मकवानपुर । हेटौंडामा १५ दिने कफी बनाउने तालिम बिहीबारबाट सुरु भएकाे छ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र रोजगारीतर्फ उन्मुख गराउने उद्देश्यले तालिमकाे उद्घाटन गरिएको हाे ।
तालिमकाे उद्घाटन गर्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले युवालाई सीपमूलक तालिममार्फत स्वरोजगारमा जोड्नु आवश्यकता रहेकाे बताइन् । ‘पुनर्स्थापना केन्द्रहरू केवल उपचार गर्ने स्थान मात्र होइनन्, यहाँबाट नयाँ जीवनको सुरुवात हुनुपर्छ’ उनले भनिन् ‘कफी बनाउने सीपले युवाहरूलाई आत्मसम्मानसहित आत्मनिर्भर बन्न सहयोग पुर्याउँछ ।’ प्रदेश सरकारले सीप मुलक कार्यक्रमलाई निरन्तर दिदै समर्थन समेत गर्ने उनले बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश प्रमुख चन्द्रकान्त चपागाईंले पुनर्स्थापना र मानव अधिकार एक–अर्कासँग गहिरो रूपमा जोडिएको विषय भएकाे बताए । ‘सीप विकास र रोजगारीको अवसर बिना पुनर्स्थापना अपूरो हुन्छ’ उनले भने ‘यस्तो तालिमले युवालाई समाजमा सम्मानका साथ पुनःस्थापित हुन सहयोग गर्दछ, जुन मानव अधिकारको महत्वपूर्ण पक्ष हो ।’
उद्योग तथा वाणिज्य कार्यालय, मकवानपुर प्रमुख रामप्रसाद भुसालले तालिमलाई व्यवहारिक र बजारमुखी बनाउन जोड दिनु पर्ने बताए । ‘कफी बनाउने सीप अहिले रोजगारी र उद्यमशीलताको राम्रो सम्भावना बोकेको क्षेत्र हो‘ उनले भने ‘तालिमपछि सहभागीहरूले आफैं रोजगारी सिर्जना गर्न सक्ने अवस्था बनाउनु पर्छ ।’
सिआन पुनर्स्थापना केन्द्रका निर्देशक सौजन क्षेत्री (डी.सी.) ले युवाहरूलाई कमजोरीका आधारमा होइन, क्षमताका आधारमा अघि बढाउने बताए । केन्द्रको उद्देश्य र अभियानबारे प्रकाश पार्दै उनले भने ‘तालिम आत्मविश्वास र भविष्य निर्माण तर्फको महत्वपूर्ण पाइला हो ।’
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय अन्तरगतकाे उद्योग तथा वाणिज्यको आर्थिक सहयोग तथा सिआन पुनर्स्थापना केन्द्र, हेटौंडाको आयोजनामा सुरु गरिएकाे तालिममा विशेषतः सिआन पुनर्स्थापना केन्द्रमा उपचाररत युवाहरूलाई प्राथमिकता दिइएकाे छ । कफी बनाउने तालिम सिआन भवन, हेटौंडा–९, लामसुरेमा सञ्चालन हुने छ ।
आयोजकले तालिमले युवाहरूलाई सीप, अनुशासन र आत्मनिर्भर जीवनतर्फ प्रेरित गर्ने विश्वास लिइएको बताएकाे छ । प्रदेश सरकारको उद्यमशीलता, सीपमूलक तालिम र स्वरोजगार प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रमलाई समेत प्रभावकारी रूपमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

