मकवानपुर । बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईले लैंगिक हिंसा अन्त्यका लागि राज्यका सबै तहले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताएकी छिन् । लैंगिक हिंसा प्रतिकार्य संयन्त्र सुदृढीकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र भूमिका सम्बन्धी प्रदेशस्तरीय सम्मेलनमा उनले उक्त कुरा बताएकी हुन् ।
मकवानपुरकाे हेटौंडाम भएकाे उक्त कार्यक्रम सम्बाेधन गर्दै उपसभामुख चापागाईंले भनिन् ‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा प्रभावकारी सुधार बिना लैंगिक हिंसा अन्त्य सम्भव छैन ।’ ‘शिक्षा, स्वास्थ्य र रोजगारीमा महिलाको सहज पहुँच सुनिश्चित गर्न सके महिला माथिकाे सबै प्रकारका विभेद र हिंसा अन्त्य गर्न सहज हुन्छ’ उनले भनिन् ‘यसकाे लागि हरेक तहकाे जिम्मेवारीमा रहेकाे व्यक्तिले इमान्दारीताका साथ आफ्नो दायित्व पूरा गर्नुपर्ने हुन्छ ।’
यसैबीच उपसभामुख चापागाईंलाई लैंगिक हिंसा अन्त्यका लागि १२ बुँदे मागपत्र बुझाइएकाे छ । लैंगिक हिंसाको अन्त्यका तथा पीडितलाई न्याय सुनिश्चित गर्न तेस्रो बागमती प्रदेश स्तरीय महिला सम्मेलनबाट पारित उक्त मागपत्र बुझाइएकाे हाे । यौन हिंसा विरुद्ध अभियान चितवनकी सावित्री पौडेलले उपसभामुख चापागाईलाई मागपत्र हस्तान्तरण गरेकी हुन् ।
संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक, रोजगारीको हक लगायतका अधिकारको प्रभावकारी कार्यान्वयनको माग गरिएको मागपत्रमा हिंसा प्रभावित महिलालाई प्रमाण संकलनको जिम्मा थोपर्ने अभ्यासको अन्त्य गर्दै अनुसन्धान र न्यायिक प्रक्रियामा राज्य निकायलाई जिम्मेवार बनाउने नीति निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, स्थानीय तहमा न्यायिक डेस्क स्थापना गरी जोखिममा रहेका महिलाको अधिकार संरक्षण गर्नुपर्ने, न्यायमा पहुँच र सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने, समुदाय तहमा सहयोगी संयन्त्र तुरुन्त गठन गर्नुपर्ने तथा हिंसा प्रभावित महिलाको मनोबल अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिएकाे छ । महिलालाई आर्थिक रूपमा सशक्त बनाउन व्यवसायिक सीप र क्षमताको विकासमा जोड दिनुपर्ने मागपत्रमा उल्लेख गरिएको छ ।
एक्सनएड नेपालको आर्थिक सहयोगमा मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय महिला प्रतिष्ठान, महिला अधिकारका लागि राष्ट्रिय अभियान, मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्ध जिल्ला सञ्जाल मकवानपुर र यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनको संयुक्त सहकार्यमा गरिएको सम्मेलनमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्दै लैंगिक हिंसा प्रतिकार्य प्रणाली मजबुत बनाउने उपायबारे समूह छलफल समेत गरिएको थियो ।
चितवन सक्रिय महिला प्रतिष्ठानकी उपाध्यक्ष दिक्षा रिमालको सभाध्यक्षता भएकाे कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामा, राष्ट्रिय महिला आयोगकी उपसचिव रोशनी कार्की, बागमती प्रदेश प्रहरी प्रमुख अरुण पौडेल, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुवासचन्द्र बोहरा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी तथा महिला अधिकारकर्मीको उपस्थिति रहेको थियो ।

