेत्रका राजमार्ग क्षेत्रका सडक २५ गज सडक विस्तार विरुद्ध सर्वोच्च अदालतमा दायर रिट बुधबार सुनुवाइ भएन । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको भए पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हाे ।
रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसाकारसमेतले दायर गरेको उक्त रिट सर्वोच्चको इजलास नम्बर ६ को ‘च’ नम्बरमा सुनुवाइका लागि पेशी तोकिएको थियो । तर, उक्त इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि आजका लागि तोकिएको सुनुवाइ रोकिएको हो ।
डिभिजन सडक कार्यालय हेटौडाले हेटौंडा बजार क्षेत्रमा सडक सीमा २५/२५ गज (२२.५ मिटर) भित्रका संरचना हटाएर सडक विस्तार गर्न ५ मंसिरमा १५ दिनकाे समय सिमा ताेकी सूचना प्रकाशित गरेपछि कंसाकारलगायतले गत १६ मंसिर गते सर्वोच्चमा रिट दर्ता गराएका थिए । निवेदकहरुले व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप भएको र प्रक्रिया नपुर्याई संरचना हटाउन खोजिएको भन्दै मुद्दा दायर गरेका थिए ।
डिभिजन सडक कार्यालय हेटौंडा, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाएर दायर रिट माथि १९ मंसिरमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले निवेदकको माग बमोजिम तत्कालका लागि संरचना नहटाउन र यथास्थितिमा राख्न विपक्षीका नाममा ‘अल्पकालीन अन्तरिम आदेश’ जारी गरेको थियो ।
अदालतले २६ मंसिरमा दुवै पक्षलाई छलफल गर्न बोलाइएकाेमा न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले उक्त मुद्दासँग सम्बन्धित मिसिल झिकाउने आदेश गरेको थियो । सोही आदेशानुसार २ पुस २का लागि पेसी तोकिएको थियो ।
मकवानपुर । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरिएकाे छ । विपक्षी ३ दलले प्रदेश सरकारले तत्काल संसद्को हिउँदे अधिवेशन बाेलाउन माग गरेका हुन् ।
अधिवेशन नबोलाए प्रदेशसभा नियमावली अनुसार अघि बढ्ने चेतावनी दिएका छन् । साबिकको नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीका साथै हाम्रो नेपाली पार्टीले प्रदेश सभाकाे हिउँदे अधिवेशन तत्काल बाेलाउन माग गर्दै बुधवार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले ज्ञापन पत्रमा सरकारसँग तीन बुँदे माग समेत राखेका छन् ।
तत्काल हिउँदे अधिवेशन आह्वान गर्नुपर्ने, चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट कटौती नगरी हुबहु कार्यान्वयन गर्नुपर्ने र संसदमा टेबल भई पारित भएका थप योजनामा बजेट व्यवस्था गर्नुपर्ने माग राख्दै बुझाइएकाे पत्रमा सरकार संसदप्रति उत्तरदायी नभएको र लामो समयसम्म संसद् छलेर भाग्न खोजेको आरोप लगाइएकाे छ ।
प्रतिपक्ष दलले तत्काल प्रदेश सभाकाे बैठक नबाेलाए नियमावली अनुसार अघि बढ्ने चेतावनी समेत दिएका छन् । संसद नियमावलीमा सरकारले अधिवेशन नबोलाएको खण्डमा एक चौथाइ सांसदले समावेदन दिएर विशेष अधिवेशन वा बैठक बोलाउन सक्ने व्यवस्था छ । सरकारको गैरजिम्मेवारीपनले चालु बजेट (वर्षे) अधिवेशन हठात अन्त्य गरेको उनीहरूको भनाइ छ ।
गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि देश ठुलो संकटबाट गुज्रिरहेको भन्दै नेपाली काँग्रेस र नेकपा एमालेकै गठबन्धनबाट चलिरहेको बागमती प्रदेश सरकार देशले यति धेरै मानवीय र भौतिक क्षति बेहोर्दा समेत प्रदेश सरकार गम्भीर नबनेको विपक्षी दलको आरोप छ ।
दुई दलीय गठबन्धन सरकारबाट आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट आएको, यस बिचमा सरकारको नेतृत्व र मन्त्री मात्र फेरबदल भएको भन्दै ज्ञापन पत्रमा भनिएको छ विद्यमान सरकार पुरानो गठबन्धनकै निरन्तरता हो । तसर्थ सरकार आर्थिक वर्षका विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने दायित्वबाट पन्छिन पाउँदैन ।
ज्ञापनपत्रमा बागमती प्रदेशसभाका प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेकपा एकीकृत समाजवादी पार्टीका वसन्त मानन्धर र हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
मकवानपुर । हेटौंडामा घर भत्काउने क्रममा ४ जना घाइते भएका छन् । गत २० मंसिरमा राजमार्गकाे क्षेत्र अन्तर्गत पर्ने हेटौंडा बजारमा डोजर चलाएर छोडेको घर भत्काउने क्रममा गत बुधबार १ र आइतबार (आज) ३ जना गरी हालसम्म ४ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार हेटौडा १ स्थित उद्योग वाणिज्य संघ अगाडीको बिकी जैसवालको घरका संरचना भत्काउने क्रममा मकवानपुर मकवानपुरगढी १ रानिसेरा बस्ने २२ वर्षीय सन्तोष भ्लोन, उदयपुर गाईघाट ९ बस्ने २६ वर्षीय दिनेश चौधरी, उदयपुर बेलका १ पुरन्दा बस्ने ३० वर्षीय अरुण चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बाेगटीले जानकारी दिए ।
घाइतेहरुलाई मकवानपुर प्रहरीले स्थानीय समेतको सहयोगमा उद्दार गरी उपचारको लागि अस्पताल पठाएको छ । घाइते ३ जना मध्ये सन्तोष र दिनेशकाे मकवानपुर सहकारी अस्पताल र अरुणकाे हटौंडा अस्पतालमा उपचार भइरहेकाे छ । उनीहरुकाे शरीरका बिभिन्न भागमा चोट पटक लागेकाे तर अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।
यस अघी २४ मंसिर बुधबार हेटौडा १ उद्योग वाणिज्य संघ अगाडि नै रहेकाे सुदिप थापा सडक बिस्तारको क्रममा भत्काइएकाे घर सफा गर्ने क्रममा १ जना कामदार घाइते भएका थिए । दुई तला माथिको ढलान तल झर्दा रौतहट माधवनारायण ७ लौकाहा घर भई हाल हेटौडा १० बुद्धचोकमा बस्दै आएका १९ वर्षीय जितेन्द्र माझी घाइते भएका हुन् ।
हेटौंडा बजार क्षेत्रकाे राजमार्ग विस्तार गर्ने क्रममा करिब ५०० घरमा डोजर चलाएर छोडेकोमा अहिले बाँकी संरचना घरधनीहरुले हटाइरहेको छन् । सडक डिभिजन कार्यालयले डोजर लगाएर भत्काइएकाे संरचनामा रहेकाे सामान हटाउन र बाँकी संरचना घरधनी आफैंले हटाउन भनेकाे थियाे । अहिले बुद्धचोकबाट उत्तर तर्फकाे त्रिभुवन राजपथ क्षेत्रमा पर्ने घरधनीहरुले बाँकी संरचान हटाउने काम गरिरहेका छन् ।