मकवानपुर । नेकपा एमालेकाे ११ औं महाधिवेशन वन्दसत्र पहिले बसेकाे केन्द्रिय कमिटीकाे बैठकमा ३ जना शीर्ष नेताले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।
नेतृत्वको रस्साकस्सी चलिरहेका बेला उनीहरुले अब कुनै पदमा उम्मेदवार नबन्ने समेत घोषणा गरेका छन् । तर उनीहरुले पार्टीको सदस्यता भने कायम राख्ने बताएका छन् । एमालेकाे सक्रिय राजनीति नगर्ने घोषणा गर्नेहरूमा उपाध्यक्षद्धय युवाराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा अनुशासन आयोग अध्यक्ष केशव बडाल छन् ।
नेकपा एमालेको ११औं महाधिवेशनमा सात दशक पार गरेका नेताहरूबिच नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेका बेला तीन नेताले स्वेच्छिक अवकाश रोजेर उदाहरण दिन खाेजेकाे बताइएकाे छ । उनीहरुले पार्टीलाई आफ्नो अनुभवको आधारमा योगदान गर्ने घोषणा समेत गरेका छन् ।
३०१ केन्द्रीय सदस्य निर्वाचित हुने
नेकपा (एमाले)को ११औँ महाधिवेशनमार्फत ३०१ केन्द्रीय सदस्य निर्वाचित हुने भएका छन् । एमालेले निर्माण गरेको संरचना अनुसार ३०१ जनाबाटै १९ पदाधिकारी पनि निर्वाचित हुने छन् ।
१९ जना पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ९ जना निर्वाचित हुने भएका छन् ।
त्यस्तै उपत्यका सहितकाे ८ प्रदेशबाट नौ जनाका दरले ७२ जना केन्द्रीय सदस्य निर्वाचित भई प्रतिनिधित्व गर्नेछन् । जसमा प्रत्येक प्रदेशबाट खुलातर्फ ५ जना, महिला तर्फ ३ जना र युवा तर्फ १ जना निर्वाचित हुनेछन् । त्यस्तै खुलातर्फ १ सय २५ जना निर्वाचित हुने छन् । त्यसमध्ये खुला ७१ (सबैले प्रतिस्पर्धा गर्न पाउने), महिला ५२ जना र युवा २ जना हुनेछन् ।
जनजाति क्लस्टरबाट २५ जना निर्वाचित हुनेछन् । त्यसमा खुला १५ जना, महिला ८ जना र युवा २ जना रहनेछन् । यसैगरी मधेसी क्लस्टरबाट २० जना निर्वाचित हुनेछन् । जसमा खुला ११ जना, महिला ६ जना र युवा २ जना रहने छन् । त्यस्तै प्रवास तर्फ २ जना, श्रमिक तर्फ ३ जना, अपाङ्गता भएका व्यक्ति तर्फ १ जना, दलित तर्फ १२ जना, थारुतर्फ ८ जना र पिछडिएको क्षेत्र तर्फबाट २ जना निर्वाचित हुनेछन् ।
संरचनाअनुसार केन्द्रीय कमिटी
१) पदाधिकारी (१९ )जना
• अध्यक्ष : १ • उपाध्यक्ष : ५ • महासचिव : १ • उपमहासचिव : ३ • सचिव – ९ जना
२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९x८ (७२) जना
• खुल्ला : ५ • महिला : ३ • युवा : १
३) खुल्ला कोटा (१२५ ) जना
• खुल्ला : ७१ • महिला : ५२ • युवा : २
४) जनजाति / आदिवासी ( २५) जना
• खुल्ला : १५ • महिला : ८ • युवा : २
५) मधेसी (१९) जना
• खुल्ला : ११ • महिला : ६ • युवा : २
६) प्रवास (२) जना
• भारत : १ • अन्य देश : १
७) श्रमिक (३) जना
• खुल्ला : २ • महिला : १
८) अपाङ्गाता भएका ब्यक्ति (१) जना
• खुल्ला : १
९) दलित (१२) जना
• खुल्ला : ७ • महिला : ४ • युवा : १
१०) थारु (८) जना
• खुल्ला : ५ • महिला : ३
११) मुस्लिम (५) जना
• खुल्ला : ४ • महिला : १
१२) थारु (८) जना
• खुल्ला : ५ • महिला : ३
१३) पिछडिएको क्षेत्र (२) जना
• खुल्ला : १ • महिला : १
१४) सम्पर्क समन्बय कमिटि (२) जना
• खुल्ला : १ • महिला : १
१ पुस बिहान ११ बजेदेखि मतदान कार्यक्रम
एमालेको जारी ११ औं महाधिवेशनकाे निर्वाचन कार्यतालिका सार्वजनिक गरिएकाे छ । तालिका अनुसार आइतबार बेलुकी मतदाता नामावली प्रकाशित र साेमबार बिहानदेखि निर्वाचनका अन्य प्रक्रिया थालिने छ । मंगलबार बिहान साढे १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दरखास्तको समय छुट्ट्याइएको छ ।
पार्टीकाे नयाँ नेतृत्व चयनका लागि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान गरिने कार्यक्रम कार्यतालिकामा उल्लेख गरिएकाे छ । मतदान विद्युतीय मेसिनबाट हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।


