मकवानपुर । हेटौंडामा घर भत्काउने क्रममा ४ जना घाइते भएका छन् । गत २० मंसिरमा राजमार्गकाे क्षेत्र अन्तर्गत पर्ने हेटौंडा बजारमा डोजर चलाएर छोडेको घर भत्काउने क्रममा गत बुधबार १ र आइतबार (आज) ३ जना गरी हालसम्म ४ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार हेटौडा १ स्थित उद्योग वाणिज्य संघ अगाडीको बिकी जैसवालको घरका संरचना भत्काउने क्रममा मकवानपुर मकवानपुरगढी १ रानिसेरा बस्ने २२ वर्षीय सन्तोष भ्लोन, उदयपुर गाईघाट ९ बस्ने २६ वर्षीय दिनेश चौधरी, उदयपुर बेलका १ पुरन्दा बस्ने ३० वर्षीय अरुण चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बाेगटीले जानकारी दिए ।
घाइतेहरुलाई मकवानपुर प्रहरीले स्थानीय समेतको सहयोगमा उद्दार गरी उपचारको लागि अस्पताल पठाएको छ । घाइते ३ जना मध्ये सन्तोष र दिनेशकाे मकवानपुर सहकारी अस्पताल र अरुणकाे हटौंडा अस्पतालमा उपचार भइरहेकाे छ । उनीहरुकाे शरीरका बिभिन्न भागमा चोट पटक लागेकाे तर अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।
यस अघी २४ मंसिर बुधबार हेटौडा १ उद्योग वाणिज्य संघ अगाडि नै रहेकाे सुदिप थापा सडक बिस्तारको क्रममा भत्काइएकाे घर सफा गर्ने क्रममा १ जना कामदार घाइते भएका थिए । दुई तला माथिको ढलान तल झर्दा रौतहट माधवनारायण ७ लौकाहा घर भई हाल हेटौडा १० बुद्धचोकमा बस्दै आएका १९ वर्षीय जितेन्द्र माझी घाइते भएका हुन् ।
हेटौंडा बजार क्षेत्रकाे राजमार्ग विस्तार गर्ने क्रममा करिब ५०० घरमा डोजर चलाएर छोडेकोमा अहिले बाँकी संरचना घरधनीहरुले हटाइरहेको छन् । सडक डिभिजन कार्यालयले डोजर लगाएर भत्काइएकाे संरचनामा रहेकाे सामान हटाउन र बाँकी संरचना घरधनी आफैंले हटाउन भनेकाे थियाे । अहिले बुद्धचोकबाट उत्तर तर्फकाे त्रिभुवन राजपथ क्षेत्रमा पर्ने घरधनीहरुले बाँकी संरचान हटाउने काम गरिरहेका छन् ।

