मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरकाे कैलाशका एक चेपाङ दम्पतीलाई घर बनाइ दिएका छन् । उनले आफूले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट बनाइएकाे घर कैलाश गाउँपालिका–४ धुसरका दम्पती लालकुमार चेपाङ र सानुमाया चेपाङलाई हस्तान्तरण गरेका हुन् ।
घर हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले विपन्न नागरिकलाई आफूले सेवा सुविधाको रकम खर्च गरेर घर निर्माण गरिदिएकाे बताउँदै प्रदेश सरकारमार्फत पनि आवास कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । ‘आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरू गाँस, बास र कपासबाट बञ्चित हुन नदिने उदेश्य छ’ उनले भने ‘प्रदेशभरका गरिब निमुखा, दलित, सिमान्तकृत, एकल महिलालगायतलाई समेटेरे एक हजार वटा घर निर्माण गरी हस्तान्तरण गर्ने योजना छ ।’ यसकाे लागि प्रदेश सरकारले कार्यविधि बनाएर कार्य बढाउन लागेकाे उनले बताए ।
घर निर्माणसँगै उनीहरुलाई आयआर्जनका लागि बिना ब्याजमा प्रति परिवार २ लाख रुपैयाँ ऋणसमेत दिइने मुख्यमन्त्रीले जनाकारी दिए । कार्यक्रमकस्थलमै मुख्यमन्त्री बानियाँले चेपाङ दम्पतिलाई आयआर्जनका लागि बाख्रा पालन गर्न अनुरोध गर्दै नगद २० हजार रुपैयाँसमेत सहयोग हस्तान्तरण गरेका थिए ।
करिब ८ लाख रुपैयाँ लगानीमा ३ वटा कोठाको जस्ताले छाएको घर र शौचालय निर्माण गरिएको हाे । कैलाश गाउँपालिकाले अति विपन्न पहिचान गरी उनीहरुकाे लागि घर निर्माण गर्न मुख्यमन्त्री बानियाँ समक्ष सिफारिस गरेको थियो । गाउँपालिकाको सिफारिसपछि उनले आफूले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट खर्च गर्नेगरी केही महिनाअघि घर निर्माण सुरु गराएका थिए ।
पचास वर्षीय लालकुमार लामो समयदेखि जीर्ण र असुरक्षित घरमा बस्दै आएका थिए । सानै उमेरमा हात जलेर सानुमाया आंशिक अपांग छिन् । उनीहरुकाे नाममा दुई कट्ठा नम्बरी र झण्डै तीन–चार कठ्ठा ऐलानी जग्गा छ । आर्थिक अभावका कारण उनीहरू सुरक्षित घर निर्माण गर्न असमर्थ थिए । घर निर्माणसँगै ओढ्ने, ओच्छ्याउने लगायतका लत्ताकपडाको व्यवस्थापन कैलाश गाउँपालिकाले गरिदिने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले प्रतिवद्धता व्यक्त गरे ।
यसअघि मुख्यमन्त्री बानियाँले आफ्नो सुविधाको रकमबाट मकवानपुर मनहरी गाउँपालिका–९ की मिठुमाया सुनारकाे लागि ७ लाख रुपैयाँ लगानीमा घर निर्माण गरी हस्तान्तरण गरेका छन् । यसैगरी उनकै पहलमा राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर पनि निर्माणको क्रममा रहेको बताइएकाे छ ।
हेर्नुहाेस भिडियो

