मकवानपुर । मकवानपुरबाट ५ जना नेकपा एमालेकाे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेकाे काठमाडौंमा भएकाे ११ औं महाधिवेशनबाट मकवानपुरका ५ जना केन्द्रिय कमिटिमा अटाएका हुन् ।
केन्द्रिय सदस्य तथा लेखा आयोग सदस्यमा दावी पेश गर्दै महाधिवेशन अन्तरगतकाे चुवानमा उम्मेदवार भएका भारती पाठक, रामेश्वर राना, महेश बर्तौला, एकालाल श्रेष्ठ र नवीन सिग्देल निर्वाचित भएका हुन् । सिग्देलले लेखा आयोगकाे सदस्यमा तथा अन्य ४ जनाले केन्द्रिय सदस्यमा जित हात पारेका छन् ।
केन्द्रिय सदस्यमा उम्मेदवार भएका कृष्ण प्रसाद दाहाल (७ सय ७ मत) र देवकृष्ण विक (२ सय २९ मत) पराजित भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल बीच अध्यक्षमा भएकाे प्रतिष्पर्धामा दाहाल र विकले पोखरेलकाे टिमबाट उम्मेदवारी दिएका थिए । यसैगरी निर्वाचित ५ चै जनाले अध्यक्ष ओलीकाे टिमबाट उम्मेदवारी पेश गरेका थिए । ।
बागमती प्रदेशसभाकी सदस्य पाठक (१ हजार ९१५ मत) महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् भने पूर्व सांसद एवम् एमालेका मुख्य सचेतक महेश बर्तौला (१ हजार ५२९ मत) ले खुला क्लस्टरबाट उम्मेदवारी दिएर जित हासिल गरेका हुन् । नेकपा एमाले मकवानपुरका इन्चार्ज समेत रहेका राना १ हजार ४९८ मत बागमती प्रदेश भूगोल तर्फको खुल्ला क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
त्यसैगरी बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ १ हजार ५०९ मत आदिवासी जनजाति खुल्ला क्लस्टरमा केन्द्रीय सदस्यमा निर्वाचित हुँदा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देल १ हजार ६१४ मत प्राप्त गरी केन्द्रीय लेखा आयोग सदस्यमा पदमा चुनिएका छन् । सिग्देल २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनबाट समेत ४ नम्बर वडाध्यक्ष मै निर्वाचित भएका थिए भने एमाले मकवानपुरका पूर्व सचिव समेत रहेका छन् ।

